२०८१ बैशाख २३ आईतवार

मिर्गौलापीडित अर्जुनधाराकी केशवतीको दुःखः न खाने बस्ने व्यवस्था, न उपचार खर्च नै

श्रीमानले छोडेपनि झापा अर्जुनधारा ५ की केशवती राजवंशीले हरेश खाइनन् । आफू र आफ्नी छोरीको भविष्यका लागि सङ्घर्ष गर्न उनी दुबई गइन् । तर, भाग्यले साथ दिएन । ३० वर्षकै उमेरमा केशवतीको दुवै मिर्गौला बिग्रिएपछि उनको सपना चकनाचुर भयो । अहिले उनीसँग न खाने बस्ने व्यवस्था छ न उपचार खर्च । माइतमा आश्रय लिइरहेकी केशवती अहिले ठुलो समस्याबाट गुज्रिरहेकी छन्

उनी तीन वर्ष अगाडि दुबई गएकी थिइन् । रेस्टुरेन्टमा काम पाएकी उनको कमाई राम्रै थियो । त्यही आम्दानीले उनले आफ्नो खर्चसँगै छोरीको पालनपोषण र पढाउने काम गर्दै आएकी थिइन् । तर, तीन महिनाअघि दुबईमै रहँदा उनलाई मिर्गौलाको समस्या देखियो । अहिले बिर्तामोडको मनमोहन अस्पतालमा उनले डाइलाइसिस गराइरहेकी छन् । विदेशबाट कमाएको करिब पाँच लाख उनले नोबेल , बीएण्डसी , मनमोहन अस्पतालमा खर्च गरिसकेकी छन् । थप र निरन्तर उपचारका लागि उनलाई समस्या भएको हो । ‘म बाँच्न चाहन्छु , मलाई सबैले सहयोग गरेर बचाइदिनु पर्‍यो ’ उनले अपिल गरेकी छन् । मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिरहेकी केशवतीले त्यसका लागि सहयोग गरिदिन अपिल गरेकी हुन् ।

केशवतीको दुःख देखेर अर्जुनधारा ५ का स्थानीयले केशवती राजवंशी बचाउ अभियान सुरु गरेका छन् । ताराप्रसाद बरालको संयोजकत्वमा २७ सदस्यीय समिति गठन गरी आर्थिक सङ्कलन सुरु गरिएको हो । गठन भएकै दिन आर्थिक सङ्कलन सुरु भइसकेको छ । गणेशबहादुर कार्की एक हजार , बुधकुमार राजवंशी एक हजार , झमान गिरी एक हजार , लीलाराज सन्जेल एक हजार , विनोदकुमार बस्नेत एक हजार , गोपालप्रसाद पोखरेल पाँच सय , लक्ष्मी न्यौपाने सरूँ पाँच सय र रामबहादुर कार्कीले पाँच सय रुपैयाँ सहयोग गरेका छन् । समस्यामा परेकी केशवतीलाई बचाउन आफूहरूले सञ्चालन गरेको अभियानलाई सहयोग गरिदिन संयोजक बरालले आग्रह गरेका छन् । उनले सहयोग गर्न चाहने मनकारी सहयोगीहरूलाई पीडित केशवती राजवंशीको नेपाल बैङ्क लिमिटेडको बिर्तामोड शाखामा रहेको खाता नं. ०८८१०८०७६४६५७७०००००१ मा सहयोग गरिदिन आग्रह गरेका हुन् । केशवतीको बारेमा थप बुझ्न परेमा ९८४२६९९८७४ र ९७०६११७९८७ मा फोन गर्न सकिने बरालले बताए ।

२०८० चैत्र २३, शुक्रबार प्रकाशित 0 Minutes 93 Views

ताजा समाचार