२०८२ बैशाख २७ शनिबार

झापाका ८ पालिकामा छैन दमकल

झापा । आगलागीजन्य विपदका अधिक घटना बेहोरेको कोशी प्रदेशका ८१ स्थानीय तहहरुसँग अग्नी नियन्त्रणका लागि न्यूनतम उपकरणको अभाव देखिएको छ ।

अग्नी नियन्त्रणका लागि आवश्यक पर्ने वारुण यन्त्र (दमकल) कोशी प्रदेशका ५६ स्थानीय तहसँग मात्र छन् । वारुण यन्त्र भएका ५६ स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा भएका दमकलहरु सञ्चालनमा छैनन् । यतिबेला दमकल भएका ५६ मध्ये ४९ वटा तहले मात्र नियमित दमकल प्रयोग गरिरहेको छ । कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये ८१ वटा स्थानीय तहहरुसँग वारुण यन्त्र अभाव छ । उनीहरु अग्नी नियन्त्रणका लागि छिमेकी स्थानीय तहमा निर्भर छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाका १५ पालिका मध्ये ७ वटासँग मात्रै दमकल छन् । दमक नगरपालिकामा ३ वटा दमकल छन् भने भद्रपुरमा दुइटा, मेचीनगरमा दुइटा, गौरादह, बिर्तामोड र कमल गाउँपालिकामा एक-एक वटा छन् ।

यस्तै, इलामको सूर्योदय, इलाम र देउमाई नगरपालिकासँग दमकल छन् । इलाम नगरपालिकासँग दुईवटा दमकल रहेकोमा एउटा सञ्चालनमा छैन । जिल्ला प्रहरी कार्यालय पाँचथरले दुईवटा दमकल सञ्चालन गरिरहेको छ । ताप्लेजुङको सदरमुकाममा रहेको फुङलिङ नगरपालिकासँग पनि एउटा दमकल छ ।

मोरङका ७ स्थानीय तहसँग १० वटा दमकल रहेका छन् । ती १० वटामध्ये तीन वटा विराटनगर महानगरपालिकासँग छ । सुनसरीका ६ पालिकासँग १० वटा दमकल छन् । सबैभन्दा बढी धरान उपमहानगरपालिकासँग ४ वटा दमकल रहेको र इनरुवा नगरपालिकासँग दुईवटा दमकल भए पनि बिग्रिएका कारण दुइटै दमकल नचल्ने अवस्थाका छन् ।

तेह्रथुमको लालीगुराँस, म्याङ्लुङ नगरपालिका र आठराई गाउँपालिकाले दमकलको व्यवस्थापन गरेका छन् । भोजपुर नगरपालिका वडा नम्बर ७ र भोजपुरकै हतुवागढी गापा १ मा पनि दमकल रहेका छन् । उदयपुरका चार, सोलुखुम्बुको एक, खोटाङका दुई र ओखलढुंगाको सिद्धिचरण नगरपालिकासँग दमकल रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

वारुणयन्त्र भएपनि अधिकांश स्थानीय तहसँग दक्ष अग्नी नियन्त्रकहरुको अभाव छ । छोटो र आधारभूत तालिमकै भरमा आगो निभाउने जोखिमपूणर् काम गर्नुपर्ने बाध्यता छ । दमकलमा दक्ष जनशक्ति नभएका कारण आगलागी नियन्त्रणमा समस्या हुने गरेको प्रहरीको भनाइ छ । स्थानीय तहरूले वारुणयन्त्रका लागि भनेर जनशक्ति नियुक्त गरेपनि उनीहरुलाई प्रभावकारी नियन्त्रण सम्बन्धी व्यावसायिक तालिम खाँचो रहेको प्रहरीको अनुभव छ ।

‘बरुणयन्त्रका लागि एकदम दक्ष जनशक्ति चाहिन्छ’, कोशी प्रदेश प्रहरी कार्यालयका एसपी दिपक पोख्रेलले भने, ‘आगलागी भएको स्थानमा कसरी काम गर्ने भन्ने राम्रो जानकारी भएकाले मात्रै चाँडै नियन्त्रण गर्न सक्छन् ।’ स्थानीयहरूले राखेका कामदार केही दिन तालिम लिएका भरमा मात्रै चलिरहेको उनले बताए । स्थानीय तहरूले प्रहरीलाई बरुणयन्त्र दिएर ती कर्मचारी प्रहरीमार्फत चल्ने बनाए आगलागी नियन्त्रणमा सहज हुने उनको भनाइ छ ।

कोशी प्रदेशमा फागुनयता आगलागीको घटना अचाक्ली प्रहरीको तथ्यांकले देखाएको छ । आगलागीका कारण सयौं मानिस घरबारविहीन बनेका छन् भने करोडौंको क्षति भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन र चैत्र महिनाको ७ गतेसम्म आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ । फागुनमा १० जनाको र चैत्रमा ३ जनाको आगलागीका कारण मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

चैत्र ७ गते सम्ममा १०१ जना घाइते भएका छन् । चैत्रमा मात्रै १७५ चौपायाको मृत्यु भएको छ भने फागुनमा ५ हजार ६४७ चौपायाको मृत्यु भएको थियो । १ महिना ७ दिनमा ५१० वटा घरमा क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ७० करोड ९९ लाख १६ सय रुपैयाँ बराबरको क्षति भएको एसपी पोख्रेलले बताए । उनका अनुसार तीन आर्थिक वर्षभन्दा बढी धनजनको क्षति भने चालु आवको चैत्र ७ गतेसम्म भएको प्रहरीको तथ्यांक रहेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा १५ जनाको मृत्यु भएको थियो भने आव २०७९/८० मा पनि १५ जनाको ज्यान गएको थियो । आर्थिक वर्ष ०७८/०७९ मा ७७ करोड ५९ लाख ३ हजार ४९६ रुपैयाँको क्षति भएको प्रहरीको तथ्यांकमा रहेको छ भने आर्थिक वर्ष २०७९/०८ मा भने १ अर्ब १३ करोड ८१ लाख ८८ हजार ७७४ रुपैयाँ क्षति भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

२०८० चैत्र २२, बिहीबार प्रकाशित 1 Minute 200 Views

ताजा समाचार