२०८१ बैशाख २७ बिहीबार

महेन्द्रद्वार सहकारीद्वारा जडीबुटी खेती बिस्तार सम्बन्धी अवलोकन भ्रमण

मेचीनगर ।  महेन्द्रद्वार सहकारी संस्थाले दुई दिने जडीबुटी खेती विस्तार सम्बन्धी अवलोकनका लागि कृषकहरूलाई भ्रमण लगेको छ । संस्थाले माघ ७ गते शनिवार र आइतबार दुई दिन प्रदेश नम्बर १ का विभिन्न क्षेत्रमा अवलोकनका लागि कृषकहरूलाई लगेको हो ।

जिल्लाकै पुरानो सहकारी संस्था महेन्द्रद्वारले पछिल्लो समय जडीबुटी खेतीलाई प्रवर्द्धन गर्न आफ्नो किसानहरूलाई जडीबुटी खेतीतर्फ प्रोत्साहन गर्दै आएको छ । अन्य बालीको तुलनामा जडीबुटी खेतीबाट मनग्ये आम्दानी हुने भएपछि संस्थाले आफ्ना किसानहरूलाई  जडीबुटी खेतीतर्फ प्रोत्साहन गरिएको महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहालले बताए ।

बाहुण्डाँगी क्षेत्रमा हात्तीको आतंकले अन्य बाली तहसनहस बनाउने गरेकोले सदस्य किसानलाई जडीबुटी खेतीतर्फ सहकारीले सदस्य किसानहरूलाई प्रोत्साहित गरिरहेको अध्यक्ष दाहालको भनाइ छ । अन्य बालीको तुलनामा जडीबुटी खेतीबाट राम्रो प्रतिफल लिन सक्ने उनले बताए ।

सहकारीले हालै ३० बिगाहा क्षेत्रफलमा लेवनग्रास र  सिटोनेला प्रजातिका जडीबुटी खेती सुरु गरेको छ भने, आगामी दुई वर्ष भित्रमा एक सय बिगाहा बढी क्षेत्रफलमा जडीबुटी खेती गर्ने योजना रहेको संस्थाकी व्यवस्थापक सावित्रा अधिकारीले बताइन् ।

अनुगमन टोलीले मोरङ-४ बेलबारीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी अनुगमन गर्दै बराह नगरपालिका-६ स्थित सप्तकोसी कृषि सहकारी संस्थाले ४ बिगाहा क्षेत्रफलमा लगाएको लेवनग्रास प्रजातिको जडीबुटी खेतीको अवलोकन गर्‍यो । जडीबुटी खेतीको अवलोकन पछि सहकारीले अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । सो अवसरमा सहभागीहरूले जडीबुटी खेतीको उत्पादन तथा बजारीकरणको बारेमा जिज्ञासा राखेका थिए ।

२०७९ माघ ७, शनिबार प्रकाशित 1 Minute 209 Views

ताजा समाचार