२०८१ बैशाख २५ मंगलवार

दोस्रो जेसीज नकआउट फुटबल : काँकरभिट्टा एफटीसी अन्तिम चारमा

बाहुनडाँगी । दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा किलारामजोत एकलब्य युवा संघ भारतमाथि सानदार जीत हासिल गर्दै काँकरभिट्टा एफटीसीले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा किरामजोत एकलब्य युवा संघ भारतलाई ५-० को सहज जीत निकाल्दै काँकरभिट्टा फुटबल टे्रनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको हो ।

खेल शुरु भएको दुई मिनेट बित्न नपाउँदै काँकरभिट्टाका लागि मनकुमार लिम्बूले टिमलाई अग्रता दिलाए । २२ औँ मिनेटमा काँकरभिट्टाका खमिर गिल्सन कन्दङ्वाले टिमको अग्रता दोब्बर पारेका थिए । आशिष चापागाईको पासलाई सदुपयोग गर्दै खमिरले गोललाई जाली चुमाएका थिए । ३२ औँ मिनेटमा उदिप चेम्जोङको पासमा आशिष चापागाईले व्यक्तिगत एक गोल गरी टिमलाई ३-० को स्थितिमा पुर्‍याएका थिए । ३५ आँै मिनेटमा मनकुमार लिम्बूले व्यक्तिगत दोश्रो गोल गर्दा पहिलो हाफमा काँकरभिट्टा ४-० को स्थितिमा रहेको थियो ।

त्यसैगरी, आशिष चापागाईले ६८ आँै मिनेटमा गोल गर्दै जीत सुनिश्चित गराए । चापागाईले वान भर्सेस वानमा गरेको पहिलो प्रहार विपक्षी गोलरक्षक राजिव सिंहले बचाउँदा रिबाउन्ड भएको बललाई फ्लिक गर्दै गोल गरे । तुलनात्मक रुपमा किलारामजोत भन्दा काँकरभिट्टाले गोलको अवसर बढी सिर्जना गरेको थियो ।

काँकरभिट्टाको गोलरक्षक र डिफेन्स लाइनलाई चिर्न नसक्दा किरामजोतलाई गोलको खडेरी लागेको थियो भने काँकरभिट्टाले पाएको अधिकांश मौकालाई सदुपयोग गर्दै गोल गर्‍यो । १६ औँ मिनेटमा सदिस राईको प्रहार सेकेन्ड बारमा लाग्दै फर्कियो । २७ औँ मिनेटमा किलारामजोतका लागि पासाङ दोर्जे तामाङको प्रहार विपक्षी गोलरक्षक देवान भुजेलले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको म्यान अफ दी म्याच आशिष चापागाई घोषित भए । उनलाई नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी कार्गिल सहिद परिवार सदस्य भाई नेत्रराज थापा क्षेत्रीले वितरण गरे ।

बाहुनडाँगी जेसीजको आयोजनामा जारी प्रतियोगिता चैत २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ । भोलिको पहिलो सेमिफाइनल खेल बाहुनडाँगी युवा क्लब र ब्रदर्स युनाइटेड चन्द्रगढीबीच हुने आयोजकले जनाएको छ ।

२०८० चैत्र १८, आईतवार प्रकाशित 1 Minute 119 Views

ताजा समाचार