२०८१ जेष्ठ ६ आईतवार

यूएईमा बाढी : क्लाइमेट चेन्ज कि क्लाउड सिडिङ ?

काठमाडौँ  । गत मंगलबार यूएई र ओमानमा ७५ वर्षयताकै भारी वर्षाका कारण बाढी आयो । वर्षभर औसत ५ इन्च जति पानी पर्ने यी देशमा एकै दिन करिब १० इन्च वर्षा मापन गरिएको थियो ।

यूएईको राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनसीएम) ले वर्षा हुने पूर्वानुमान गरे पनि बाढी आउने प्रक्षेपण भने गरेको थिएन । यूएईकै नेसनल इमर्जेन्सी क्राइसिस म्यानेजमेन्ट अथोरिटीले भने सोमबार नै मौसममा परिवर्तन भएर आँधी आउने चेतावनी जारी गरेको थियो ।

मौसमविद्का अनुसार बेलाबखत मरुभूमिमा वर्षा हुनु नौलो घटना होइन । तर, यूएईले सन् १९४९ मा आफ्नो मौसमको तथ्यांक राख्न सुरु गरेयता एक दिनमा यति धेरै वर्षा भएको पहिलो पटक हो । अचानकको भारी वर्षाका कारण यूएईको प्रमुख सहर दुबईका साथै सीमा जोडिएको देश ओमान धेरै प्रभावित भए । विश्वकै प्रमुख दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आएका विमानहरू अन्यत्र डाइभर्ट गर्नुका साथै केही समयका लागि सेवा नै बन्द गर्नुपर्‍यो । वर्षाका कारण यूएई र ओमानमा गरेर कम्तीमा २१ जनाको ज्यानसमेत गएको छ । ज्यान गुमाउनेमा एक नेपालीसमेत छन् ।

यूएईको वर्षालाई ‘क्लाउड सिडिङ’ सँग पनि जोडेर विश्लेषण गरिएको छ । क्लाउड सिडिङ मौसम परिवर्तन गर्ने दशकौं पुरानो प्रयोगात्मक प्रविधि हो । यो प्रविधिअनुसार आकाशमा नुन जस्तै सिल्भर आयोडाइड भन्ने रसायन छोडिन्छ, जसले वाष्पीकरण भएका पानीका कणहरू जोडिन थाल्छन् र त्यो भारी भएपछि वर्षाको रूप लिन्छ । वर्षा नभएर समस्या हुने देशहरूले पानी पार्न यो प्रविधि प्रयोग गर्दै आएका छन् । मौसम विज्ञहरूले बादलमा रसायन बीजारोपण गर्नुअघि त्यसलाई सूक्ष्म रूपमा निगरानी गर्छन् र त्यसले कहाँ, कति पानी पर्न सक्छ भन्ने यकिन भएपछि मात्रै प्रयोग गरिन्छ ।

यूएईले सन् १९९० देखि पानी पार्न यो प्रविधि प्रयोग गर्न थालेको हो । एनसीएमले भने यो प्रकोपसँग क्लाउड सिडिङको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । एनसीएमका उपनिर्देशक ओमर अल याजेदीले बेलायती पत्रिका गार्जियनलाई दिएको जानकारीअनुसार पछिल्लो समय वर्षा हुनुअघि वा पछि क्लाउड सिडिङ गरिएको थिएन । उनका अनुसार भीषण आँधिबेरीको समयमा क्लाउड सिडिङ गर्नु नै व्यर्थ हुन्छ ।

बेलायतको युनिभर्सिटी अफ रिडिङका एट्मस्फेरिक फिजिक्स र डायनामिक्सका प्राध्यापक माटिर्न अम्बाउमका अनुसार पनि क्लाउड सिडिङ भनेको पानी नपार्ने बादललाई पानी पार्नेमा रूपान्तरण गर्नका लागि मात्रै गरिन्छ । ‘क्लाउड सिडिङका कारण एकदमै ठूलो आँधी आउँदैन,’ उनले भने, ‘५० वा ६० को दशकदेखि नै वैज्ञानिकहरूले क्लाउड सिडिङलाई प्रयोग गरेर ठूलो मौसमी परिवर्तन गर्न नखोजेका होइनन् । तर, सफल भएको छैन ।’

इम्पेरियल कलेज लन्डनका मौसम विज्ञानका लेक्चरर्र फाइडेरिक ओटोले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई दिएको प्रतिक्रियाअनुसार दुबईमा भएको प्रकोप क्लाउड सिडिङभन्दा बढी विश्वव्यापी रूपमा भइरहेको मौसफ परिवर्तनको असर हो । विश्वको तापक्रममा बढोत्तरी हुँदै जाँदा भारी वर्षाका घटनाहरू विश्वका अन्य क्षेत्रमा पनि बढ्दै गएको छ । उनका अनुसार पुरै वातावरणको तापक्रम बढेसँगै यसले पहिलेभन्दा धेरै आर्द्रता कायम राख्न सक्छ । जसका कारण त्यो चिसो भएपछि एक्कासि ठूलो वर्षा हुन्छ ।

‘क्लाउड सिडिङले काम गर्न पहिला त बादल चाहिन्छ । त्यसले आफैं बादल बनाउने होइन । यो प्रक्रियाले आर्द्रताका रूपमा रहेको पानीलाई जम्मा गरेर छिटो चिस्याउँछ र पानी पर्छ,’ उनले भनिन्, ‘त्यसैले पहिलो आर्द्रता चाहिन्छ, त्योबिना बादल हुँदैन । र, बादलबिना क्लाउड सिडिङ पनि हुँदैन ।’

युनिभर्सिटी अफ क्यालिफोर्नियाका विश्व चर्चित मौसम वैज्ञानिक ड्यानियल स्वेनले विज्ञप्ति जारी गर्दै दुबईका साथै अरबको खाडीमा भएको भीषण वर्षाको कारण क्लाउड सिडिङ नभएर मौसम परिवर्तनको प्रकोप भएको दाबी गरेका छन् । ‘हामीले आफूले गरेको गल्ती अरूको काँधमा हाल्न खोजेका मात्रै हौं,’ उनले विज्ञप्तिमा भनेका छन् ।

मौसम वैज्ञानिकहरूका अनुसार मौसममा एक डिग्री तापक्रम वृद्धि हुँदा त्यसले सिर्जना गर्ने तातो हावाले ७ प्रतिशत बढी आर्द्रता कायम राख्न सक्छ । जसले भीषण वर्षाको सम्भावना पनि बढ्दै जान्छ । केही समयअघि गरिएको अध्ययनअनुसार पनि तापक्रम बढ्दै जाँदा यूएईलगायत खाडी क्षेत्रमा शताब्दीको अन्त्यसम्ममा वर्षा ३० प्रतिशतले बढ्ने देखिएको छ ।

सधैं सुन्दर देखिएको मरुभूमिको सहर दुबई एकाएक पानीमा डुब्ने कल्पना कसैले नगरेकै कारण पनि दुबईमा २४ घण्टामा परेको भीषण वर्षाले बाढीको रूप लिएको विज्ञहरूले दाबी गरेका छन् । कोलम्बिया क्लाइमेट स्कुलका वरिष्ठ अनुसन्धानकर्ता एन्ड्र्यु क््रयुजविकका अनुसार मरुभूमीमा धेरै पानी परेमा भुइँले एकैपटक सोस्न सक्दैन र त्यस प्रकारको प्रकोप हुन्छ ।

यसका साथै दुबईमा बाढी आउने अनुमान गरेर संरचनाहरूको निर्माण नगरिएका कारण पनि २४ घण्टामा करिब १० इन्च पानी पर्दा समस्या भएको हो । भविष्यमा खाडी क्षेत्रमा पनि वर्षाको प्रकोप बढ्ने देखिएसँगै पूर्वाधार विकास सोही अनुरूप गर्नुको विकल्प नभएको अबुधाबीस्थित खलिफा विश्वविद्यालयकी वातावरण तथा जियोफिजिकल विज्ञान प्राध्यापक डायना फ्रान्सिसको भनाइ छ ।

(एजेन्सीहरूको सहयोगमा)

२०८१ बैशाख १०, सोमबार प्रकाशित 0 Minutes 161 Views

ताजा समाचार