२०८१ जेष्ठ ६ आईतवार

देशैभर डढेलो, विषाक्त बन्दै हावा

डोल्पाको ठूलोभेरी नगरपालिका वडा नम्बर ३ स्थित सामुदायिक वनमा फैलिएको डढेलो निभाउन गएका एक सैनिक जवानको सोमबार मृत्यु भयो।

अनियन्त्रित रूपमा फैलिएको डढेलो निभाउन नेपाली सेनालाई खटाइएको थियो। सो क्रममा जुम्ला घर भएका सैनिक जवान हेमन्त रावतको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

डढेलोमा परेर रावतसहित २३ वर्षीय आशिष बुढा, ३० वर्षीय विजय कोइराला र ३८ वर्षीय केशरबहादुर दर्जा मगर घाइते छन्। रावतको जिल्ला अस्पताल डोल्पामै निधन भएको प्रजिअ दाहालले बताए।

‘डढेलोमा परी चार जना घाइते हुनुभएको छ। दुई जनालाई सोमबारै नेपालगञ्ज पठाइएको थियो। त्यहाँबाट पनि थप उपचारका लागि काठमाडौं लगिसकिएको छ। दुई जनालाई डोल्पा अस्पतालमै उपचार गराएकोमा एक जनाको सोमबार राति निधन भयो,’ प्रजिअ दाहालले भने, ‘अर्का गम्भीर घाइतेलाई पनि उपचारका लागि काठमाडौं पठाइएको छ।’

सैनिक ब्यारेक र विद्यालयको बीचबाट आगो फैलिएकोले उग्ररूप लिएको उनले बताए। यद्यपि डढेलो कहाँबाट सल्कियो भनेर पत्ता लागेको छैन।

‘सैनिक ब्यारेक र विद्यालयको बीचबाट डढेलो सुरू भएको देखिन्छ। फोहोर जलाउँदा आगो फैलिएको हुन सक्ने पनि बताइएको छ। यसबारे मैले बुझिरहेको छु,’ उनले भने, ‘तीव्र हावाहुरीका कारण डढेलो एकैपटक वन क्षेत्रमा फैलियो।’

अक्करे भिरमा फैलिइरहेको डढेलो अहिले पनि नियन्त्रणमा आइसकेको छैन। आगो बस्तीतिर आउन भने रोकिएको उनको भनाइ छ।

डोल्पादेखि टाढा धनकुटामा पनि यस्तै घटना भयो। बारीका जिलौटा डढाउन सल्काएको आगामा परी तीन वर्षीय बालकको मृत्यु भएको छ।

धनकुटा नगरपालिका वडा नम्बर ३ का विवेक श्रेष्ठको आगलागीमा परी मृत्यु भएको मेयर चिन्तन तामाङले बताए।

सोही वडाका राजु श्रेष्ठले आइतबार बारीमा जिलौटा सल्काएका थिए। आफ्नै बारीमा सल्काएको आगोमा परेर रोशन घाइते भए। रोशन राजुका छोरा हुन्। उनको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ।

विवेकलाई भने उपचारका लागि काठमाडौं ल्याउने क्रममा आइतबार निधन भएको थियो।

आगलागीबाट पछिल्लो एक सातामा ३ जनाको मृत्यु भएको छ। १५ जना गम्भीर घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार आगलागीबाट दुई सय ७७ परिवार प्रभावित छन् ८ करोड १९ लाख बराबरको धनमाल नष्ट भएको छ।

गर्मी बढेसँगै डढेलोका घटना बढेका छन्। पछिल्लो एक सातामा दुई सय ५५ ठाउँका वन डढेलो लागेको वन तथा भूसंरक्षण विभागले जनाएको छ।

विभागकाअनुसार पछिल्लो एक सातामा २३ जिल्लामा डढेलोका घटना भएका छन्।

विभागले अद्यावधिक गरेको विवरणअनुसार अछामका ६, अर्घाखाँचीका ३, बागलुङका ३, बैतडी, बाजुरा, डोल्पा, गोरखाका १–१, बाँकेका ९ स्थानमा डढेलोका घटना भएका छन्।

बाराका १८, बर्दियामा ४, चितवनमा ४२, डडेलधुरामा ३, दैलेखमा ४, दाङमा १९ स्थानमा डढेलो सल्किएको छ।

दोलखामा ३, डोटीमा १४, गुल्मीमा ३, जाजरकोटमा ६, काभ्रेपलाञ्चोकमा ३, कैलालीमा ९, कञ्चनपुरमा ६ र कपिलवस्तुमा ९ ठाउँमा डढेलो फैलिएको छ।

एक महिनाअघिसम्म मध्य तथा उच्च पहाडमा सल्किएको डढेलोको प्रकोप अहिले तराई–मधेस क्षेत्रमा देखिएको छ। यसबाट काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरू प्रदूषित बनेको छ।

देशभर फैलिएको डढेलोका कारण वायु प्रदूषित भएको वातावरण विभागका प्रवक्ता तारादत्त भट्टले जानकारी दिए।

‘हाम्रो देरभर वायुको स्वच्छता मापन गर्ने संयन्त्र छैन। जहाँजहाँ छ, त्यसआधारमा भन्दा देशभरकै वायु अस्वस्थ देखिएको छ। खास गरी चितवन, सिमरा र काठमाडौंको वायु प्रदूषित देखिएको छ,’ उनले भने।

वायु शुद्धता सूचकांक (एक्युआइ) का अनुसार अहिले ललितपुरस्थित खुमलटारको हावा प्रदूषित देखिएको छ। खुमलटारको एक्युआइ सूचकांक १९०.४६ रहेको छ। एक्युआइअनुसार एक सय एकभन्दा माथिको अंक हानिकारक हो।

सूचकांकअनुसार भक्तपुरको प्रदूषणको अवस्था १७०.७७ छ। शंखपार्कको १६१.०६, कीर्तिपुरको प्रदूषणको अवस्था १५७.५२ रहेको छ।

पोखराको वायु पनि प्रदूषित देखिएको छ। यहाँको वायुको अवस्था १५१.२० छ।

ललितपुर पुलचोकको १३२.५२, भैंसेपाटीको १२९.८१, मुगुस्थित रारा ताल क्षेत्रको १२५.८७, महेन्द्रनगरको ११७.७४, धनकुटाको ९८.७७ र नेपालगञ्जको वायुको अवस्था ९२.३७ रहेको छ। सेतोपाटी

२०८० चैत्र २७, मंगलवार प्रकाशित 0 Minutes 80 Views

ताजा समाचार