२०८१ बैशाख २२ शनिबार

अटो चालकको लापरवाहीले दुर्घटना बढ्यो

बिर्तामोड । बिर्तामोड- ३ स्थित बिर्ताबजारमा दुई दिनअघि अटो दुर्घटना हुँदा बिर्तामोड ९ बस्ने ३६ वर्षीय भीमबहादुर तामाङको मृत्यु भयो । त्यस्तै ३१ वर्षीया सामना लिम्बू गम्भीर घाइते भइन् ।

बिर्तामोड नगरपालिका अगाडि तीव्र गतिका कारण अटो अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । बिर्तामोड बजार क्षेत्रमा अटो रिक्साको सङ्ख्या बढेसँगै दुर्घटना पनि बढ्न थालेको हो ।

अटोका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत समस्या थपिएको छ । यसैलाई मध्यनजर गर्दै बिहीबार बिर्ताबजारमा दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम तथा अटो चालकका समस्याका बारेमा अन्तरक्रिया गरिएको छ ।
बजारमा अटो सञ्चालनमा आएसँगै सर्वसाधारणको दैनिकी सहज भए पनि दुर्घटनाको जोखिम भने अत्यधिक देखिएको बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बुढाथोकीले लापरबाही तरिकाले तीव्र गतिमा अटो चलाउँदा दुर्घटना भए चालकसहित यात्रुलाई क्षति हुने हुँदा चालकलाई सचेत हुन आग्रह गरे । उनले दैनिक जीवन गुजारा गर्न अटो चलाउने चालक दुर्घटनामा परे आर्थिक भारसङै शारीरिक अङ्गभङ्ग हुने तथा मृत्यु समेत हुने हुँदा सचेत बन्नु पर्ने धारणा राखे ।

पूर्वेली मजदुर यातायात प्रा.लिई.को आयोजना तथा बिर्तामोड ३ नं वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा अटो रिक्सा चालकहरूले लापरबाहीका साथ अटो चलाउने, जथाभाबी बाटो काट्ने र बीच सडकमै मोड्नेजस्ता कारणले गर्दा सडक दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक पूर्ण गौतमले बताए ।

कार्यक्रममा ट्राफिक सचेतना प्रदान गर्दै उनले चालकलाई ट्राफिक नियम पालना गरी संयमित भएर अटो चलाउन आग्रह गरे ।सडक पहुँचको तुलनामा अधिक सङ्ख्यामा अटो रहेकाले ट्राफिक व्यवस्थापनमा समेत कठिनाइ भएको उनले बताए ।

पूर्वेली यातायात मजदुर प्रा.लिई.का अध्यक्ष हरि बाँस्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष बुढाथोकीसहित बिराम बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक रुद्र सिटौला, हिमालय इन्स्योरेन्सका सुशील थापाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्थानीय युवा कोसिस घिमिरे, बिर्ता बजार प्रहरी चौकीका असई राजेश पौडेल, सभामुख देवराज घिमिरेका सचिवालय सदस्य हिमाल मैनालीलगायतको आतिथ्य रहेको थियो ।

पूर्वेली यातायातका सचिव गणेश कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत पूर्वेली यातायातका सल्लाहकार धनसिंह राजवंशीले गरेका थिए । कार्यक्रममा पूर्वेलीमा आबद्ध चालकलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा १ सय बढी चालक सहभागी थिए ।

२०८० चैत्र २३, शुक्रबार प्रकाशित 1 Minute 110 Views

ताजा समाचार