२०८१ बैशाख २२ शनिबार

इलाम २ मा उम्मेदवारका एजेन्डा : संघीयता खारेजीदेखि बाँदर लखेट्नेसम्म

इलाम । इलाम चोक बजारको लाकुरी चौतारी अहिले उम्मेदवारका आश्वासन बाँड्ने थलो बनेको छ । बिहान शान्त रहने यो चोक मध्यान्ह पछि कुनै न कुनै राजनैतिक दल र उम्मेदवार आफ्ना एजेन्डा राख्दै मतदाता आकर्षित गरिरहेका हुन्छन् ।

सदरमुकाममा मात्रै नभएर गाउँ बस्तीमा आयोजना हुने आमसभा, कोणसभा र मतदाता भेटघाट आदिमा उम्मेदवारलाई सघाउन आएका दलका शीर्ष नेतृत्व पनि यी र यस्तै एजेन्डा पस्किरहेका भेटिन्छन् ।

आफ्ना उम्मेदवारलाई सघाउन तीन दिनअघि इलाम आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङलाई जिताए सबै खालका समस्या समाधान गर्ने आश्वासन दिए ।

माइ नगरपालिकाको खानेपानी समस्या, वर्षौअघि सुरु भएर अधुरो रहेको दमक–चिसापानी–रवि सडक, राँके–रवि–भेडेटार र नेपालटार मंगलबारे जीतपुरसहितका सडक सुहाङले जिते ३ वर्ष भित्रै कायापलट गरिदिनेसम्मका आश्वासन ओलीले दिए ।

कांग्रेस उम्मेदवार डम्बर खड्का यसअघि निरन्तर चुनाव जितेपनि एमालेले इलामको विकासमा भूमिका नखेलेको देखाउँदै भोट मागिरहेका छन् ।

प्रजातन्त्र प्राप्तिको ३४ वर्षमा २०५१ सालको मध्यावधि बाहेकका सबै चुनाव जितेको एमालेले उक्त दलकै कारण ओलीले नाम लिएका सबै आयोजना अधुरो रहेको उनको आरोप छ । आफूसँग भएको ज्ञान र सिपसँगै स्रोतसाधन परिचालन गरेर पनि विकास निर्माण पूरा गर्ने उनको एजेन्डा छ ।

प्रदेश खारेजीको पक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टिको जम्बो टोली सारङ्गी बजाएर नाच्दै मतदाता आकर्षित गर्न इलाममा केन्द्रित छ । रास्वपाका उम्मेदवार मिलन लिम्बू एमाले, कांग्रेस र माओवादीले वर्षौं सत्ता साझेदारीसहित सरकारको नेतृत्व गरेकाले आफूलाई भोट दिन मतदातासँग आग्रह गरिरहेका छन् । उनको पक्षमा माहोल बनाउन यतिखेर रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी र संघीय सांसदसहित विभिन्न स्थानबाट पाँचसय बढी नेता इलाममा आएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टिले पनि संघीयता खारेजीको मुद्दालाई प्राथमिकतामा राखेको छ । संघीयता देशका लागि आर्थिक बोझ र ऋण थोपर्ने केन्द्रबिन्दु जस्तै बनेकाले विधायक बनेको खण्डमा प्रादेशिक संरचना खारेजीका लागि भूमिका खेल्ने उम्मेदवार लक्ष्मी गुरुङले बताए ।

बाँकेबाट आएर स्वतन्त्र उम्मेदवारी दिनुभएका अर्जुनविक्रम शाहीको प्राथमिकतामा इलामका बाँदर व्यवस्थापन गर्नेसम्मका एजेन्डा भेटिए । शिक्षा, स्वास्थ्य र सूचना प्रविधिलाई व्यवस्थित गर्नु पनि आफ्नो एजेन्डा रहेको उनी सुनाँउछन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले संघीताको प्रभावकारी कार्यन्वयन गर्दै पहिचान स्थापित गर्ने एजेन्डा पस्किरहेका छन् । यहाँ पहिचान पक्षधर भन्ने उम्मेदवार र तिनका समर्थकहरुमा पनि विविधता छ । आफ्ना उम्मेदवारलाई सघाउन रौतहटदेखि आइपुगेका सिके राउतका दाजु जयकान्त राउत आफूहरू असली पहिचान पक्षधर भएको दाबी गर्दै उम्मेदवार प्रेमदीप थाम्सुहाङलाई भोट मागिरहेका छन् ।

इलाम क्याम्पसका प्राध्यापक अरुण नेपाल दल र उम्मेदवारले प्रतिनिधिसभा सदस्यको मुख्य जिम्मेवारी बिर्सँदा उनीहरूको प्रचार शैलीमा परम्परागत पन झल्किएको बताउँछन् ।

‘विधायक अर्थात प्रतिनिधि सभा सदस्यको मुख्य काम कानुन निर्माणमा भूमिका खेल्नु हो, तर यहाँका उम्मेदवारले त्यो विषय उठाएकै पाइन्न,’ नेपाल भन्छन् ।

‘चुनावअघि देशलाई हङकङ, सिंगापुर बनाउँछौं भन्दै भाषण गर्नेहरू चुनाव पछि कहिल्यै गाउँ फर्केर आएनन्,भाषण सुनेर समय खर्चिनु भन्दा चिया स्याहार्नु नै उत्तम,’ इलाम-४ जसबिरेमा चियाका मुना टिपिरहेका जयकुमार राईले भने । कान्तिपुर

२०८१ बैशाख १०, सोमबार प्रकाशित 1 Minute 77 Views

ताजा समाचार