२०८२ असार १० मंगलवार

अब पाँच दिन तातो लहर : मौसमविद् भन्छन्– लू होइन

काठमाडौं । देशको तराई भूभागमा अबका केही दिन ‘अत्यधिक’ गर्मी हुने सम्भावना छ । यही वैशाख १४ गतेसम्म तराईका केही स्थानमा तातो हावा तथा तातो लहरको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता देशका अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै गएको छ । अब तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ । “लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा विगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानहरूमा विगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ,” महाशाखाले सोमबार दिउँसो जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

wefmdg-1713780080.jpgपहाडी भूभागका उपत्यका तथा खोचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अबका केही दिन तातो हुने भनिए पनि त्यो लू नहुने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले स्पष्ट पारे ।

“लू होइन, तातो हावा वा तातो लहर हो,” उनले भने, “लू हुन अन्त कतैबाट तातो हावा बहेर आउनुपर्छ । अहिले हुने भनिएको यहीँ तापक्रम बढ्ने हो, अन्तबाट आउन लागेको होइन ।”

उनका अनुसार, निश्चित क्षेत्रमा अन्त कतैबाट निरन्तर तातो हावा बहेर आएको अवस्थामा लू भनिन्छ । “दुई/तीन दिनसम्म अरू क्षेत्रबाट तातो हावा बहेर आयो र ४० डिग्री सेल्सियस वा त्योभन्दा माथि तापक्रम भयो भने लू हुने भनिन्छ,” उनले भने, “अहिले त्यस्तो हुने अवस्था देखिएको छैन । तराईका क्षेत्रमा जमिन तातेर अधिकतम तापक्रम बढ्ने भनिएको हो ।”

यस किसिमको तातोपनालाई तातो हावा तथा तातो लहर भनिने तर लू भन्न नमिल्ने उनले स्पष्ट पारे ।

मधेस प्रदेश, लुम्बिनी र पश्चिमी क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको उनले बताए । हावा धेरै नबहने र स्थिर रहने स्थानमा बढी गर्मी हुने उनले जानकारी दिए । “तापक्रम बढ्ने भनेको धेरै नै माथि पुग्ने गरी बढ्ने भनेको होइन, त्यस्तो स्थिति देखिँदैन,” उनले भने, “अहिलेको हाराहारी वा योभन्दा केही बढ्ने सम्भावना हो । पूर्वी क्षेत्रमा भने ३५ देखि ४० डिग्री सेल्सियस हाराहारीमा हुन सक्ने अनुमान छ ।”

तातो हावा तथा तातो लहरले मानिसमा विभिन्न समस्या देखिन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । “तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले सोबाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ,” महाशाखाले भनेको छ ।

तातो हावा तथा तातो लहरका कारण हुने समस्याबाट जोगिन बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित (पटक–पटक) पानी तथा झोलपदार्थ (जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न महाशाखाले अनुरोध गरेको छ ।

तत्काल पानी पर्ने सम्भावना छैन

अबका केही दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना नरहेको मौसमविद् अर्यालले बताए । पाँच/सात दिनसम्मै वर्षाको सम्भावना नदेखिएको उनको भनाइ छ ।

“पाँच/सात दिनसम्म खासै वर्षाको सम्भावना देखिँदैन,” उनले भने, “थप हामी मोनिटरिङ गरिरहेका छौँ, त्यस्तो केही भएमा दैनिक बुलेटिनमार्फत जानकारी गराइहाल्छौँ ।” बाह्रखरी

२०८१ बैशाख १०, सोमबार प्रकाशित 0 Minutes 231 Views

ताजा समाचार