२०८१ जेष्ठ ६ आईतवार

एसईई पछिको फुर्सदमा मोबाइल चलाएर बस्ने कि सीप सिक्ने ?

८ वैशाख, झापा । सिन्धुपाल्चोककी बिनिता ढकाल एसएलसी सकिनासाथ काठमाडौं आइन् । एसईईको नतिजा आउँदासम्मका तीन महिनालाई बढिभन्दा बढि सदुपयोग गर्ने सोच छ उनको ।

काठमाडौंमा आएर बिनिताले कम्प्युटर कक्षा सुरु गरेकी छिन् । कम्प्युटर इञ्जिनियरिङ पढ्ने लक्ष्य राखेकी उनी आधारभूत कम्प्युटर शिक्षा लिएर आफूलाई तयार गर्न चाहन्छिन् । ‘दिमाग फ्रेस भएको बेला छ । घुमेरै बितायो भने यो बहुमुल्य समय खेर जान्छ,’ उनी भन्छिन्- ‘बुवा-ममीको सल्लाहमा कम्युटर सिक्न थालेकी हुँ ।’

खाली समयको सदुपयोग गर्न उनको अर्को पनि योजना छ । उनी भन्छिन्- ‘शिक्षकले उद्घोषण तालिम पनि लिन सुझाव दिनुभएको छ । त्यसका लागि राम्रो इन्स्टिच्युट खोजिरहेकी छु ।’

एसईई सकिएपछि बिनिता जस्तै सवा ६ लाख विद्यार्थी फुर्सदिला भएका छन् । उनीहरुमध्ये कोही साथीभाइसँग घुम्दैछन्, कोही घरमा मोबाइल चलाएर दिन काट्दै छन् । बिनिताले जसरी समयको सदुपयोग गर्न तम्सिने पनि थुप्रै छन् ।

टाइम पास गर्ने बहाना सबैलाई चाहिएकै छ । यही लहडमा एसईई दिएका किशोर-किशोरीले गलत बाटो नसमाउलान् भन्न सकिन्न ।

त्यसैले यी जोखिमबाट जोगिन सिर्जनात्मक, उपलब्धिमूलक तथा सीपमूलक काममा आफूलाई व्यस्त गराउनुपर्ने विज्ञहरुको सुझाव छ ।

‘भावि योजनाबारे सुरुमा विद्यार्थी र अभिभावकबीच छलफल हुनुपर्छ । त्यसपछि विद्यालय र शिक्षकहरुसँग पनि बहस हुनुपर्छ,’ शिक्षाविद विद्यानाथ कोइराला भन्छन् ।

जिज्ञासु र चञ्चल अवस्थाका किशोर-किशोरीलाई परिपक्व र दीर्घकालिन निर्णय लिन पक्कै पनि गाह्रो हुन्छ । परिवार, अभिभावक र शिक्षकहरुसँगको सल्लाहमा यो ३ महिने फुर्सदलाई उपलब्धीमा बदल्न विद्यार्थी आफैं अग्रसर हुनुपर्छ ।

किनकी यतिबेला लिने निर्णय करियरकै ‘टर्निङ प्वाइन्ट’ बन्नसक्छ । अभिभावकले पनि यसका लागि भूमिका खेल्नुपर्छ ।

के सिक्ने त ?

एसईई दिएपछि विद्यार्थीले सिक्न सक्ने कुराहरु थुप्रै छन् । दबाव महसुस नहुने किसिमले आफ्नो रुची र योजनाअनुसार सीप तथा कौशलको विकास गर्नसके करिअरमा त्यसले ठूलो अर्थ राख्ने छ ।

प्राविधिक, खेलकुद, सीपमूलक तालिम, वक्तृत्वकला तथा नेतृत्वकलाको विकास, सिर्जनात्मक तथा रचनात्मक सीपको विकासका लागि यो समय सदुपयोग गर्न सकिन्छ ।

व्यवसायिक सीप सिक्न चाहनेका लागि पनि थुप्रै विकल्प छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभीटी) अन्तरगत सञ्चालन हुने ब्युटीसियन, मेकानिकल अपरेटर, कुकिङ, फर्निचर मेकर, वेटर, बेकर, इलेक्ट्रिसियन, ड्रेस मेकर, सु मेकर, टेलरिङ, ह्याण्ड इम्ब्रोडर, फ्रुट भिजिटेबल प्रोसेसर, टेलिकम टेक्निसियन, मोबाइल फोन रिपेयरिङ लगायतका छोटा अवधिका तालिमहरु सिक्न सकिन्छ ।

यस्ता झण्डै ४ दर्जन तालिम सिटीइभीटी अन्तरगतका संस्थाहरुले सञ्चालन गरिरहेका छन् । यस्ता तालिमहरु बढीमा ३ महिनाका हुन्छन् र कोटाअनुसार सित्तैमा पनि सिक्न पाइन्छ ।

शहरी क्षेत्रमा विभिन्न संस्थाहरुले यस्ता तालिम सञ्चालन गरिरहेका हुन्छन् । यी तालिमले भविष्यमा पार्टटाइम काम गर्दै उच्च शिक्षा अगाडि बढाउन चाहनेलाई सहयोग गर्नेछ ।

प्रविधिमा अपडेटेड हुने अवसर

यो सूचना र प्रविधिको युग हो । त्यसैले प्रविधिमा अभ्यस्त हुन नसके पछि परिन्छ । त्यही भएर एसएलसीपछि धेरै विद्यार्थीहरु कम्प्युटर कक्षा लिन उत्सुक हुन्छन् ।

प्रायः मोबाइलको प्रोयोगमा अभ्यस्त भइसकेका विद्यार्थीले यो अवधिमा  लिने कम्प्युटरको तालिमले इन्टरनेटको सुदपयोगदेखि प्रविधिको सबल र दुर्बल पक्षबारे सचेत पनि गराउने गर्छ ।

सिर्जनात्मक सीप
सबैका आ-आफ्नै रुची हुन्छन् । कोही गाउनमा माहिर हुन्छन् त कोही नाच्नमा पोख्त । यस्ता प्रतिभालाई करिअरसँग जोड्नका लागि योभन्दा सही अर्को समय कहिले आउला ?

सम्बन्धित विधाका ज्ञाता र अग्रजकहाँ पुगेर वा संगीत, साहित्य, नृत्य, चित्रकलाका कक्षाहरुमा सामेल भएर आफ्ना रुचीको विषयलाई व्यवसायिकतामा ढाल्नु उपयुक्त हुन्छ । अभिनय, हस्तकला, काष्ठकला, मुर्तिकला सिक्ने र आफुसँग भएका अतिरिक्त खुवीलाई तिखार्ने बेला यही नै हो ।

खेलकुद

अहिलेको जमानामा पढेर डाक्टर-इन्जिनीयर नै हुनुपर्छ वा जागीरै खानुपर्छ भन्ने केही छैन । खेलकुदमा रुचि भएकाहरुले यसमै भविष्य खोज्न पनि सक्छन् । कोही फुटबलर बन्ने सपना देख्छन् त कोही क्रिेकटर । कसैलाई मार्सल आर्टमा रुची हुन्छ भने कसैलाई पौडीमा ।

रुचीअनुसार विद्यार्थीले विभिन्न खेलमा करिअर बनाउन सक्छन् । प्रशिक्षण कक्षामा सामेल भएर प्रतिभालाई थप मजबुत बनाउन सकिन्छ । त्यसैले खेल कलालाई तिखार्नका लागि एसएसलसीपछिको खाली समय सबैभन्दा उत्तम हुनसक्छ ।

खेलमा करियर खोज्न मात्र होइन, ज्यानमा तन्दुरुस्ती ल्याउन वा फगत मनोरञ्जनका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

वाक कला र नेतृत्व विकस

नेपालीमा एउटा उखान छ, ‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको पिठो पनि बिक्दैन ।’ हो, यही भएर किशोर अवस्थामा नै सबै विद्यार्थीले आफ्नो अभिव्यक्ति  कलालाई निपूण बनाउनुपर्छ ।

यसले व्यक्तित्वलाई समृद्ध बनाउँछ । अभिव्यक्ति कलाका लागि लागि विभिन्न संस्थाहरुले बजारमा उद्घोषण तालिमहरु सञ्चालन गरिरहेका हुन्छन् ।

हुन त उद्घोषण भन्नासाथ सबैले रेडियो र टिभीमा कार्यक्रम चलाउने सीप भन्ने सोचिन्छ । तर रेडियो-टीभीमा कार्यक्रम चलाउनलाई मात्रै उद्घोषण तालिम लिनुपर्छ भन्ने छैन ।

आत्मविश्वास बढाउन र व्यक्तित्व निखार्न पनि यो प्रभावकारी हुन्छ । यसबाहेक नेतृत्व विकासका तालिमहरु पनि सञ्चालन भइरहेका हुन्छन् । त्यसले पनि आफ्नो क्षमता अभिवृद्धी गर्न सघाउ पुग्छ ।

सीपमा चासो नभए ब्रिज कोर्स

कसैलाई सीपमा भन्दा आफ्नो पढाइमै ध्यान केन्दि्रत गर्न मन हुन्छ । उच्च शिक्षामा यो विषय पढ्ने भनेर निर्णय गरिसकेकाहरुका लागि ‘बि्रजकोर्स’ गर्दा फाइदा हुन्छ ।

अहिले बि्रज कोर्स धेरै विद्यार्थीको फुर्सदको समय सदुपयोग गर्न प्रभावकारी  बनेको छ । चाहेको शिक्षण संस्थामा रोजाइको विषय अध्ययन गर्न आफूलाई सक्षम बनाउन विद्यार्थीहरु बि्रजकोर्स गर्छन् ।

उच्च शिक्षामा विशेषगरी व्यवस्थापन, इञ्जिनीयरिङ, विज्ञान, नर्सिङलगायत विषय अध्ययन गर्न चाहनेहरु ब्रिज कोर्स धाउँछन् । कक्षा १० र ११ को पाठ्यक्रमको बीचमा ठूलो खाडललाई चिर्न यो उपयोगी हुन्छ ।

नाम चलेका शिक्षण संस्थामा अध्ययन गर्न प्रवेश परीक्षा पास गर्नुपर्छ । धेरै विद्यार्थीहरू यसैको तयारीमा पनि केन्द्रित छन् ।

ब्रिज कोर्सले विद्यार्थीलाई स्वमूल्याङ्कन गर्न र शैक्षिक करियरको जगलाई मजबुत बनाउन सहयोग गर्ने भएपनि अहिले पैसा मात्रै लुट्ने खेलसँग सचेत हुनुपर्ने शिक्षाविद कोइराला बताउँछन् ।

२०८० चैत्र २६, सोमबार प्रकाशित 1 Minute 87 Views

ताजा समाचार