२०८१ जेष्ठ ९ बुधबार

चतराधाममा एकमहिने महाकुम्भ मेलाको तयारी पूरा

सुन्दरहरैँचा ।  सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीमा आयोजना हुने लागेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको तयारी पूरा भएको छ ।  धार्मिकस्थल चतराधाममा यही चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने सो महाकुम्भ मेलामा एक करोडभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएकाले उनीहरुको व्यवस्थापन र सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ मेला मूल आयोजक समितिले जनाएको छ ।

धार्मिक परम्परा तथा तीर्थाटनका हिसाबले महत्वपूर्ण रहेको सो महाकुम्भ मेलामा धेरैजसो नेपाल र भारतका भक्तजन सहभागी हुने भएका छन् । आध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिएको सुनसरी बराहक्षेत्रको प्राचीन हरिद्वारा चतराधाममा हरेक १२ वर्षमा एकमहिने पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ ।

पहिले भारतमा यो कुम्भमेला लाग्दै आएकामा नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको पहल र परिकल्पनामा विसं २०५९ देखि नेपालमै यो सुरु भएको हो । पुराणमा उल्लेख भएअनुसारको स्थान चतराधाममा हरेक १२ वर्षमा यो महाकुम्भ मेलाको आयोजना हुने गरेको छ ।

जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले कुम्भ मेलाबाट नेपाल र नेपालीबीचको एकता तथा धार्मिक सद्भावको विकास एवं अभिवृद्धि हुने हुँदा देश–विदेशबाट कुम्भमेलाको दर्शनका लागि चतरा आउने भएकाले पनि यसको महत्व बढ्दै गएको उल्लेख गरे । हिन्दू वैदिक सनातन धर्ममा अति पवित्र र पुण्यभूमिका रुपमा उल्लेख भएको यस चतराधाममा आयोजित यस महाकुम्भमा सहभागी भएर अधिक पुण्य कमाउन स्वदेश तथा विदेशका सबै नागरिकलाई उनले आह्वान पनि गरे ।

कुम्भमेलामा कोटिहोम, वेद पुराण पाठपरायण, आफ्ना इष्टदेवताहरुको पूजन तथा यजन गर्ने, निराहार बसी ब्रत गर्ने र महाकुम्भवमा स्नान गर्ने आदि गरिन्छ । यस महान अनुष्ठान एवं मेलामा स्वदेश तथा विदेशका जगद्गुरु, शङ्कराचार्य, धर्माचार्यको सहभागिता र उनीहरुको प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनलगायत  महास्नान हुने गर्दछ ।

बाह्रकुम्भमध्ये नेपाललगायत भारतका प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा कुम्भमेला लाग्ने गर्दछ । यसले हाम्रो देशमा छायाँमा पर्दै गएको धर्म, संस्कार र संस्कृतिको पुनःउत्थान गरेको छ भन्छन् जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य ।

अघि समुद्र मन्थनजस्तो साहै कठिन कार्य शुभारम्भ भयो, त्यसबेला अमृतको सट्टा हलाहल विष निस्कियो । त्यस्तो बिघ्न बाधा आउँदा पनि त्यसबाट पछि नहटी डटिरहँदा कार्य सफल भई अमृतको घडा उत्पत्ति भएपछि त्यही अमृत सही व्यक्ति र क्षेत्रमा सर्वप्रथम स्थापित भएको आधारमा चताराधाममा महाकुम्भ महोत्सवको आयोजना गर्ने गरिएकाले यसको धेरै ठूलो धार्मिक एवं शास्त्रीय विधि र मान्यता रहेको जगद्गुरु देवाचार्य बताउँछन् ।

नेपालको वैदिक सनातन धर्मको संरक्षण र सम्बद्र्धनका साथै नेपाल र नेपालीको छुट्टै पहिचान कायम गर्न र नेपालका पवित्र तीर्थस्थलहरुको थप प्रचारप्रसार गरी तिनको उजागर गर्न यस महाकुम्भ मेलाको ठूलो महत्व रहेको उाको भनाई छ । त्यसैले १२ बर्षमा मात्र आयोजना हुने यस महान अभियान तथा अनुष्ठनमा सहभागी भई पुण्य कमाउन उनले सबैसँग आग्रह गरे ।

यहाँ प्रत्येक ६ वर्षमा कुम्भमेला र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । नेपालमा प्रथम पिण्डेश्वर कुम्भमेला महोत्सवका रूपमा जगदगुरु देवाचार्यको परिकल्पना र सक्रियतामा २०५९ साल चैत ६ गतेदेखि एक महिनासम्म सञ्चालन भएको थियो । त्यसयता चताराधाममा प्रत्येक छ बर्षमा कुम्भ मेला र १२ वर्षमा महाकुम्भ मेलाको आयोजना हुने गरेको छ ।

यस मेलालाई भव्यताका साथ सम्पन्न गर्न बराहक्षेत्र नगरपालिका सक्रिय रहेको छ । यस धार्मिक मेलाका हरेक क्रियाकलापमा बराहक्षेत्र नपा गम्भीरतापूर्वक लागेको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले जानकारी दिए ।

मेलाका लागि सरसफाइ, पन्डालको निर्माण, प्रचारप्रसार, विद्युत् तथा सञ्चार सुविधा, शान्तिसुरक्षा तथा विपद् जोखिम न्यूनीकरण तयारीहरु भएका उनले जानकारी दिए । मेला अवधिभर चतरामा मदिरा तथा मासुजन्य पदार्थको बिक्रीवितरण निषेध गरिएको पनि नगरप्रमुख कार्कीले जानकारी दिए । रासस

२०८० चैत्र २३, शुक्रबार प्रकाशित 0 Minutes 136 Views

ताजा समाचार