२०८१ बैशाख १८ मंगलवार

जनआन्दोलन, संयुक्त जनआन्दोलन र कम्युनिस्टहरू

– नरेन्द्रजंग पिटर

आज संयुक्त जनआन्दोलनको उत्कर्ष दिन । हरेक घटनाका पृष्ठभूमिमा कार्य र कारण हुन्छन् । परिणाम त इतिहासका सुन्दरता वा कचरा जे पनि हुन सक्छ । आगतबारे चर्चा गर्दा विगत नियाल्नु वा विवेचना गर्नु अनिवार्य हुन्छ । इतिहासका धावनमार्ग दण्ड र पुरस्कारको पिच बनेर कालान्तरमा मानव सभ्यतामा फेरिँदै जान्छन् । इतिहासबोध जरुरी हुन इतिहासकै आग्रहहीन विद्यार्थी हुनु पहिलो सर्त हो ।

आग्रही दिमागले इतिहासलाई आत्मसात् गर्न दिँदैन । शासकहरूलाई इतिहासले टोक्छ । अणु र परमाणु दुवै भएकाले इतिहास बिर्सन चाहे पनि कसैले उसलाई बिर्सन सक्दैन, पाउँदैन । कसैलाई न माफ गर्छ, न बिर्सन नै दिन्छ । तर, इतिहासको वाणी दिने वा व्यवस्थापन गर्ने काम भने पक्षधारिताअनुसार भइरहन्छन् । परिणामलाई नियालेर मात्र घटनालाई पारेको प्रभाव किटान गर्न सकिँदैन । कवि अबु तालिबलाई उद्धृत गर्दै ‘मेरा दागिस्थान’ कृतिमा साहित्यकार रसुल हम्जातोभ भन्छन्, ‘जसले इतिहासलाई पेस्तोलले हान्छ, उसको भविष्यलाई बमले उडाइदिन्छ ।’

म यस लेखमा २००७/०८, २०३५/३६, २०४६/४७, २०६२/६३ का जनआन्दोलन र संयुक्त जनआन्दोलमा कम्युनिस्टहरूका भूमिकामाथि केन्द्रित हुनेछ ।

इतिहासका आलोकमा जनआन्दोलन

विद्रोह, असन्तोष, द्वन्द्व र आन्दोलन संयुक्त जनआन्दोलन फरकफरक विषय हुन् । रूप र चरित्र फरक भए पनि समाज विकासमा द्वन्द्व अनिवार्य नियति हो । सो असन्तोष झाँगिएर एउटै थलोमा पुग्दा आन्दोलन बन्न पुग्छ । सत्ता यथास्थिति नखजबजियोस् भन्ने चाहन्छ भने समाज सधैँ परिवर्तन खोजिरहन्छ । नित्य नयाँ चाहना सामाजिक मनोभाव हो । यथास्थिति बचाउन सत्तासँग सेना, अदालत, धर्म र परम्परागत मान्यता हुन्छन् । त्यसलाई मिहिन पाराले नियालिरहेका एकाध मान्छेले देखेका सपनाहरू समाजले ह्वात्तै एकैपटक देख्न थाल्यो भने आन्दोलनमा फेरिन्छ । सडक र भित्ताहरू चिच्याउन थाल्छन् । कमजोर तप्का समूहमा निक्लिएर बहादुर बन्छन् ।

हरेक द्वन्द्व, असन्तोष, विद्रोह जनआन्दोलनमा फेरिन भने सक्दैनन् । आन्दोलनलाई जनआन्दोलनमा फेरिन समय लाग्छ । वैचारिक नेतृत्व आवश्यक हुन्छ । नेतृत्वको नैतिक पुँजी र इच्छाशक्तिले जनविश्वास बढ्दा भिड जनतामा फेरिएर आन्दोलन बन्ने गर्छन् । आन्दोलन बन्नु पहिल्यै आन्दोलनका भ्रूणहरू देखा परिसकेका हुन्छन् । २००७ सालअघि नै अछामका बाँकाबिर, गोरखाका लखन थापाले अलख जगाए पनि प्रचण्ड गोरखाका मैनाबहादुरको सहादतले अझ थप ऊर्जा थप्यो ।

‘मकैको खेती’का लेखक कृष्णलालको सहादतले बौद्धिक र साहित्यक क्षेत्रमा हलचल मच्चायो । योगमायाका जलसमाधिले तरङ्ग ल्यायो । यी सबैको सँगालो हो दशरथ चन्द अगुवाइको प्रजा परिषद्को स्थापना र भूमिका । पहिलो राजनीतिक दल प्रजा परिषद् भए पनि १९९७ सालको मूल नेतृत्व दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमालाई फाँसी र टंकप्रसाद आचार्यहरूको जेलले गर्दा त्यो आन्दोलनमै फेरिन सकेन । दोस्रो विश्वयुद्ध सकिएको थियो, भारतबाट अङ्ग्रेजहरू झिटीगुन्टा कसेर बेलायत फर्किसकेका थिए । पुरानो चीन लालचीन बनिसकेको थियो । त्यस्तो बेला नेपाल परिवर्तनबाट अछुतो रहन सक्दैनथ्यो । नेपाली कांग्रेसको जन्म २७ चैत २००६ मा नेपाल राष्ट्रिय कांग्रेस (नेराका) र नेपाल प्रजातान्त्रिक कांग्रेसको (नेप्रका) एकीकरणबाट भयो ।

नेप्रकामा रहेका पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) १० वैशाख २००६ मा भएको हो । कांग्रेस र कम्युनिस्ट दुवै पार्टीको जन्म कलकत्तामा भएको हो । आन्दोलन बन्नुपहिला विद्रोहका भुल्काहरू देखिन्छन् । सत्ताले दबाउन आफ्ना समग्र संयन्त्र प्रयोग गर्छ । जब सत्ताका संयन्त्र हुन्छन्, तब विद्रोह क्रान्तिमा फेरिन्छ । २००७ सालको आन्दोलन कांग्रेसको नेतृत्वमा भए पनि कांग्रेसमा कैयौँ भेट्रान कम्युनिस्ट पनि थिए । निर्मल लामा त पार्टी कार्यालय सचिव नै थिए, क्रान्तिमा दैलेख मोर्चा सम्हालेर बडाहाकिम नै बने । रूपसिंह सिँजापति सुदूरपश्चिमका कमान्डर नै थिए । किसान नेता भीमदत्त पन्त डडेल्धुराका बडाहाकिम नै थिए । भैरहवा मोर्चामा लडेका रुकुमका कामी बुढा र दैलेखका भवानीप्रसाद अधिकारी कालान्तरमा पहिलो कम्युनिस्ट सशस्त्र संघर्षका प्रणेता बने । उनीहरूको कार्यक्षेत्र राप्ती र कर्णाली थियो । क्रान्तिको आधारभूमि किसान बन्यो । पर्सा, बारा, रौतहटमा ‘रे नही जी कहो’, बाँके–बर्दियामा लोकाभार किसान आन्दोलन र कैलाली कञ्चनपुरका भीमदत्त पन्तको आन्दोलन, राप्ती र कैलालीमा कामी बुढाको सशस्त्र आन्दोलन, पूर्वमा रामप्रसाद राईको आन्दोलन सबै २००७ सालको क्रान्तिको अघोषित संयुक्त आन्दोलन थियो । जिम्दार संगठनको उक्साहटमा कम्युनिस्ट आतङ्क भन्दै किसान आन्दोलनलाई दबाउन बाँके–बर्दियामा २९ चैत २००७ मा भारतीय सेना बर्दियाको राजापुरदेखि बाँकेको कटकुइयासम्म प्रवेश गर्‍यो । यातनाबाट पिडारीका बैजनाथ थारू, उचुवाका दुलारे पण्डित र धम्बुझीका राजाराम कुर्मीको मृत्यु भयो । आन्दोलनका नेता बाबुकृष्ण शर्मा, गोपालबहादुर श्रेष्ठ, ललित चन्द, बदलुराम हलवाई र प्रेमलाललाई गरिफ्तार गरी वैशाख ४ गते बहराइच (भारत) चलान गरियो । बन्दी नेता ६ महिनापछि २५ भदौ २००८ मा हस्तान्तरण गरेर काठमाडौंबाट रिहाइ गरियो । त्यस्तै, भैरहवा अर्थात् स्युराजभजनीमा डा. केआई सिंह विद्रोह दबाउन २००८ चैत र कैलाली–कञ्चनपुरमा भीमदत्त पन्तको आन्दोलन दबाउन २०११ साल साउनमा भारतीय सेना आए । कामीको जुम्ला (२०१० साल असोज फूलपातीको दिन) र पन्तको डडेल्धुरामा (२०११ साउन २०) हत्या भयो । सेनाले पन्तको टाउको काटेर बाँसमा झुण्ड्याएर ३ दिन डडेल्धुरामा प्रदर्शन गर्‍यो ।

विश्वासको पुनःस्थापना सबै पार्टीको सबभन्दा ठूलो चुनौती हो । राजनीति विचार मात्रै नभई कला पनि भएकाले लोकप्रियतावाद र मूलधारका पार्टीप्रति दिइने प्रतिक्रियाले सबैको मथिंगलमा घन ठोकेको हुनुपर्छ ।

रामप्रसाद राई बिर्सन नसक्ने नाम बन्यो । ती सबै २००७ सालका योद्धा थिए । मूलत: २००७ सालको आन्दोलन गर्ने नेपाली कांग्रेसको एकल नेतृत्वभन्दा पनि त्यसबेला क्रान्तिकारीहरूको संयुक्त मोर्चा अर्थात् युनिटी अफ रिभोल्युसनरी सिन्डिकेट मान्न सकिन्छ । २०३५/३६ को विद्यार्थी आन्दोलन कालान्तरमा पञ्चायतविरुद्धको आन्दोलनमा फेरियो । जनमतसङ्ग्रहमा अडिटवादी ह्याङओभरले ग्रसित कांग्रेस संयुक्त मोर्चा बनाउन तयार भएन । त्यसबेलासम्म कम्युनिस्टहरू पनि अनेकौँ गुट उपगुटमा फेरिएका थिए । शक्तिशाली कम्युनिस्टहरू नेकपा चौथो महाधिवेशन (चौम) र नेकपा मालेले प्रथम प्रहरमा जनमतसङ्ग्रह बहिष्कार गरे । निर्वाचन नजिकिँदै जाँदा चौमले पहिला र केहीपछि मालेले पनि तुलनात्मक बहुदल प्रगतिशील भनेर उपयोग गर्‍यो । मनमोहन र पुष्पलाल समूह भने जनमतसङ्ग्रहमा सुरुदेखि नै सहभागी भए । यसबीचमा राजनीतिक संघर्षहरू विभिन्न रूपमा भइरहेका थिए । मालेले कार्यनीतिमा वर्गशत्रु सफाया अभियान फिर्ता लिइसकेको थियो तर मजदुर किसान पार्टीले सशक्त किसान संघर्षलाई भने जुठपानी, जुगेडी रमाडीमा चलायो । नेपालमा पहिलो गणतन्त्रका नारा घन्काउने रामराजाप्रसाद सिंह र खेमराज मायालुको २०४२ सालमा बमको भाषामा व्यवस्थाविरुद्ध देखा पर्‍यो । त्यसलाई नै कारण बनाउँदै नेपाली कांग्रेसले सत्याग्रह कार्यक्रम स्थगित गर्‍यो ।

संयुक्त जनआन्दोलन

समाजमा धेरै मूल्य, मान्यता र दर्शनमा आधारित पार्टी वा समूह एकैसाथ सक्रिय हुन्छन् । ती सबै सत्तासँगको असन्तुष्टिले एकमुष्ट मूल विषयमा केन्द्रित भएर समान शत्रुविरुद्ध उत्रिँदा संयुक्त जनआन्दोलन बन्न पुग्छ । आन्दोलनका रूप र चरित्र पनि चिन्तनअनुसार भिन्नाभिन्नै हुन सक्छन् । पूर्वनिर्धारित तरिका र सूत्रले मात्रै आन्दोलन चल्दैन । आन्दोलनले आन्दोलन सिकाउँछ । प्रत्यक्ष देखिने र हुने वास्तविक संयुक्त जनआन्दोलन भने २०४६/४७ र २०६२/६३ मा भए । २०४६ सम्म पुग्दा कांग्रेसलाई कम्युनिस्टसँगको छोइछिटो अन्त्य भइसक्या थियो । त्यसको अगुवाइ गणेशमान सिंहले गरे । २०४६/४७ को जनआन्दोलनमा कांग्रेस र ७ कम्युनिस्ट पार्टीको संयुक्त वाम मोर्चा एकातर्फ थियो भने अर्कातर्फ ४ कम्युनिस्ट घटकको अर्को मोर्चा ।

पहिलो घटकको ६ र ७ फागुन २०४६ मा सुरु भयो भने दोस्रो घटकको नेतृत्व मशालको अगुवाइ २० मंसिर २०४६ मा चितवनको वीरेन्द्र क्याम्ससको हाताबाट सुरु भयो । यी दुवै मोर्चा एकाकार त भएनन् तर पञ्चायतविरुद्धको कार्यक्रमिक टकराव आपसमा थिएन । २०६२/६३ को संयुक्त जनआन्दोलनको रूप र चरित्र भने फरक थियो । त्यसको मुख्य आधार र नेतृत्व माओवादीकै थियो । महत्त्वपूर्ण भूमिकामा कांग्रेस रह्यो । परिस्थितिलाई परिपक्व दरबार हत्याकाण्ड र नयाँ राजा ज्ञानेन्द्रको अहङ्कार तथा असफल नेतृत्वले थप बल पुर्‍यायो । तब संयुक्त जनआन्दोलन सशस्त्र संघर्ष र जनआन्दोलनको फ्युजन बन्न पुग्यो । त्यस आन्दोलनले सरकार मात्रै नभई सत्ताको आमूल चरित्र नै फेरिदिएर नयाँ संविधानमा गणत्रन्त्र, संघीयता, धर्मनिरपेक्ष र समानुपातिक निर्वाचन प्रणालीको आधारभूत प्रस्तावना गर्‍यो ।

हरेक आन्दोलनको सफलता, अर्धसफलतासँगै समाजका विभिन्न रूप र चरित्रहरू सतहमा देखा पर्छन् । राष्ट्रिय राजनीतिमा नयाँ अनुहारको नेतृत्व देखिन्छ तर उसले कति आन्दोलनको मर्म थेग्न सक्यो, त्यो मुख्य कुरा हो । विद्रोहका राप र ताप बढ्दै जाँदा आवेगलाई तताउन धेरै मिहिनेत र धैर्यता आवश्यक हुन्छ । अब के हुन्छ भन्ने जिज्ञासा, रोमाञ्चकता र रहस्यले मान्छेका सोच र भूमिका सक्रिय हुन्छन् । तर, विद्रोहका राप र ताप चिस्याउन वा सेलाउन भने समय लाग्दैन । समय घर्कंदै जाँदा आवेग पनि खहरेझैँ क्रमशः घट्दै जान्छ ।

पुराना सत्ताको प्रतिनिधि

गणतन्त्रको पहिलो देश, राज्यक्रान्तिको देश फ्रान्समा अझै पनि एउटा सानो समूहले हरेक वर्ष राजतन्त्रको पक्षमा झिनो जुलुस निकाल्छ । हरेक देशमा क्रान्ति, विद्रोह वा आन्दोलनपछि पनि पुराना व्यवस्थाका प्रतिनिधि नयाँ नाम वा पार्टीका रूपमा सक्रिय हुन्छन् । राणा शासनको अन्त्यपछि अर्थात् २००७ सालपछि सत्ता गुमेका अभिजात तप्का खुकुरी दलमार्फत सक्रिय भए भने २०१५ सालको चुनावमा गोर्खा परिषद्को नाममा चुनावमा देखिए । भरत शमशेरको गोर्खा परिषद् प्रमुख प्रतिपक्ष दल पनि बन्यो । २०१७ सालपछि भने गोर्खा परिषद् नेपाली कांग्रेसमा विलीन भयो ।

पञ्चायती व्यवस्थाको अन्त्यपछि पूर्वपञ्चहरू राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द समूहमा लागे । पूर्वप्रधानमन्त्री मरिचमान श्रेष्ठको सेभ द नेसन । कालान्तरमा थापालाई कांग्रेसले प्रधानमन्त्री बनायो भने चन्दलाई एमालेले । २०६४ पछि पनि राजतन्त्रवादी राप्रपाका नाममा सक्रिय भए भने सांस्कृतिक राष्ट्रवाद भनेर कैयौँ साना पार्टी पनि देखा परे ।

नयाँ शक्तिको उदय

हरेक आन्दोलनको सफलतासँगै समाजमा, व्यक्तिमा, पार्टी र कार्यकर्तामा, जातीय र क्षेत्रीय समूहमा जागृति मात्रै आउँदैन, पहिचान र महत्त्वाकाङ्क्षाको तीव्र भोक पनि जागृत हुन्छ । २०६२/६३ को संयुक्त जनआन्दोलनले सरकार मात्रै फेरेको थिएन, सत्ताचरित्र नै फेरेको थियो । शासक वर्ग र अभिजात तप्काको एकाधिकारमाथि हस्तक्षेप गरेको थियो । मूलधारका पार्टीहरूले संविधानमा आफ्ना सोच समावेश गराँउदैनन् कि भनेर मधेश, दलित, जनजाति, थारूहरूका असन्तोष विद्रोहमा देखा परे । त्यसले फेरि राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण हस्तक्षेप भयो । त्यो सनातनी र स्थापित शक्तिलाई चुनौती बन्योे । यसै पनि बहुसङ्ख्यकवादी केन्द्रीय अहङ्कार र स्थानीय अहङ्कारबीच टसल हुन्छ नै । तर, कालान्तरमा मुद्दाकेन्द्रित आन्दोलनहरू स्वत्वका टकराहटमा फेरिँदा वर्चस्वको लडाइँमा फेरिँदै गए ।

राजनीतिको चित्र र चरित्र बुझ्न आन्दोलनरत पार्टी र चुनावी चर्चा आवश्यक हुन्छ । २०६४ सालसम्म पुग्दा २०१५ सालमा चुनावमा सहभागी दलमा ३ दल (कांग्रेस, कम्युनिस्ट र मधेशवादी) सहभागी भए । २०४८ मा राप्रपा दुई समूह थिए भने २०६४ मा पनि दुई नै रहे । २०४८ सालमा सात दलमा रहेका कम्युनिस्टहरू २०६४ मा भने १२ र ७९ मा ९ बन्न पुगे । मधेशवादी दल १५ साल र २०४८ सालमा १ थियो तर २०६४ मा चार र ७९ सालमा तीन, २०८४ का लागि निर्वाचन आयोगमा ७ दल दर्ता भएका छन् । २०६४ को चुनावमा थारूहरूको १ पार्टी मात्रै थियो भने २०८४ को चुनावमा ४ दल दर्ता भएका छन् ।

कहिलेकाहीँ आन्दोलनको मूल मर्म थेग्न नसके पनि, नायक खलनायकमा फेरिए पनि, इतिहास व्यवस्थापक भाष्यले बीभत्स चित्रण गरे पनि आन्दोलनले सामाजिक परिवर्तनमा गरेको हस्तक्षेप र इतिहासमा राजनीतिको क्रमभङ्गताको छाप भने मेट्न सक्दैन ।  

हरेक आवेगहरूले भिडमा जनतालाई फेर्न त सक्छ तर आन्दोलन भने बन्न सक्दैन, अझ व्यक्तिका महत्त्वाकाङ्क्षाहरू स्थापित शक्तिको प्रतिक्रियामा विवेकहीन भिडलाई उत्तेजनामा ल्याउन सके पनि त्यो आवेगले निरन्तरता दिइरहन भने सक्दैन । नियत परिणामले देखाइदिन्छ । एकै प्रकारका मुद्दामा एकै प्रकारको आन्दोलन र पार्टी हुन सक्थ्यो तर मधेशवादी सात पार्टी छन्, भूमिगतको सङ्ख्या उल्लेख गरिएको छैन । त्यस्तै, थारूहरू तीन पाटीमा देखिएका छन् । संसारका मजदुर एक हौँ भन्ने कम्युनिस्ट पार्टी त ५० पटकभन्दा धेरै फुटिसक्यो भनेर कम्युनिस्ट आन्दोलनका अध्येता प्रा. सुरेन्द्र केसी भन्छन् ।

किन जनआन्दोलन मत्थर भए ?

अहिले चौतर्फी निराशा छ, आक्रोश छ तर त्यो असन्तोष आन्दोलन बन्न सकेको भने छैन । पुरानादलमाथिको अविश्वास नयाँ नेतृत्वको अभाव, सिद्धान्तहीन राजनीतिमा उपभोक्तावादको चरम हावीले नयाँआन्दोलन बन्न सकेका छैनन् । आन्दोलन मत्थर हुनुमा राजनीतिक विचारमा नरहेर व्यवसायमा फेरिनु प्रमुख कारण हो । सबै पार्टीमा सिद्धान्तभन्दा पनि उपभोक्तावाद हावी हुन पुग्यो । त्यसले राजनीति, पार्टी र मान्छेकोऔकात सङ्कटमा पार्छ । परिणामः इतिहास घायल हुन्छ । वर्तमान उकुसमुकुस हुन्छ । भविष्य अनिश्चित भएर समाज निराशातर्फ धकेलिँदै जान्छ । सत्य हितअनुसार परिभाषित हुँदै जान्छ । हितअनुसार इतिहास व्यवस्थापन गर्न खोजिन्छ । नायक खलनायकमा फेरिँदै गएर बीभत्सीकरणका पण्डित्याइँ छताछुल्ल हुँदै जान्छन् । प्रजातन्त्र, लोकतन्त्र, समाजवादी अभ्यासका सिद्धान्तका जेजे नाम दिए पनि ‘योक्लेप्टोक्रेसी’ (भ्रष्टतन्त्र)मा फेरिन्छ । उपभोक्तावादले अहिले राजनीति र समाज ग्रसित हुँदै जाँदा नित्य नयाँको उग्रभोक जागृत गर्छ । मान्छे खुसी बेचेर सुख किन्न तम्सेको छ ।

कुरा गरौँ कम्युनिस्टका 

आन्दोलन र संयुक्त आन्दोलनमा कम्युनिस्ट ‘पूर्ण नागरिक स्वतन्त्रताको लडाइँ जिन्दावाद !’ भन्ने उद्घोषका साथ स्थापना भएको नेकपाले ३० भदौ २००६ मा जारी पार्टीको पहिलो कार्यक्रमिक घोषणापत्रमा भनेको थियो, ‘पहाड, पर्वत, खोलानाला, जग्गा जमिन सबको, हामी मानिस दास बनौँ किन ? हिस्सा सबमा सबको ?’ २००७ सालमा प्रत्यक्ष वा परोक्ष आन्दोलनमा सहभागी नेकपालाई मातृकाप्रसाद कोइराला सरकारले २००८ साल अकारण प्रतिबन्ध लगायो ।

२०१३ सालमा टङ्कप्रसाद आचार्यको सरकारले प्रतिबन्ध हटाएपछि जनतालाई सचेत, जागृत र सङ्गठित गर्दै पार्टी २०१५ सालको आमचुनावमा सहभागी भएर ४ सिट जित्न सफल भयो । चीन र रुसी पार्टीका आपसी कलहले नेकपालाई पनि सैद्धान्तिक विवादले असर पार्‍यो । २०१९ सालमा दरभंगा प्लेनम स्थापनाको १३ वर्षपछि नेकपा पहिलोपटक फुट्यो । राजावादी र कांग्रेसपरस्त त एकआपसमा गाली शब्द त थिएन नै, तुुल्सीलालले कुन बाटो र पुष्पलालले त्यसको जवाफमा मूल बाटो लेखेपछि त औपचारिक गालीले पार्टीमा प्रवेश पायो । मोहनविक्रम सिंहले संस्थापक महासचिव पुष्पलालका बारेमा २०३० सालमा आनन्दबहादुरका नाममा गद्दार पुष्पलाल भन्ने पुस्तक नै लेखे । प्रथम राष्ट्रिय सम्मेलनको दस्तावेजमा ‘पार्टीको स्थापना अन्तर्राष्ट्रिय संशोधनवादको षड्यन्त्रको उपज’ थियो भन्ने उल्लेख छ । संयुक्त आन्दोलनका पक्षधर नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालले आफू जीवित हुँदा आफ्नै कार्यकर्ता, सहयोद्धा र अनुयायीले लगाएका आरोपका लागि माफी मागेको, आरोप फिर्ता लिएको सुन्न पाएनन् । अझ उनकै मार्गनिर्देशनमा भएका संयुक्त जनआन्दोलन त देख्नै पाएनन् ।

पार्टी फुटका कारण सैद्धान्तिक रूप नै थिए ?

नेकपाको विभाजनमा आन्दोलनका रूप र चरित्र, संयुक्त जनआन्दोलन, रुस र चीनका पार्टीका विवाद, चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिलाई कसरी लिने भन्ने प्रमुख विषय रहे पनि समान सोच, मान्यता र विश्वासबीचमा पनि पार्टी फुट्न झिनामसिना विषय उराल्नु आन्दोलनप्रति नै अहङ्कार र स्वत्वको टकराहट देखिन्छ । सूचना र प्रविधिमा आएको अद्भुत विकासले दर्शनका क्षेत्रमा पारेको प्रभाव र आन्दोलनमा पार्ने असर खुट्याउन सकेन ।

जनयुद्ध र संयुक्त जनआन्दोलन

जनयुद्धको चर्चा नगरी संयुक्त जनआन्दोलनले गरेको राज्यसत्ताको चरित्रमै फेरबदल बुझ्न सकिँदैन । जनयुद्धले अभिजात वर्गको स्वर्गमा धावा बोल्यो । हस्तक्षेपको राजनीतिले नयाँ तरंग ल्यायो । सामाजिक, राजनीतिक, सांस्कृतिक, साहित्यिक, मनोवैज्ञानिक उथलपुथल नै गरिदियो । पुरातन सौन्दर्यबोध भत्काएर नयाँ ढङ्गले सोच्न विवश पार्‍यो । नेपाली समाजमा परेको असर समग्र हस्तक्षेपले समाज, संस्कृति, राजनीति, मान्यता र सौन्दर्यलाई नयाँ तरिकाले सोच्न थालियो । भूसंवेदनशीलताका अन्यत्रभन्दा भिन्न खाले जटिलता थिए । अभिजात तप्काले आफ्ना परिचय खोज्ने नै भए ।

तर, चिन्तनको मार्केटिङ पनि माओवादीले गर्न सकेन । सिंहदरबारकेन्द्रित राजनीति फेरिँदा सडक खाली भयो । भनिन्छ– जुन जनमतले विश्वास गर्‍यो, उसको सम्मान र जसले जिम्मेवार हुन चेतावनी दिए, उसबाट विनम्र शिक्षा लिन सक्नुपर्थ्यो । चुनौती र सम्भावना भनेको कम्युनिस्ट बन्नकै लागि उसले सूचना सञ्चारको विकाससँगै २१औँ सदीमा वर्चस्ववाद, साम्राज्यवाद र उसको मनोदशा सिर्जना गर्ने उपभोक्तावादसँग कलामय प्रतिकार, नयाँ समाजवादी आदर्श र संस्कृतिमा विशेष जोड दिए मात्र विघटनबाट बच्न सक्थ्यो, तर ध्यान पुर्‍याएन । मान्छेसँग अद्भुत शक्ति हुन्छ । फेरिन नचाहनेलाई फेरिन विवश बनायो । तर, जातीय वा वर्ण संघर्षलाई वर्ग संघर्षमातहत विकास गर्न नसक्दा पार्टीभित्रै जनयुद्धका बाइप्रोडक्ट निक्लिए । हरेक आन्दोलन, विद्रोह र क्रान्तिहरू सूत्रमा चल्दैनन् । बाइप्रोडक्ट पनि हुन्छन् । क्रान्तिको क्षतिपूर्तिभाव पैदा हुँदा कब्जा गर्न गएका स्वयम् कब्जा हुँदै गए । जब आन्दोलनले नायकत्व धान्न सक्दैन, तब प्रतिक्रियावाद त्यसैको अंशमा टेकेर समग्रमा आक्रमण गर्दै इतिहासलाई नयाँ व्यवस्थापन गर्न थाल्छ । बीभत्स चित्र कोरिन थालिन्छ ।

आन्दोलन मत्थर हुनुमा राजनीतिक विचारमा नरहेर व्यवसायमा फेरिनु प्रमुख कारण हो । सबै पार्टीमा सिद्धान्तभन्दा पनि उपभोक्तावाद हावी हुन पुग्यो । त्यसले राजनीति, पार्टी र मान्छेकोऔकात सङ्कटमा पार्छ । परिणामः इतिहास घायल हुन्छ । वर्तमान उकुसमुकुस हुन्छ ।

नायकहरू दुस्मनसँग लड्छन्, क्रान्तिका आदर्श बचाउन लागिपर्छन् । तर, नालायकहरू भने दुस्मन आफ्नै पहिलाका मित्रहरूलाई देख्छन् । हिजोको अस्तित्व, सम्मान, जागरुकता र जनविश्वास नरहेपछि पनि स्वसमीक्षा गर्न लजाउँछन् । तर, बनिसकेको इतिहासका डोब र खाटाहरू भने कस्तै इतिहासका व्यवस्थापकहरूले पनि मेटाइउ सक्दैनन् । उत्पीडित जाति, वर्ण, क्षेत्रभित्रकै अभिजात तप्काले फेरि लम्पट मस्तिष्कलाई भिडमा फेर्दै गयो । मधेसी, थारू, जनजातिर दलित विद्रोहको मनोबल र इच्छाशक्ति जनयुद्धको नै देन थियो ।

बिट मार्दै गर्दा 

संयुक्त जनआन्दोलनका अगुवा कांग्रेसीहरू अब कांग्रेसी रहेनन् । अफिसियल कम्युनिस्टहरू कम्युनिस्ट रहेनन् । तर अझै सिद्धान्त, विचार, आदर्श र मूल्यसँग कुनै साइनो नभए पनि राजनीतिक पसलमा भने त्यही ट्रेडमार्कको सुविधा पाए । जे छैन त्यो देखाउनु पर्ने, जे छ त्यो लुकाउनु, छिपाउनुपर्ने उपभोक्तावादी समाजको चरित्र सोच बनिसक्यो । आन्दोलन वा संयुक्त जनआन्दोलन बन्न मुद्दा केन्द्रित अभियान आवश्यक पर्छ । आन्दोलनका भाव, मर्म, सपनाको व्यवस्थापन गर्न सकिएन भने रूपमा आन्दोलनकारी भए पनि त्यो प्रतिगामीले अपहरण गरिसकेको हुन्छ । निश्चित उद्देश्यका लागि भिन्न सोच, सिद्धान्त र मान्यताबीच एकमत भएर संयुक्त आन्दोलन बन्छन् । समयसँगै फेरि आफ्ना मान्यतामा फर्कन्छन् । जर्मनीका हिटलर, इटालीका मुसोलिनी र जापानका तोजो नेतृत्वको फाँसीवादलाई पराजय गराउन रुसी जोसेफ स्टालिन, अमेरिकी रुजवेल्ट र बेलायती चर्चिलबीच संयुक्त मोर्चा बन्यो । दोस्रो विश्वयुद्ध सकिनेबित्तिकै सो मोर्चा टुट्यो ।

राजनीतिका नर्सरी विद्यार्थी, मजदुर, किसान र युवा संगठन हुन् । अब तिनको आन्दोलनकारी चरित्र नभई आसे प्रवृत्तिमा फेरिँदा ऐतिहासिक चरित्रको निरन्तरता उनीहरूले दिन सकेनन् । परिवर्तनको हिराबलदस्ता तयार हुन सकेन । पार्टीहरूले मूल चरित्र धान्न नसकेपछि ती इतिहासमै सीमित हुन्छन् । प्रजा परिषद्, गोर्खा परिषद्, तराई कांग्रेस, सद्भावनाको अवस्था हरौँ । पहिचानको बजारमा महत्त्वाकाङ्क्षाका कारोबारीहरूले पनि अनेकौँ पार्टी खोल्दै गए । एउटै उद्देश्य र कार्यक्रमका लागि बनेका पार्टीहरूले पनि बेस्वत्वको टकराहटले मर्म धान्न सक्दा रहेनछन् । आर्क फेरिने बित्तिकै संघर्षका रूपसँगै एसल्ट ग्रुप पनि फेरिन्छन् । तर, सबभन्दा ठूलो क्रान्तिकारीहरूको समस्या भनेको वर्ग रूपान्तरण हो । हरेक पार्टीका विचार निर्माता जैविक बुद्धिजीवी हुन्छन् । वर्ग सिफ्टसँगै गुणमा आएको परिवर्तन नाङ्गो वास्तविकतालाई भने समाजले नियालिरहेको हुन्छ, व्यवहार गरिरहेको हुन्छ ।

सत्ता र सरकार एकै होइनन् । राजनीतिमा कूटनीतिक जोगाडको शक्ति सञ्चय मात्रै हुन्छ, दीर्घकालीन भइरहन सक्दैन । इतिहास भुल्न पनि नसक्नु, निरन्तरता दिन पनि नसक्नु हरेक पार्टीका मुख्य समस्या हुन । हुनु, गर्नु, देखिनु र बोल्नुबीचको अन्तरद्वन्द्वमा रुमलिनु समस्या हुन् ।

हरेक आन्दोलनले महत्त्वाकाङ्क्षा जगाउँछ । महत्त्वाकाङ्क्षाको सकारात्मक व्यवस्थापन गर्न सीमित साधन, स्रोत र सहमतीय राजनीतिका सहयात्रीका कारण हुन सक्दैनन् । नाराको व्यवस्थापन र नेतृत्व लिनुभन्दा पार्टी नेतृत्व तहमै अपेक्षा, महत्त्वाकाङ्क्षा बढ्दै गएपछि स्वाभिमान कतै अहङ्कार, कतै कुण्ठा, कतै असन्तोष, कतै पलायन त कतै प्रतिशोधमा देखा पर्छन् । शहीद अरुको घरमा जन्मियोस्, परिवर्तनको पहिलो हकदाबी हुन थालिन्छ । कुरामा समाजवादी भए पनि आचार, विचार, अभ्यासमा चरम उपभोक्तावादी जन्मिदै गए । ३० को दशकमा शोभियत रुसमा लेमेन क्लातुराले नेपाली कम्युनिस्ट आन्दोलनमा पुनः जन्म लियो । नारामा क्रान्तिकारिता र प्रगतिशीलता भए पनि त्यसको मार्केटिङ गर्न सकिएन भने जनविश्वास पाउन सकिँदैन । नाराअनुसार नैतिक पुँजी भए मात्र सार्वजनिक अपिल गर्ने इच्छाशक्ति नेतृत्वमा हुन्छ । निर्णयको स्वामित्व लिन नपाएर साक्षी किनारामा बसेर मात्रै सहमतिको थपडी बजार्नुपरे नेतृत्वले पनि कार्यकर्ताको हैसियत राख्दैन भने भएका निर्णयको कार्यान्वयन गर्ने दायित्व पनि उठाउँदैन ।

हरेक आन्दोलन, विद्रोह र क्रान्तिहरू सूत्रमा चल्दैनन् । बाइप्रोडक्ट पनि हुन्छन् । क्रान्तिको क्षतिपूर्तिभाव पैदा हुँदा कब्जा गर्न गएका स्वयम् कब्जा हुँदै गए । जब आन्दोलनले नायकत्व धान्न सक्दैन, तब प्रतिक्रियावाद त्यसैको अंशमा टेकेर समग्रमा आक्रमण गर्दै इतिहासलाई नयाँ व्यवस्थापन गर्न थाल्छ ।  

पार्टी निरन्तर फुट्दै गए पनि गुट सकिँदैनन् । बरु गिरोहमा फेरिँदै जान्छन् । आत्मालोचना र आलोचना पुस्तकमा पुग्छन् । दण्ड र पुरस्कार रहँदैन । हाम्रा सबै राम्रामा फेरिन्छन् । मित्र मिलनलाई पार्टी एकता भनिन्छ । आफ्नै नाराले फेरेको राजनीतिक र सामाजिक उपलब्धिको पुँजीकरण गर्न सकिँदैन भने विगतप्रति प्रश्न उठन थाल्छन् ।

पार्टीहरू ट्रेडमार्कमा पुगे । अझ शुद्धतावाद र घालमेलवादको समस्या झेलिरहेको कम्युनिस्ट बन्ने न्यूनतम आधार के हुन् ? उत्तर नेकपासँग रहेन ।  सिद्धान्तको राजनीति सुविधाको राजनीतिमा फेरिएपछि हरेक राजनीतिक पार्टीहरू जनअदालतको कठघरामा उभिनुपर्छ । गौरवताको हकदार बन्न, इतिहासलाई स्यालुट गर्न वर्तमानको भूमिकाले मात्र औचित्य सावित गर्छ ।आक्रोशलाई आशामा फेर्ने र निराशामाथि हस्तक्षेप गर्ने वैचारिकी आजको आवश्यकता हो ।

आन्दोलनले एकता ल्याउँछ, प्रतिकूलताले आदर्श र मूल्यको राजनीति तयार गर्छ । तर, प्रतिकूलताका आदर्शका धरहरा अनुकूलतामा ढल्दा रहेछन् । नेतृत्वसँग आधुनिक दृष्टिकोण भएर मात्रै पुग्दैन, पुँजीवादले गरेको मनोवैज्ञानिक कलामय व्यवस्थापनलाई कसरी प्रतिरोध गर्ने र मूल्यको राजनीतिको संरक्षण गर्ने नीति, विधि अभ्यास पनि आवश्यक हुन्छ । प्रविधि र बजारले मानव मस्तिष्कमा पार्ने प्रभावको असर, त्यसले तय गरेको भूमिका र सामाजिक हलचल नियाल्न आवश्यक हुन्छ ।  विश्वासको पुनःस्थापना सबै पार्टीको सबभन्दा ठूलो चुनौती हो । राजनीति विचार मात्रै नभई कला पनि भएकाले लोकप्रियतावाद र मूलधारका पार्टीप्रति दिइने प्रतिक्रियाले सबैको मथिंगलमा घन ठोकेको हुनुपर्छ ।  उचाइको पनि निश्चित उमेर हुन्छ । राजनीति सूत्रमा चल्दैन । पार्टीहरूबीचका राजनीति, संस्कृति, चरित्र, संगठन र अभ्यासमा के भिन्नता छ, छुट्टिँदैन ।

हरेक व्यक्ति तृष्णा र सन्तुष्टिबीचको मनोवैज्ञानिक दोहोरो द्वन्द्वको अवस्थाबाट गुज्रिरहेको हुन्छ । इच्छा पूर्ति गर्न प्रयत्नशील रहने बाह्य प्रवृत्ति र अनन्त इच्छाको कतै अन्त्य हुँदैन भन्ने ज्ञानयुक्त आन्तरिक चेतका बीचको विरोधाभाषलाई सही रूपमा बुझ्न सक्ने चिन्तनशील व्यक्ति वा पार्टी नै सान्दर्भिक ठहरिन्छन् । इतिहासको वेगमय यात्रामा केही मान्छे हिजोको परिचय त्याग्न नयाँ कथ्य रच्छन् वा पाखण्ड गर्छन, अनेकौँ तर्क र क्रियाकलाप गर्छन्, उग्र विरोधी बनेर हिजोलाई सराप्छन् पनि । इतिहासको हकवाला बन्न त चाहन्छन् तर उसलाई वर्तमानमा थेगिरहेको आदर्श र बनिरहेको चरित्र, निभाइरहेको भूमिका र संगतले प्रश्न गरिरहेको हुन्छ । तर, विगतले मान्छेसँगै जीवनयात्रा गर्छ ।

कहिलेकाहीँ आन्दोलनको मूल मर्म थेग्न नसके पनि, नायक खलनायकमा फेरिए पनि, इतिहास व्यवस्थापक भाष्यले बीभत्स चित्रण गरे पनि आन्दोलनले सामाजिक परिवर्तनमा गरेको हस्तक्षेप र इतिहासमा राजनीतिको क्रमभङ्गताको छाप भने मेट्न सक्दैन । गौरवताको हकदार बन्न, इतिहासलाई स्यालुट गर्न वर्तमानको भूमिकाले मात्र औचित्य सावित गर्छ । शान्ति प्रक्रियामा आउँदा माओवादीसँगै कुनै रोडम्याप थिएन । शिलापत्रबाट

२०८० चैत्र २६, सोमबार प्रकाशित 1 Minute 101 Views

ताजा समाचार