२०८१ बैशाख २३ आईतवार

मेचीनगर-४ मा खानेपानी ट्याङ्की उद्घाटन

मेचीनगर, १३ बैशाख । मेचीनगर-४ स्थित बाहुनडाँगीमा खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत नयाँ ट्याङ्कीको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
बिहिबार मेचीनगर-४ स्थित नयाँ ट्याङ्कीको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका थिए ।

नगरप्रमुख बुढाथोकीले मेचीनगरका केही क्षेत्रका शुद्ध खानेपानीको अभाव रहेको बताए । उनका अनुसार टुक्रा-टुक्रा आयोजना सञ्चालन गरेर होइन सबैलाई एक ठाउँमा समाहित गरेर आयोजना सञ्चालन गर्न सके जनतालाई राहत हुने छ ।

काठमाडौंको जीआरई कन्ट्रक्सन प्रालिले उक्त आयोजनाको ठेक्का लिएको थियो । २०७८ साल असोजमा सुरू उक्त आयोजना २०८१ बैशाखमा सम्पन्न भएको छ । आइपीएससम्मको कुल लागत १६ करोड ६६ लाख ७३ हजार ८१४ रूपैया ३३ पैसा रहेको छ ।

सहलगानी अन्तरगत कुल खर्च १५ करोड ५७ लाख ३८ हजार ६७७ रूपैया ८५ पैसा रहेको छ । सहलगानीको काँकरभिट्टा खानेपानीतर्फ ६ करोड ३८ लाख १३ हजार ४१२ रूपैयाँ ६३ पैसा, धुलाबारी खानेपानीतर्फ ४ करोड ८० लाख ७६ हजार २१० रूपैया ५ पैसा र चारआली खानेपानीतर्फ ४ करोड ३८ लाख ४९ हजार ५५ रूपैयाँ १७ पैसा रहेको छ ।

४ कठ्ठा जग्गामा निर्माण भएको नयाँ ट्याङ्कीको २ कठ्ठा जग्गा ८ लाख रूपैयाँमा खरिद गरिएको छ भने २ कठ्ठा जग्गा स्थानीयले दान दिएका छन् । कार्यक्रममा १/१ कठ्ठा जग्गा दान दिने टेकबहादुर कार्की र अम्बिका कार्कीलाई सम्मान गरिएको छ ।

त्यस्तै, कार्यक्रममा पूर्व मेचीनगरका मेयर बिमल आचार्य, मेचीनगर-२ का वडाध्यक्ष दिपक बराल, ३ का वडाध्यक्ष हर्क वस्नेत, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, जीआरई कन्ट्रकसनका सञ्चालक देवेन्द्र चौलागाईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मेचीनगरका नगरप्रमुख बुढाथोकी, निवर्तमान नगरप्रमुख विमल आचार्य, जीआरई कन्ट्रकसनका सञ्चालक चौलागाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त खानेपानी ट्याङ्कीको निर्माणसँगै वडा नम्बर २, ३ र ४ का एक हजार ९ सय घरधुरीलाई पुग्ने गरी खानेपानी दिने लक्ष्य रहेको छ । अहिलेसम्म स्थानीयले ३०० धारा जडान गरेको बताइएको छ । ट्याङ्कीमा साढे चार लाख लिटर पानी अट्ने क्षमताको रहेको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत उपाध्यक्ष गोविन्द गिरीले र सञ्चालन सचिव दिलिपजंग आङदेम्वेले गरेका थिए ।

२०८१ बैशाख १३, बिहीबार प्रकाशित 1 Minute 71 Views

ताजा समाचार