२०८३ जेष्ठ २८ बिहीबार

प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउन माग

भद्रपुर । भद्रपुर नगरपालिकाले प्रादेशिक अस्पताल (मेची अस्पताल) लाई शिक्षण अस्पताल बनाउन कोशी सरकारसमक्ष माग गरेको छ ।

प्रादेशिक अस्पतालको स्थलगत निरीक्षण भ्रमणमा आएका कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारलाई भेटेर भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले ज्ञापन पत्र बुझाउँदै शिक्षण अस्पतालको रुपमा स्थापना गर्न माग गरेका हुन् ।

भद्रपुर-८ स्थित प्रदेश सरकार मातहत सञ्चालनमा रहेको यो एक मात्र प्रादेशिक अस्पताल हो । यो अस्पताल यस क्षेत्रको सबैभन्दा पुरानो र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरी विश्वसनीयता कायम गर्दै आएको छ । बिरामीको चाप संख्या दिनानुदिन बढ्दै गएको छ । यस अस्पतालमा ताप्लेजुङ, पाँचथर, इलाम लगायत भारतबाट समेत बिरामीहरू सेवा लिन आउने गरेका छन् ।

गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको मौलिक हकको प्रत्याभूति गर्न समेत यस प्रादेशिक अस्पतालमा स्वास्थ्य सेवा सुविधा, जनशक्ति थप गर्ने, भवनको व्यवस्था गर्ने कार्य स्वास्थ्य मन्त्रालयबाट हुन अत्यावश्यक देखिएको मागपत्रमा उल्लेख छ ।

स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच बनाउन र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न कोशी प्रदेशकै एकमात्र अस्पतालको रुपमा रहेको प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा स्थापना गर्न जोडदार माग गरिएको हो ।

साथै, यस अस्पतालको नाममा विगतको पहिचानको रुपमा रहेको मेची अस्पताल नाम समेत झल्किने गरी नगरपालिकाको १३ औं नगर सभाबाट निणर्य भएकाले यस अस्पताललाई प्रादेशिक शिक्षण रुपमा सञ्चालन गर्न व्यवस्था मिलाइदिन ज्ञापन पत्रमा उल्लेख पनि गरिएको छ ।

२०८० चैत्र २२, बिहीबार प्रकाशित 1 Minute 286 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।