झापामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम चलिरहँदा हात्ती पाइले रोगबाट संक्रमित बिरामीहरू फेला पर्न थालेका छन् । यसले अझै पनि झापा हात्ती पाइले रोगको संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ ।
बिर्तामोड नगरपालिकामा मात्र ४ जना नयाँ हात्तीपाइले रोगबाट संक्रमित बिरामीहरू फेला परेको जनाइएको छ । यसै साता ४ जना नयाँ बिरामी फेला परेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिए । गत मंगलबार ३ जना र बुधवार १ जना गरेर ४ जना नयाँ बिरामी फेला परेको उनको भनाइ छ ।
केही दिनयता बिर्तामोड नगरपालिकाभित्र हात्तीपाइले रोगको विषयमा जनचेतना सहित आम औषधि सेवन कार्यक्रम सुरु भएपछि नयाँ बिरामीहरू पत्ता लाग्ने क्रम पनि सुरु भएको नगरपालिकाले जनाएको छ । अहिलेसम्म ५ जना नयाँ बिरामीहरू फेला परेको र यसलाई गम्भीर रूपमा लिइएको नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण १३ औँ अभियान केही दिन अघिदेखि झापामा जारी छ । वैशाख १६ गते देखि झापाका सबै पालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि खुवाउने अभियान सुरु भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार वैशाख ३० गतेसम्म अभियान सञ्चालन हुनेछ ।
हात्तीपाइले रोग निवारण अभियानमा खुवाइने औषधिलाई लिएर विभिन्न भ्रामक कुराहरू समाजमा फैलिएको कारण सर्वसाधारणले औषधि सेवन नगरेको कारण झापामा हात्तीपाइले रोग निवारण हुन नसकेको बताइने गरेको छ ।