
सरकारले शुक्रबारमात्र सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सुन्तलालाई नेपालको राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको हो ।
राष्ट्रिय फलको मान्यता पाएको सुन्तला सेवनका फाइदाबारे आज हामी जानकारी दिँदै छौँ । धेरै प्रकारका सुन्तलामा फाइबर र लाभकारी भिटामिन पाइन्छ । सुन्तलामा विशेषगरी भिटामिन ‘सी’को मात्रा अत्यधिक पाइन्छ । एन्टिअक्सिडेन्टका लागि पनि सुन्तला उत्तिकै राम्रो फल हो । जसले प्रतिरक्षा प्रणालीलालाई बलियो बनाउन मद्दत गर्छ नै अरू विभिन्न स्वास्थ्य लाभ मिल्छ ।

विभिन्न अध्ययनहरूले सुन्तलाको नियमित सेवनबाट स्वास्थ्यलाई विभिन्न तरिकामा फाइदा पुर्याउने देखाएका छन् ।
के पाइन्छ सुन्तलामा ?
पानी : तौलको ८६ प्रतिशत
प्रोटिन : १.३ ग्राम
कार्बोहाइड्रेट : १४.८ ग्राम
चिनी : १२ ग्राम
फाइबर : २.८ ग्राम
बोसो : ०.२ ग्राम
भिटामिन सी : दैनिक आवश्यक मात्राको ९२ प्रतिशत
फोलेट : दैनिक आवश्यक मात्राको ९ प्रतिशत
क्याल्सियम : दैनिक आवश्यक मात्राको ५ प्रतिशत
पोटासियम : दैनिक आवश्यक मात्राको ५ प्रतिशत
धेरै फलहरूमा जस्तै सुन्तलामा पनि विशेषगरी कार्बोहाइड्रेट र पानीको मात्रा बढी हुन्छ । सुन्तलामा धेरै कम मात्रामा प्रोटिन र फ्याट समावेश पाइन्छ । क्यालोरीको मात्रा पनि कम नै हुन्छ ।
सुन्तला फाइबरको राम्रो स्रोत हो । एउटा १४० ग्राम तौल भएको सुन्तलाबाट दैनिक आवश्यक फाइबरको करिब १० प्रतिशत पाइन्छ ।
दैनिकरूपमा पर्याप्त फाइबर सेवन गर्नुपर्छ । जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । साथै, फाइबरयुक्त आहारले हृदय रोग, कोलोन क्यान्सर र मोटोपनाको जोखिम कम गर्छ ।
सुन्तलामा उच्च मात्रामा पाइने भिटामिन ‘सी’ र फोलेटको पनि उत्तकै फाइदा छ । नियमितरूपमा एक दाना सुन्तला (१४० ग्राम)को सेवनबाट हाम्रो शरीरलाई ९० प्रतिशत भिटामिन ‘सी’ प्राप्त हुन्छ ।
भिटामिन ‘सी’ र फोलेटका अतिरिक्त सुन्तलामा क्याल्सियम, पोटासियम र थायामिन (भिटामिन बी १) सहित अन्य पोषक तत्वहरू थोरै मात्रामा भए पनि पाइन्छ ।
हेल्थलाइनबाट ।