२०८१ जेष्ठ ५ शनिबार

झापाका शिक्षक किन एक्लै सडकमा पम्प्लेट बोकेर उभिए ?

झापाका एक जना शिक्षकले अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । हल्दिवारीस्थित लक्ष्मी माविमा कार्यरत शिक्षक परशुराम अधिकारीले सन्देशमूलक पर्चासहित गाउँ-गाउँ पुगेर अभिभावकलाई सचेत गराउने काम गरिरहेका छन् ।

विशेष गरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूका अभिभावकलाई सचेत गराउने उद्देश्यले टोल–टोल, बस्ती–बस्ती र बजारमा समेत अभियान सञ्चालन गरिरहेको जानकारी दिए । सामुदायिक विद्यालयका अभिभावकहरूले बालबालिकालाई नियमित विद्यालय नपठाउने, बिहान बेलुका बालबालिकाको अध्ययनबारे चासो नदिने भएपछि सजग गराउन शिक्षक अधिकारीले उक्त अभियान सञ्चालन गरेका हुन् ।

अभिभावकले विद्यालयमा खबरदारी गर्ने, शिक्षकसँग बालबालिकाको पढाई बारे चासो राख्ने र घरमा पनि बालबच्चालाई पढ्न लगाउनुहोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाई छ । अभियानका क्रममा सन्देशमूलक पम्प्लेट राखिएको हुन्छ । जागृति क्याम्पस गोल्धापमा समेत पढाउँदै आएका अधिकारीले बालबालिकाको पठनपाठनमा अभिभावकले चासो दिनुपर्छ भन्दै आफूले अभियान सञ्चालन गरेको जानकारी दिए । उनले सामुदायिक विद्यालयको नतिजा सुधारमा अभिभावकको भूमिका महत्पूर्ण हुने बताएका छन् । उनी भन्छन्, विद्यालयमा शिक्षकले गृहकार्य जाँच गरिरहेका छन् कि छैनन् ? त्यो पनि अभिभावकले चासो राख्नुपर्छ ।

दुई सातादेखि अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका अधिकारी हल्दिवारीको सन्थाल बस्ती, महतो बस्ती, दलित बस्ती, हल्दिवारी बजार, मंगलवारे बजार, चन्द्रगढीको लेखनाथ चोकमा प्लेकार्डसहित उभिइसकेका छन् । जहाँ उनको अभियानबारे सबैले चासो समेत दिने गरेका छन् । कतिपय अभिभावकले आफ्नो बच्चाको समस्या समेत सुनाउने गरेका छन् ।

कमजोर विद्यार्थीहरूलाई विद्यालय समयपछि निःशुल्क कोचिङ समेत पढाउँदै आएका उनले छुट्टीको समयमा अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका शिक्षक अधिकारीले शिक्षा क्षेत्रप्रति अभिभावक र सरोकारवालाको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गरेका हुन् ।चन्द्रगढी घर भएका शिक्षक अधिकारीले आफ्नो बालबच्चा समेत आफूले शिक्षण गर्ने विद्यालयमा पढाइरहेका छन् ।

२०८१ बैशाख २३, आईतवार प्रकाशित 1 Minute 72 Views

ताजा समाचार