२०८१ जेष्ठ ९ बुधबार

पोस्टमार्टमबाट के कुरा पत्ता लाग्छ ?

हत्या वा कुनै शंकास्पद मृत्यु भएमा सो मृत्युको कारण के हुनसक्छ भनी पत्ता लगाउन पोस्टमार्टम गरिन्छ । पोस्टमार्टम एक शल्यपरीक्षण हो, जसमा मृत शरीरको भित्री र बाहिरी अंगहरुको जाँच गरिन्छ ।

फौजदारी कार्यविधि (संहिता) ऐन २०१७ को दफा २० मा नेपालको भूभागभित्र दुर्घटना, आत्महत्या वा शंकास्पद मृत्यु भएमा सरकारले तिर्ने सम्पूर्ण खर्चसहित मृतकको पोस्टमार्टम गर्नुपर्ने व्यवस्था नेपालको संविधानमा उल्लेख छ । आकस्मिक र अप्राकृतिक मृत्युको अनुसन्धानका लागि जिम्मेवार कानुनी अधिकारीहरूको अनुरोधमा पोस्टमार्टम गरिन्छ ।

स्वभाविक रूपमा मृत्यु भएको ठाउँमा पोस्टमार्टम गर्नु आवश्यक हुँदैन । तर शंकास्पद अवस्थामा मृत्यु भएको भए पोस्टमार्टम गर्नुपर्छ । पोस्टमार्टम गर्दा मुख्यता पाँच परीक्षण गरिन्छ । बाहिरी परीक्षण, एक्स–रे, शरीरको तरल पदार्थको परीक्षण,  मस्तिष्क परीक्षण,  आन्तरिक परीक्षण । यस्तोमा पोस्टमार्टम मार्फत मुख्यतया तीन कुरा पत्ता लाग्छ ।

मृत्युको कारण

सामान्यतया मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गरिन्छ । जसका लागि शवको बाहिरी र भित्री परीक्षण गरिन्छ । बाहिरी जाँच गर्दा पहिले उसले लगाएको लुगाको बारेमा वर्णन गरिन्छ ।

त्यसपछि लुगा खोलेर जनरल जाँच जस्तै लासको उचाइ, तौल, चोट, मृत्युपछि हुने परिवर्तन, हातखुट्टाको अवस्था, नाकमुखबाट केही तरल पदार्थ आएको छ कि लगायतका कुरा नोट गरिन्छ । त्यसपछि क्रमशः छाती, पेट, टाउको खोलिन्छ र बाहिर निकालेर भित्री अङ्गहरूको जाँच गरिन्छ । केही चोटपटक लागेको  वा रोग लागेको छ कि भनेर जाँच गरेपछि मृत्यु हुनुको कारण पत्ता लगाइन्छ ।

दुर्घटना भएको हो भने मृतकको शरीरमा लागेको चोटपटक देखिन्छ,  यदि झुण्डिएर मरेको हो भने मृतक झुण्डिंदा देखिएका दाग अनि झुण्डिएको डोरी र अवस्थाको परीक्षण गरिन्छ । जस्तो गोली लागेको केसमा भित्री चोटभन्दा पनि बाहिरको घाउ देखिन्छ ।

यसरी पोस्टमार्टम गर्दा कुनै कारण पत्ता लागेन भने विष सेवनबाट पनि मृत्यु हुनसक्छ । विष सेवन गरेको अवस्थामा भिसेरा र रगत जाँच गराइन्छ । भिसेरा भन्नाले कलेजोको टुक्रा, दुईवटा मिर्गौलाको आधा–आधा भाग, पेट र पेटमा भएको वस्तु संकलन गरेर जाँच गरिन्छ । यसबाट विष सेवनबाट मृत्यु भएको हो कि होइन भन्ने पत्ता लाग्छ ।

समग्रमा मान्छेको मृत्यु के कारणले भयो भन्ने तथ्य पत्ता लगाउनका लागि शरीरको बाहिरी चोट, भित्री चोट अनि विधिविज्ञान प्रयोगशालाबाट आएको रिपोर्ट हेरेर मानिसको आकस्मिक मृत्यु कसरी भयो भने थाहा पाउन सकिन्छ ।

मृतकको पहिचान

कुनै मृतकको पहिचान खुलेको छैन भने पहिचान खुलाउन पनि पोस्टमार्टम गर्नुपर्ने हुन्छ । जस्तो उदाहरणका लागि कतै प्लेन दुर्घटना भयो र एकैपटक धेरै जनाको मृत्यु भयो भने त्यहाँ मृतकको पहिचान गर्न गाह्रो हुन्छ । सबैभन्दा पहिले त मृतकको पहिचान खुलाउन उसको उचाइ, तौल, शरीरमा कुनै दाग, ट्याटु छ भने त्यसको आधारमा पत्ता लगाइन्छ । तर यसरी पत्ता नलागेमा मृतकको पहिचान खुलाउने तीन आधार हुन्छ । डीएनए परीक्षण, फिंगरप्रिन्ट र डेन्टल एक्जामिनेसन ।

उदाहरणका लागि मृतकको फिंगरप्रिन्ट उसको नागरिकता वा परिचयपत्रमा मिलाएर उसको पहिचान खुल्ने भयो । यदि कोही व्यक्ति हराएको जाहेरी परेको छ र त्यस्तै हुलियाको व्यक्ति मृत फेला परेमा त्यो हराएको व्यक्तिको शव हो कि होइन भनेर पत्ता लगाउन मृतक र आमाबुबाको डीएनए म्याच गरिन्छ । म्याच भए मृतकको पहिचान खुल्ने भयो ।

अनुसन्धानमा सहयोग पुग्ने सबुत प्रमाण

सम्भावित जबरजस्ती करणीको केस छ भने भजाइनल स्वाब संकलन गरियो भने पीडितको भजाइनल जाँचबाट पीडकको डीएनए स्याम्पल आउन सक्छ । यसबाट करणी भएको हो कि होइन भन्ने कुरा पत्ता लाग्छ । यस्तै अन्य सबुत प्रमाणको संकलन गर्न पनि पोस्टमार्टम सहयोगी हुन्छ ।

मृत्यु भएको कति समयभित्र पोस्टमार्टम गर्नुपर्छ ?

मृत्यु भएपछि सकेसम्म छिटो पोस्टमार्टम गर्नुपर्ने हुन्छ । किनकि व्यक्तिको मृत्यु भएको २४ घण्टापछि शरीरमा विभिन्न परिवर्तन हुन थाल्छन्, शरीर सुन्निन थाल्छ । त्यसैले मृत्युको वास्तविक कारण पत्ता लगाउन समयमै पोस्टमार्टम गर्नुपर्छ । मृत्युको कारण पत्ता लगाइसकेपछि फेरि सम्पूर्ण अंगलाई जोडेर परिवारलाई शव बुझाइन्छ । अनलाइन खबरबाट

२०८० चैत्र २१, बुधबार प्रकाशित 0 Minutes 102 Views

ताजा समाचार