२०८१ बैशाख २२ शनिबार

सन्दीप लामिछानेको मुद्दामा वैशाख १६ गतेलाई पेसी

काठमाडौं । बलात्कार अभियोगमा दोषी प्रमाणित भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा यही वैशाख १६ गते आइतबारका लागि पेसी तोकिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भए । काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले फागुन १० गते पुनरावेदन गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ) लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।

यसअघि, उच्च अदालतले पीडित गौशाला २६ (छ) को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट तीनपटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश भएको थियो । एकपटक पीडित गौशाला २६ (छ) की आमाको समेत जन्मदर्ता झिकाउने आदेश जिल्ला अदालतले गरेको थियो ।

उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनी १२ वर्षभन्दा बढी जेल जानेछन् । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोग मुक्त हुनेछन् । तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्षमा पहिले पुर्पक्षको समय कटाएर पूरा समय जेल बस्नुपर्नेछ । जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।

२०८१ बैशाख १०, सोमबार प्रकाशित 0 Minutes 106 Views

ताजा समाचार