२०८१ बैशाख २२ शनिबार

झापामा फेरि दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

झापाको सुरुङ्गा पुलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका- ७ का ३८ वर्षीय तेजमणि खरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबार राति ७ः५५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका- ३ स्थित सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको १२५ सीसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

मोटरसाइकल चालक खरेल र पछाडि सवार मेचीनगर नगरपालिका- १० का २९ वर्षीय प्रसन्न दनुवार घाइते भएका थिए । घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चालक खरेललाई चिकित्सकले मृत घोषित गरेका थिए । अर्को घाइते दनुवारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारीसाधनका बारेमा बुझ्ने कार्य भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यता आजै विहान शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा बोलेरो जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको थियो ।  मृत्यु हुनेहरुमा कमल गाउँपालिका-४ अमलडागी निवासी २० वर्षीय युनिस भण्डारी, सोही ठाउँका १७ वर्षीय सरोज रेग्मी र २५ वर्षीय मोटरसाइकल चालक मौसम राई रहेका छन् । एउटै ठाउँमा बसोबास गर्ने उनीहरु दोमुखामा पौडी खेल्न मोटरसाइकलमा जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ । तीन जनाको मृत्युले पूरै गाउँ शोकमा डुबेको छ ।

२०८१ बैशाख १३, बिहीबार प्रकाशित 1 Minute 215 Views

ताजा समाचार