२०८१ बैशाख १९ बुधबार

के हो दुबईमा वर्षा गराउन प्रयोग गरिएको क्लाउड सिडिङ प्रविधि ?

दुबई । १५ अप्रिलको राति संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन र ओमानमा मुसलधारे वर्षा सुरु भयो । हेर्दा हेर्दै आँधी आउन लाग्यो । स्थिति यस्तो भयो कि मंगलबारसम्म यी देशका दर्जनौँ सहरमा बाढी आयो । दुबईमा मंगलबार सकिदाँसम्मको २४ घण्टामा १४२ एमएम (५ दशमलव ५९ इन्च) पानी परेको छ । यो भनेको दुबईमा २ वर्षमा पर्ने जत्ति पानी हो ।

केही विज्ञहरूले कृत्रिम वर्षा अर्थात् क्लाउड सिडिङका कारण यति धेरै पानी परेको बताएका छन् । एसोसिएट प्रेसले त आफ्नो समाचारमा दुबईको सरकारले सोमबार क्लाउड सिडिङ गरेर वर्षा गराउन विमानै उडाएको दाबी पनि गरेको थियो । विमान उडेको केही बेरमा खाडी देशमा मुसलधारे वर्षा भएर बाढीको स्थिति आएको समाचारमा उल्लेख छ । दुबईले एपीको यो समाचारको खण्डन गरेको छ ।

के हो त क्लाउड सिडिङ ? यसबाट कसरी हुन्छ वर्षा ?

प्राकृतिक रुपमा वर्षा नहुँदा कृत्रिम तरिकाले बादललाई वर्षामा बदल्ने तकनिक नै क्लाउड सिडिङ हो । यसमा सिल्भर आयोडाइड, पोटाशियम आयोडाइड र ड्राई आइस (सलिड कार्बन डाईअक्साइड) जस्ता रसायनलाई हवाईजहाजबाट बादल नजिकै छरिन्छ । सिल्भर आयोडाइडको सम्पर्कमा आउने बित्तिकै बादलमा भएका बाफ चिसिएर वर्षाको पानीमा बदलिन्छन् र वर्षा हुन थाल्छ ।

यो तरिकाबाट वर्षा हुन् करिब आधा घण्टा लाग्छ । अमेरिकी वैज्ञानिक विन्सेन्ट जे शेफरले पहिलो पटक क्लाउड सिडिङबाट वर्षा गराएका थिए । अहिले अमेरिका, चीनसमेत विश्वका ६० भन्दा धेरै देशले वर्षा गराउन यो टेकनिक प्रयोग गरिरहेका छन् । प्रायः जसो सुख्खा प्रभावित क्षेत्र वा वायु प्रदूषण कम गर्न यो प्रविधिको प्रयोग हुने गरेको छ । विमानस्थलआसपासको तुवाँलो हटाउन पनि यसलाई प्रयोग गर्ने गरिएको छ । वर्षा वा हिमपात बढाउन वा खास स्थानमा एक दुई दिन अगावै वर्षा गराउनु पनि क्लाउड सिडिङको प्रयोग हुन्छ । रातोपाटी क्लाउड

२०८१ बैशाख ६, बिहीबार प्रकाशित 0 Minutes 170 Views