२०८१ बैशाख १४ शुक्रबार

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

झापा । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पक्राउ नपरेको विषयमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर सोधपुछ गरेको छ। सांसद कोइरी सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा फरार अभियुक्त हुन्।

प्रहरी प्रधान कार्यालयको नाममा गृह मन्त्रालयबाट लिखित पत्र पठाइएको गृहमन्त्री रवि लामिछानेका प्रेस सल्लाहकार नवराज पाण्डेले जानकारी दिए।

‘सांसद कोइरी पक्राउ नपरेको विषयमा गृह मन्त्रालयबाट प्रहरी प्रधान कार्यालयमा ध्यानाकर्षण गराउँदै पत्र पठाइको छ,’ पाण्डेले भने।

सांसद कोइरी पक्राउ नपरेको विषयमा प्रतिनिधि सभा बैठकमा समेत नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेमाथि माथि प्रश्न उठाएका थिए। गृहमन्त्री लामिछानेले विधि र प्रक्रिया पालना गर्ने जवाफ दिएका थिए।

कोइरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भए पनि सभामुख निर्वाचनको दिन अनुपस्थित भएका थिए। कोइरी महोत्तरी १ बाट निर्वाचित सांसद हुन्।

२०७२ साल भदौ २५ गते मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। उक्त घटनामा जिल्ला अदालत महोत्तरीले कोइरीलाई एक लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। तर जनकपुर उच्च अदालतले २०७७ मंसिरमा कोइरीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। तर कोइरी अझै पक्राउ परेका छैनन्।

२०७९ माघ ६, शुक्रबार प्रकाशित 1 Minute 321 Views

ताजा समाचार