२०८१ जेष्ठ ६ आईतवार

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । संसद भवन नयाँ वानेश्वरमा सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गरिएको हो ।

अवरोध खुलाउन दलहरूबीच सहमति नभएपछि सूचना टाँस गरेर सदन स्थगित गरिएको हो । मंगलबार बसेको बैठक नेपाली कांग्रेसले अवरुद्ध गरेपछि १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।

संसद १५ मिनेट स्थगित गरेर सभामुखले आफ्नै कार्यकक्षमा दलका नेताहरूसाग छलफल गरेका थिए । छलफलमा आज संसद खुलाउने सहमति हुन सकेको थिएन ।

पछिल्लो समय कांग्रेसले प्रतिनिधिसभाको बैठकमा सहकारीको रकम अपचन गर्नेका विरुद्ध निष्पक्ष छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

आज पनि बैठकको सुरुमै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आसनबाट उभिएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिएका थिए । उनले सडकमा सहकारीपीडित आन्दोलनरत रहेको उल्लेख गर्दै सूर्यदर्शनलगायत छ वटा सहकारीबाट एक एक अर्ब रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानुनी रुपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुदैन भनी सरकारसँग प्रश्न गरेकी थिइन् साथै उनले सो सम्बन्धमा आजै बसेको कांग्रेस संसदीय दलले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्ने निर्णय गरेको जानकारी गराएकी थिइन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएका थिए । उनले बोल्ने क्रममा कांग्रेस सांसदहरु आसनबाट उभिइरहे पछि सभामुखले आसनमा बस्न र सदन सञ्चालन गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । त्यसपछि सत्ता पक्षका सांसदहरु पनि आसनबाट उभिएपछि सभामुखले सदन सञ्चालन गर्नका लागि बस्न पटक–पटक आग्रह गरेपनि कांग्रेस सांसदहरु उभिइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।

२०८० चैत्र २७, मंगलवार प्रकाशित 0 Minutes 71 Views

ताजा समाचार