२०८१ जेष्ठ ६ आईतवार

बेरोजगारीका कारण दुलही नपाउँदा नेपाल आउँछन् भारतका युवा

बैतडी : भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन्।

पछिल्लो समय बेरोजगारीका कारण आफ्नै देशमा दुलही पाउन नसक्दा नेपाल आउने भारतीय युवाको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नेपालको गरिबी र भारतीय युवाको बेरोजगारीले अन्तरदेशीय वैवाहिक सम्बन्ध बढ्न थालेको सञ्चारमाध्यमले विश्लेषण गरेका छन्।

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेकाले बैतडीबाट छोराको विवाह गर्नुपरेको बताए।पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाइन्।

पिथौरागढका सञ्चारकर्मी सुरेन्द्र आर्यले नेपाल-भारतबीच रोटीबेटीको पुरानो सम्बन्ध भए पनि केही वर्षयता यस्तो सम्बन्ध घटेको थियो। कोरोनापछि पुनः नेपाल–भारतबीचका सीमान्तकृत गाउँमा विवाह बढेको उनले बताए। कोरोना सङ्क्रमणले अर्थतन्त्रमा परेको प्रभावका कारण भारतमा अहिले दाइजो प्रथा पनि घटेको छ । छोरी दिए पुग्छ भन्ने अवस्था आए पनि दुलहाका लागि बेरोजगारी तगारो बन्ने गरेको छ।

‘विवाहका लागि वर सरकारी जागिरवाला हुनै पर्ने भएको छ’, सञ्चारकर्मी आर्यले भने, ‘भारतमा गैरसरकारी संस्था त्यति छैनन् । सरकारी कर्मचारीका लागि सीमित सिट सङ्ख्या हुन्छ । सेनारप्रहरी मात्र रोजगारीको विकल्प छ । उच्च शिक्षा हासिल गरेर पनि सबै युवाले सरकारी नोकरी पाउन सक्दैनन् । नोकरी नभएकाले दुलही पाउन कठिन छ।’

नेपाल–भारतबीच हुने विवाहको अभिलेख दुवै देशका सुरक्षाकर्मीले राख्ने गरेका छन् । भारतीय सीमा सुरक्षा बलका झुलाघाट पुल इन्चार्ज अनुप मन्नाले नेपाली र भारतीयबिच विवाह बढेको बताए।

शिक्षित र खान लगाउन पुग्ने सबै नेपालीले भारतीयलाई छोरी दिने गरेका छैनन् । आर्थिक रूपमा विपन्न परिवार मात्र विवाहका लागि तयार हुने गरेको दशरथचन्द नगरपालिका–८, झुलाघाटका जयसिंह भाटले बताए।

उहाँले भन्नुभयो, “भारतमा खाद्यान्न सुपथ मूल्यमा पाइन्छ । शिक्षा, स्वास्थ्य सर्वसुलभ छ । युवा विदेश जाने चलन कम छ । त्यसैले छोरीको भविष्य राम्रो होला भनेर भारतीय बेरोजगारलाई पनि छोरी दिएर पठाइन्छ।”

२०८१ बैशाख २२, शनिबार प्रकाशित 1 Minute 73 Views

ताजा समाचार