२०८१ बैशाख २२ शनिबार

नेपालमा राजा फाल्ने आन्दोलन सफल भएकै दिन कतारी राजालाई स्वागत

नेपालमा राजसंस्था विरुद्धको आन्दोलनले मूर्तरुप लिएको दिनमै कतारी राजाले नेपाल भ्रमण गर्ने संयोग जुरेको छ।

तत्कालीन सात दल र माओवादीबीच भएको १२ बुँदे सहमति पछि २०६२ /६३ को जनआन्दोलनले आजकै दिन राजा ज्ञानेन्द्र शाहले गरेको विघटित संसद पुनस्र्थापित भएको थियो।

यद्यपि राजसंस्थाको विधिवत् अन्त्य भने २०६४ को निर्वाचित पहिलो संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते गरेको हो।

राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएर लागू गरेको निर्दलीय व्यवस्थाको विरुद्धमा सात दलले गरेको २०६२/ ६३ को आन्दोलन सफल भएको दिन आज बैशाख ११ गते कतारका राजा शेख तमिम बिन हमद अल थानी आउन लागेका हुन्।

कतारी राजालाई स्वागत गर्न नेपाल सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। सरकारले अन्य देशको राजाको आगमनमा बिदा दिइएको भन्दै सामाजिक सञ्जालमा आलोचना बढेको छ।

सरकारको आलोचना बढेपछि गृहमन्त्री लामिछानेले प्रष्टीकरण दिन समेत बाध्य भएका छन्। उनले विगत लामो समयदेखिको अभ्यास भएकाले बिदा दिनु परेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै विगत तीन दशकदेखिका अभ्यासलाई समयानुकुल परिवर्तन गर्न धैर्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

नेपालको प्रमुख रोजगार प्रदायक मध्यपूर्वको मुलुक कतारले ठूलो संख्यामा नेपालीलाई रोजगारी दिएको छ। नेपालको वैदेशिक रोजगारदाता मुलुक कतारका राष्ट्र प्रमुखको स्वागत राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा पुगेर गर्ने भएका छन्।

कतारी राजा आफ्ना निजी विमानमार्फत नेपाल आउन लागेका हुन्। उनको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ। डिसी नेपाल

२०८१ बैशाख ११, मंगलवार प्रकाशित 0 Minutes 189 Views

ताजा समाचार