२०८१ बैशाख २५ मंगलवार

पाथीभरा मन्दिरमा केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली

देशकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली निकालिएको छ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिवार सदरमुकाम फुङलिङमा निकालिएको र्‍यालीमा सयौँ सङ्ख्यामा जिल्लावासीको सहभागिता रहेको थियो।

‘वृहत् नागरिक सद्भाव र्‍याली’ लेखिएको ब्यानर सहितको उक्त र्‍यालीमा नौमती बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो। र्‍यालीमा उपस्थित स्थानीयले केबलकार बने जिल्लाको विकासमा फड्को मार्ने प्रतिक्रिया दिएका थिए।

र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा केवल कार निर्माणले ठुलो टेवा पुर्‍याउने हुँदा यो कार्यमा सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन्।

यसै गरी, युमा साम्यो अभियन्ता पदमचेञ्जी मावोले ताप्लेजुङ जिल्लाको विकास, समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केवल कार बन्नुपर्ने बताए। यस्तै, कार्यक्रममा सहभागी महिला अगुवा मिना गुरुङले केबलकार निर्माणप्रति भ्रम सृजना गरेर विकास नरोक्न सबैलाई आग्रह गरिन्।

२०८० चैत्र २५, आईतवार प्रकाशित 0 Minutes 80 Views

ताजा समाचार