२०८१ आश्विन २८ सोमबार

जापानी येन : गरिबको श्रमले फलाएको कागजबाट धनी देशको मुद्रा

६ वैशाख, काठमाडौं । चैत पहिलो साता मध्याह्न टन्टलापुर घाममा फूलमाया राई एकोहोरो अर्गेली प्रशोधन गरिरहेकी छिन् । उनीसँगै पहाडी जिल्ला तेह्रथुम, पाँचथर, ताप्लेजुङ र खोटाङ लगायत जिल्लाबाट आएका महिला पुरुषको एउटा हूल लहरै उभिएर धमाधम प्रशोधनको काम गरिरहेका छन् ।

उनका केही सहकर्मीे कामदार जंगलबाट अर्गेली संकलन गरेर नजिकैको बारीमा ओसार्न व्यस्त छन् । बारीमा ल्याएको अर्गेलीलाई प्लाष्टिकमा बेरेर राख्छन् अनि पानी उमालेर आएको वाफले पकाउँछन् । पकाएपछि अर्गेलीको बोक्रा निकाल्न मिल्ने हुन्छ ।

अर्गेली पकाउन बसेकाहरू नै पानीको वाफले पकाएको अर्गेलीको बाहिरको बोक्रा निकाल्छन् अनि प्रशस्त पानी भएको ठाउँ नजिक ल्याएर त्यसलाई सफा गर्छन् । अर्गेलीको बाहिरको बोक्रा निकालेर लोक्ता मात्र राख्छन् ।

फूलमाया अर्गेलीबाट निकालेको धागोलाई बोक्रारहित बनाउन फेरि सफा गरिरहेकी छन् । निकालिएको अर्गेली धागोमा कहींकतै कालोमैलो भएमा त्यसलाई हटाउने अनि सफा पानीले धोइपखाली गरेर टलक्क बनाउने फूलमायाको जिम्मेवारी छ ।

बार्किङ मेसिनले नहटाएका बोक्रा हातले हटाएपछि फेरि एक पटक सफा पानीले पखालेर सुकाएर मात्र उनको काम सकिन्छ । यही काम गर्न ताप्लेजुङबाट दुई दिनको बसयात्रा पछि इलामको दुर्गम गाउँमा पुगेकी फूलमाया वर्षमा ६ महिना अर्थात् मंसिरदेखि वैशाखसम्म इलामको पुवामझुवामा रहनेछिन् ।

हिउँदे खेतीपातीको काम सकेपछि घर छाडेर हिंडेका उनी जस्ता कामदार झरीले अर्गेली भित्र्याउन सकस नबनाएसम्म प्रशोधन केन्द्रमा यसैगरी दिन–रात काम गरिरहन्छन् । नजिकै बनाएका टहरामा खाना पकाउँछन्, त्यहीं सुत्छन् । फुर्सदमा घरपरिवार र छोडेर आएका बालबच्चाहरूसँग फोनमा भए पनि कुरा गर्छन् । अनि काममै लागिरहन्छन् ।

उमेरले २१ वर्ष टेकेकी फूलमायाको घरमा चार वर्षकी छोरी छन् । पैसा कमाउनुपर्ने बाध्यताले पहिलो पटक छोरी गाउँले दिदीको जिम्मा लगाएर उनी पुवामझुवा झरेकी हुन् । इलाम आउनु अघि गाउँमै खेतीपातीको काम गर्थिन् ।

तर, परम्परागत खेतीपातीको कामले मात्रै पुगेन । राम्रो जागिर गर्न विद्यालयस्तरको पढाइ पनि पूरा भएको थिएन । केही उपाय नलागेपछि हुर्कंदै गरेकी छोरी घरमा दिदीको जिम्मा लगाएर उनी कामको खोजीमा इलाम र फिदिमको सीमा क्षेत्रमा पर्ने पुवामझुवा आइपुगेकी हुन् । ‘उ मेरो श्रीमान् उतापट्टि काम गर्दै हुनुहुन्छ’ श्रीमान्लाई देखाउँदै भनिन्, ‘देवर पनि यही काम गर्ने हो ।’

फूलमायाको जिल्लाका १०÷१२ जना यहीं काम गरिरहेका छन् । उनीहरू सबै प्रायः सामान्य साक्षर मात्रै छन् । उनीहरू सबैको आर्थिक हैसियत गरिबीको रेखामुनि नै छ । वर्ष दिनभरि हातमुख जोहो गर्न दिनरात कठ्याङ्ग्रिने चिसोमा काम गरिरहन्छन् ।

फूलमायाका श्रीमान् सुरेन पनि पाँच वर्षदेखि पुवामझुवाको अर्गेली प्रशोधन केन्द्रमा त्यसैगरी काम गरिरहेका छन् । गाउँकै साथी मदनको पछि लागेर पुवामझुवा आएका सुरेनले त्यसअघि अरूको च्याउ खेतीमा मजदुर भएर काम गरे । ट्रयाक्टरमा भारी लोड, अनलोडको काम पनि गरे ।

तर त्यो कामले केही उपाय नलागेपछि उनी अहिले इलामको अर्गेली प्रशोधन केन्द्रमा आएका हुन् । पाँच वर्षयता उनी हरेक वर्षको मंसीरमा सिजनल रोजगारी खोज्दै टुप्लुक्क आइपुग्छन् । उनीसँग हरेक वर्ष गाउँका नयाँ–नयाँ कामदार साथमा हुन्छन् । वैशाखसम्म काम गर्छन् ।

जब वर्षाले अर्गेलीको कच्चा पदार्थ उत्पादन र सुकाउन समस्या हुन्छ ६ महिना काम गरेर वैशाखमा घर फर्किन्छन् । अर्को वर्ष फेरि त्यही काम दोहोरिन्छ । हिउँदमा तापक्रम शून्यमा झर्दा पनि उनीहरूको कामको रफ्तार रोकिंदैन । उनीहरूले जति कच्चा पदार्थ उत्पादन गर्छन्, कमाइ पनि त्यही अनुपातमा थपिंदै जान्छ ।

अर्गेली संकलन गर्ने, पकाउने, बोक्रा निकाल्ने अनि प्रशोधन गर्नेले फरक–फरक दरको पारिश्रमिक बुझ्छन् । ‘पैसाको लागि त हो नि यो सबै । यसरी सफा गरेर सुकाउने अनि एक केजी सुकेको लोक्ता बनाउन सके १५० रुपैयाँ मिल्छ । राम्रो भयो भने दिनको एक हजारदेखि पन्ध्र सयसम्म हुन्छ’ फूलमायाले भनिन्, ‘यही भए पनि रोजगारी त भएको छ ।’

फूलमायाका देवर सुजन उमेरले १७ वर्षका छन् । पढाइ बीचमै छोडेर उनीसँगै काम गरिरहेका छन् । सुरेन जस्तै पाँच कक्षा पास गरेपछि सुजनको पनि विद्यालयस्तरको पढाइ छुट्यो । दुवै जनासँग खाडी जाने पैसा नि भएन । यसरी परिवारका तीन जना रोजगारी खोज्दै ज्यालादारी काम गर्न इलामको एउटै प्रशोधन केन्द्रमा पुगेका छन् ।

‘ऋण नि गरिएन । खाडी पनि गइएन । यही काममा लागियो । यो नभएको भए ऋण गरेर भए पनि खाडी गइसकेको हुन्थें कि’ सुरेनले भने, ‘अहिलेसम्म काम गर्न सक्दा ठिकै भएको छ । अब के हुन्छ खै !’

पुवामझुवामा पाँचवटा अर्गेली प्रशोधन केन्द्र छन् । फूलमायाले काम गरिरहेको पासाङ शेर्पाको अर्गेली बनाउने ठाउँमा करिब ६० जनाले काम गरिरहेका छन् । यो पुवामझुवाको सबैभन्दा ठूलो उद्योग पनि हो । आम्दानी हुन थालेपछि सन्दकपुरका स्थानीयले पनि अर्गेली प्रशोधनको काम सुरु गरेका छन् ।

शेर्पा आफैंले उत्पादन गरेको, सामुदायिक वन र अन्य स्थानीयले निजी जग्गामा हुर्काएको अर्गेली प्रशोधन गरेर वर्षमा ८० लाख रुपैयाँ हाराहारीको जापान पठाउँछन् । अर्गेलीको कच्चा पदार्थ तयार भएपछि खरिदकर्ता कम्पनी कनपोउ नेपालसँग सम्पर्क गरेर काठमाडौं पठाउँछन् ।

काठमाडौंमा रहेको कम्पनीले उत्पादित कच्चा पदार्थको गुणस्तर अनुसार ग्रेडिङ गरेर जापान पठाउँछ । त्यही कच्चा पदार्थलाई थप प्रशोधन गरेर बनेको कागज जापानी येन छाप्न प्रयोग गरिन्छ । समृद्ध एशियाली मुलुक जापानको पैसा छाप्ने कागज उत्पादनको काम गर्ने पूर्वी पहाडका यी श्रमिकको जीवन यति दयनीय छ कि दैनिक हातमुख जोर्न नै धौ–धौ पर्छ ।

जापानी येन

इलाम प्रशोधन केन्द्रमा कार्यरत अधिकांश कामदारको आर्थिक, शैक्षिक अवस्था असाध्यै कमजोर छ । वर्षमा ६ महिना काम गरे बाँकी महिना हातमुखको जोहो गर्नुपर्ने अवस्थाका छन् । ती सबै कामदारको गाउँ नजिकैको जंगलमा अर्गेली हुर्किएको भए पनि प्रशोधनको जिम्मा लिने व्यक्तिको अभाव, प्रशोधनमा गर्न लाग्ने लगानीको कमी र कामदारलाई तुरुन्त ज्याला दिने आर्थिक हैसियत कसैको नभएका कारण नगद आर्जनको स्रोत अर्गेली खेर गइरहेको छ ।

सोलुखुम्बुबाट शेर्पाका पुर्खा विभिन्न ठाउँमा बसाइँ सर्दै इलाम आइपुगेका हुन् । बसाइँ सर्ने क्रममा पुवामझुवामा पुगेका उनले त्यही गाउँमा आलु, मकै लगाए । गाई, भैंसी पालेर बसे । तर, घरछेउको जंगल बढेर बँदेल, बाँदर लगायत जनावर बारीमा पसेर नष्ट गरिदिन थाले । दुःखले उब्जाएको खेती जंगली जनावरले नष्ट गरिदिन थालेपछि वाक्क भएर जग्गा जमिन यत्तिकै छाडेर बसाइँसराइको मनसायले उनी झापा झरे ।

गर्मीले झापामा टिक्न नसकेपछि गाउँमै फर्किए । श्रमिकको अनिच्छा र जलवायु परिवर्तनका कारण जापानमा अर्गेलीको उत्पादन घटिरहेको थियो । जापानमा अर्गेलीको कच्चा पदार्थ निर्यात गरिरहेको चीनले पनि यसको उत्पादन गर्न सकिरहेको थिएन ।

त्यहीबेला अर्गेली प्रजातिको वनस्पति हिमाली क्षेत्रबाट फैलिएकाले करिब दुई दशक पहिले वनस्पति सम्बन्धी अनुसन्धान गरिरहेका जापानी अध्येता नेपालीको साथ लागेर इलाम लगायत गाउँमा पुगे । ती गाउँमा प्राकृतिक रूपमा उम्रिएको देखेर उनीहरूले त्यसको व्यावसायिक खेती गरे राम्रो हुने सुझाए ।

त्यतिबेलासम्म अर्गेली वन्यजन्तु र गाई–भैंसी बारीमा नपसुन् भनेर बारको रूपमा लगाइने वा दाउराको रूपमा प्रयोग गरिंदै आएको थियो । केहीले हाते कागज बनाउन प्रयोग गरिरहेका थिए । तर, भाउ राम्रो थिएन । कच्चा पदार्थ उत्पादनको सम्भावना देखेपछि जापानीहरू गाउँ पुगेर अर्गेली लोक्ता उत्पादनको विधि सिकाए, जुन परम्परागत अर्गेली संकलन भन्दा फरक थियो ।

स्थानीयले भाँडामा उमालेर अर्गेलीको बोक्रा निकाल्ने र त्यसलाई नेपाली कागज बनाउन प्रयोग गर्थे । जापानीहरूले ठूलो फलामको ड्रममा पानी उमाल्ने, फलामको पाइप प्रयोग गरेर प्लाष्टिकले बेरिएको अर्गेलीलाई वाफमा मात्र पकाएर बोक्रा निकाल्न मिल्ने प्रविधि सिकाए । यो विधिबाट उत्पादन गरिएको अर्गेलीको लोक्ता गुणस्तरीय हुने भएकाले त्यहाँको मुद्रा छाप्न प्रयोग हुन थाल्यो ।

बजारमा अर्गेलीको माग बढ्न थालेपछि पासाङले उनीसँग भएको २०० रोपनीमध्ये १०० रोपनी पाखोमा अर्गेली खेती गरेका छन् । पहिले मकै र आलु लगाउने बारीमा अर्गेली खेती विस्तार गरेका छन् । बाँकी जग्गामा पनि अर्गेली लगाउने उनको योजना छ ।

अन्य गाउँले पनि उनको सिको गर्दै अर्गेली खेतीतर्फ आकर्षित भएका छन् । पाखोमा अर्गेली नरोपेको कुनै घर छैन । १६०० देखि २८०० मिटर उचाइमा हुने अर्गेली रोपेको तीन वर्षमा काट्न मिल्ने हुन्छ ।

अर्गेली रोपेका गाउँलेले प्रशोधन गरेर बिक्री गर्न नसक्ने भएमा उनै पासाङले बारीबाटै संकलन गरेर उनीहरूलाई पैसा बुझाइदिन्छन् । धेरै गाउँलेको अर्गेली संकलन गरेर प्रशोधन गरी काठमाडौं पुर्‍याइने हुँदा उनको प्रशोधन केन्द्रमा धेरै कामदारको आवश्यकता हुन्छ । काम पाइने भएकाले फूलमाया जस्ता बेरोजगार महिला यो केन्द्रमा आइपुग्छन् ।

उनीहरूले उत्पादन गरेको कच्चा पदार्थ काठमाडौंमा रहेको कोनपोउ नेपालमा पुर्‍याइन्छ । जापानी मुद्रा छापिने अर्गेलीको कच्चा पदार्थ कोलकाता, सिंगापुर हुँदै नेपाली प्रतिनिधि मार्फत ४० दिन लगाएर जापानको ओसाका पुग्छ ।

त्यहाँ अर्गेलीको कच्चा पदार्थबाट बनेको गुणस्तरीय कागजमा धनी मुलुक जापानको मुद्रा छापिन्छ । जापानी रुपैयाँ छापिने कागजमा पाँचदेखि ९ प्रतिशत मात्रै अर्गेली कागजको प्रयोग हुने भए पनि यसको रंग र सीमित मात्रामा उपलब्ध भएका कारण निकै महत्वपूर्ण मानिन्छ ।

जापानी मुद्रा छाप्ने जिम्मेवारी पाएको नेशनल प्रिन्टिङ ब्युरोले बैंकक्, जापान, इन्डोनेसिया लगायत देशबाट गुणस्तरीय कागजका लागि अन्य कच्चा पदार्थ आयात गरिरहेको छ । जलवायु परिवर्तन र कामदार अभावमा अन्य देशबाट अर्गेली निर्यात घटिरहेको छ ।

येन छाप्ने प्रयोजनका लागि जापानी कम्पनीले नेपालको भर गर्न थालेपछि अर्गेलीले वर्षमा ६ महिना भए पनि गाउँमा रोजगारी दिएको छ ।

जापान सरकारले गाउँमै पुगेर अर्गेलीको लोक्ता बनाउन अनुरोध गरेपछि स्थानीय पनि यसको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

यसअघि हातेकागजको रूपमा प्रयोग गरिंदै आएको थियो । जापानमा यसको माग बढ्न थालेपछि अर्गेलीको लोक्ता निकाल्ने विधि र प्रविधि जापानीले नै सिकाइदिएका हुन् । अर्गेली निर्यात गर्दै आएको चीनमा उत्पादन कमी आएको अर्गेली आयातकर्ताको भनाइ छ ।

कृषि कर्ममा भन्दा अन्य औद्योगिक क्षेत्रको काममा लागेका कारण चीन र जापानमा अर्गेली उत्पादनमा उल्लेख्य कमी आएको छ । जापानी येन छाप्न प्रयोग गर्ने अर्गेलीको लोक्ता बनाइदिन जापानी व्यापारी गाउँसम्मै पुगेर हौस्याउने गरेको स्थानीयहरू बताउँछन् ।

यसले गाउँमा अर्गेली खेतीप्रतिको आकर्षण बढेको छ । जापानी मुद्रा छाप्न प्रयोग गरिने अर्गेलीबाट बनेको कच्चा पदार्थ आपूर्तिका लागि यो वर्ष जापानले १३२ टन लोक्ता आपूर्ति गरिदिन आग्रह गरेको थियो । तर त्यो माग अनुसार पुर्‍याउन सक्ने अवस्थामा छैन । हरेक १० वर्षमा नयाँ नोट छाप्ने जापानले आगामी जुलाईमा नयाँ डिजाइनका नोट छाप्ने योजना बनाएको छ ।

‘हाम्रो प्रारम्भिक आकलन अनुसार यस वर्ष १०० टन जति मात्रै पठाउन सक्छौं होला’ जापानमा अर्गेली निर्यात गर्दै आएका नेपालका हरि गोपाल श्रेष्ठले भने, ‘यस वर्ष पनि उनीहरूले भने जति त पठाउन सकिंदैन होला ।’ उनका भनाइमा गत वर्ष ८० टन मात्रै निर्यात भएको थियो ।

सुरुमा चीनले हरेक वर्ष १५० देखि २०० टनसम्म अर्गेली जापान पठाउने गथ्र्यो । अहिले उनीहरूको वार्षिक निर्यात १२ देखि १५ टनमा झरेको छ । जापानी येन छापिने कच्चा पदार्थको रूपमा उत्पादन गर्न धेरै जनशक्तिको आवश्यक पर्ने भएकोले जापानले आवश्यकता अनुसार उत्पादन गर्न सकेको छैन । त्यसको दबाब नेपालमा परेको छ ।

‘अलि पहिले यहीं आएका जापानीले आफ्नो देशको येन देखाउँदै जति सक्यो धेरै अर्गेली लोक्ता बनाइदिनु भन्नुभएको थियो । हामी पनि सकेको गर्दैछौं’ पहिले अरूको प्रशोधन केन्द्रमा ज्यालादारी काम गरेर अहिले आफैं अर्गेली प्रशोधन केन्द्र स्थापना गरेका ओम मुखियाले भने, ‘हामीले जापानी पैसा देखेको त्यहीबेला हो । हामीले गरेर उनीहरूलाई पनि सहयोग हुन्छ भने गरौं भनेर सकेको गरिरहेका छौं । यसले गाउँमा धेरथोर भए पनि रोजगारी दिएको छ ।’

मुखियाको प्रशोधन केन्द्रमा पुग्दा १३ जनाले काम गरिरहेका थिए । कृषकले उत्पादन गरेको सबैभन्दा राम्रो गुणस्तरको अर्गेली प्रति केजी ६६० रुपैयाँमा बिक्री हुने गरेको छ । यो वर्षको जुलाई महिनामा जापानले नयाँ मुद्रा छाप्ने योजना बनाएकोले बढी अर्गेली उत्पादनको माग गरिरहेको आपूर्तिकर्ता कम्पनीको भनाइ छ ।

सन् १९९६ मा १७०० केजी अर्गेली लोक्ता निर्यात गरेको नेपालले हरेक वर्ष निर्यात बढाइरहेको छ । इलामका साथै पाँचथर, ताप्लेजुङ, दोलखा, रामेछाप लगायत पहाडी क्षेत्रमा अर्गेली पाइन्छ । प्राकृतिक रूपमा जंगलै हुर्किएको र निजी जग्गामा पनि एकपटक हाँगा काटेर प्रयोग गरे पनि फेरि आफैं पलाउने भएका कारण ती जिल्लाहरूमा पनि अर्गेलीको व्यावसायिक खेती गर्न सके स्थानीयस्तरमा रोजगारी बढाउन सकिने पासाङको भनाइ छ ।

गाउँमै राम्रो आम्दानी हुन थालेपछि इलामको पुवामझुवा र सन्दुकपुरका कृषकहरू अर्गेली खेतीमा लागेका छन् । प्रशोधन गर्न नसक्नेहरूले गाउँमा स्थापित अर्गेली प्रशोधन केन्द्रलाई बिक्री गर्ने गरेका छन् ।

‘यो अर्गेली राम्रो पो रहेछ हामो लागि । लगाइदिए पैसा आउँछ । विदेश गएर पनि पैसा नै छापिन्छ रे’ इलाम नगरपालिका ३ छाउरेका फौदबहादुर खड्काले भने, ‘दुःख छैन । रोपिदिए भयो । आफैंले केही गर्न नसके पनि अरूले नै आएर काटिदिन्छन् परेको भाउको आधा भए पनि पैसा दिन्छन् ।’

उनी आफैं बिरामी भएर काम गर्न नसक्ने भएकाले स्थानीय पवन खत्री र मुस्कान राईले उनको अर्गेली काटेर लोक्ता बनाउने जिम्मा लिएका छन् । उनको अर्गेलीबाट भएको आम्दानी बराबर गरेर भाग लगाइनेछ । रोजगारीको अभावमा फौदबहादुरका दुवै छोरा उमेर बढाएर राहदानी बनाएर कतार भासिएका छन् । पर्याप्त जग्गा नभए पनि आफ्नो र अरूको बाँझो जग्गामा अर्गेली खेती लगाएर छोराहरूलाई नेपाल फर्काउने भन्ने सोच्दैछन् ।

‘विदेशमा पनि सजिलो त छैन पो ! म सफाइ मजदुर भनेर कतार गएको कम्पनीले सप्लायरमा राखिदियो’ खड्काले सुनाए, ‘दुःख गर्नेले त वर्षमा ६ लाखसम्म यही अर्गेलीबाट कमाएका छन् ।’

अहिलेसम्म रोजगारीका लागि खाडी नगएका मुस्कान राई सकेसम्म अर्गेलीको काम गरेर गाउँमै बस्ने सोचमा छन् । ‘आफ्नो बारीको अर्गेली बेचेर २ लाख जति पैसा भयो । अहिले यो अरूको बारीको काम गरिरहेको छु ।’

राईको गाउँका २५० घरपरिवारले अर्गेली खेती गरिरहेको बताए । उनीहरूले गरेको अर्गेली खेतीका कारण छिमेकी जिल्लाका बेरोजगार महिला पुरुषलाई समेत रोजगारी दिएको छ । चरम गरिबीमा फसेका उनीहरू आफ्नो परिश्रमले धनी देशको मुद्रा छापिने भएकोमा खुसी छन् ।

हावापानी र भौगोलिक हिसाबले अन्य जिल्लामा अर्गेली उत्पादन गर्न सकिने सम्भावना भए पनि त्यसको प्रवद्र्धनमा त्यति ध्यान दिइएकोे छैन । न त अर्गेलीबाट कागज उत्पादन हुने सम्भावनालाई नै प्रयोग गरिएको छ । बरु विदेशबाट कागज निर्यात भइरहेको छ । सेक्युरिटी प्रिन्टिङ नभएका कारण नेपाली रुपैयाँ पनि विदेशमा नै छापिंदै आएको छ ।

नेपाली मुद्रा स्वदेशमै छाप्ने योजनाका साथ अघि बढाइएको सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद काण्डमा तत्कालीन सञ्चार मन्त्री गोकुल बाँस्कोटाले घुस बार्गेनिङ गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिए । त्यसयता मेसिन खरिद योजना अहिलेसम्म अलपत्र छ ।

जापानी मुद्राका लागि भएकाले आकर्षण भएर होला इलाममा वैदेशिक रोजगारीबाट फर्किएकाहरू पनि यसको प्रशोधनबाट लाभान्वित हुन थालेका छन् । जापान जस्तै अन्य देशहरूले पनि मुद्रा छाप्न नेपाली अर्गेली कागजको प्रयोग गर्न थाले भने बसाइँसराइ र वन्यजन्तुको आतंकका कारण बाँझो रहेका यस्ता गाउँबस्तीमा अर्गेली खेतीको आकर्षण सुरु हुने स्थानीयको अपेक्षा छ ।

दुई वर्ष साउदी अरबिया बसेर काम गरेका दीपक राई (३०) गाउँमै फर्किएर अर्गेली पकाउने काम गरिरहेका भेटिए । ‘यो काम ६ महिनाको लागि मात्रै हुन्छ । यहाँ काम पाइने भए त म किन खाडी जान्थें र ?’ दीपकले भने, ‘अरू देशले पनि अर्गेली लिइदिए अथवा सरकारले लिन पहल गर्नसके थप रोजगारी हुन्थ्यो कि !’

अहिलेसम्म जापानी येन देख्न नपाएका उनीहरूले दुःख गरेर आउने पारिश्रमिक नेपाली रुपैयाँमा बुझ्छन् । ‘जापानी येन देखेको छैन । हाम्रो साहुले देख्नुभएको छ रे’ फूलमायाले भनिन्, ‘हाम्रो श्रमले जापानी येन छापिन्छ रे, हामी त्यसमा खुसी छौं !’ अनलाइन खबरबाट

२०८१ बैशाख ६, बिहीबार प्रकाशित 0 Minutes 188 Views

ताजा समाचार