२०८१ बैशाख १४ शुक्रबार

पत्रकारलाई ज्यान मार्ने धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी

मेचीनगर । मेचीनगरका पत्रकार मुक्ति पौडेल र खगेन्द्र घिमिरेलाई ज्यान मार्ने धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको छ  ।

समाचार लेखेकै विषयलाई लिएर टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिने मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका विकास प्रधान, कञ्चन उप्रेती, सन्तोष सुवेदी र राजेश थापाको नाम किटान गरी पत्रकार पौडेल र घिमिरेले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा आइतबार जाहेरी दिएका हुन् ।

सीमा नाकामा खटिएका सशस्त्र प्रहरीको अमर्यादित कार्यका विषयमा समाचार लेखेकै कारण बाहुनडाँगीका ती युवाहरूले आफूहरूलाई ज्यान मार्ने धम्की दिएपछि असुरक्षा महसुस गरी त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीलाई जाहेरी दिएको पीडित पत्रकार पौडेलले बताए ।

यता प्रहरीमा किटानी जाहेरी परेपछि ती व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । केही दिन अघि समाचारका विषयलाई लिएर पत्रकार घिमिरेलाई टेलिफोन गरेर समाचार किन लेखेको भन्दै ३ फिट मारेर जमिनमा गाड्ने भन्दै ती युवाहरूले धम्की दिएका थिए ।

मेचीनगरका दुई जना पत्रकारलाई ज्यान मार्ने धम्की दिने प्रेस क्लब मेचीनगरले एक विज्ञप्ति जारी गरी दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रहरी, प्रशासन समक्ष अपिल गरिसकेको छ ।

हेर्नुस प्रेस क्लब मेचीनगरले जारी गरेको बिज्ञप्ती

२०७९ माघ ८, आईतवार प्रकाशित 1 Minute 410 Views

ताजा समाचार