२०८१ बैशाख २५ मंगलवार

महिला क्रिकेटकी ‘रुबि’

लगातार १२ वर्ष नेपालको नेतृत्व । सन् २००९ देखियता नेपालको जर्सीमा अब्बल प्रदर्शन । रुबिना क्षेत्री बेल्बासे नेपाली महिला क्रिकेटकी सफल अलराउन्डर, अनि कप्तान हुन् । पाँच बलमा पाँचै विकेट लिने दुर्लभ विश्व कीर्तिमान बनाउने र पहिलो शतक हान्ने नेपाली महिला खेलाडी ।

उनलाई छाडेर नेपाली महिला क्रिकेट पूर्ण हुन सक्दैन । महिला क्रिकेट टीमका प्रशिक्षक मनोज कटुवाल भन्छन्, ‘क्रिकेट खेल्न चाहने मात्रै होइन, घरबाट बाहिर निस्किन चाहने हरेक महिलाका लागि रुबिना प्रेरणा हुन् ।’

 २०५० सालमा झापा काकरभिट्टामा जन्मिएकी रुबिना ८–९ महिनाको हुँदा नै बिरामी बुबाले संसार छोडे । उनले जीवनमा बुबाको औंला समाएर ताते गर्दै पाइला सार्न पाइनन् । बुबासँगको कुनै याद छैन, तस्बिर मात्रै देखेकी छिन् ।

रुबिना र दाइ पवनको उमेर अन्तर दुई वर्ष मात्रै छ । दुवै दुधे बच्चालाई आमा मुनाले दुःख गरेर हुर्काइन् । आर्थिक अवस्था कमजोर भए पनि दुवैलाई बोर्डिङमा पढाउने आँट गरिन् । त्यो मुनाका लागि खुकुरीको धारमा हिंड्नु बराबर थियो । कतिसम्म भने केही सस्तो पर्ने आशामा कापी, कलम किन्न समेत हिंडेरै उनी सीमापार पुग्थिन् । तर उनले छोराछोरीलाई राम्रो शिक्षा दिने हिम्मत हारिनन् ।

पुरानो भन्सार (हाल सुनगाभा टोल) नजिक चौर थियो । त्यहाँ दाइहरू सधैं टेनिस बलले क्रिकेट खेल्थे । रुबिना पनि दाइ पवनसँग जान्थिन् । सानैदेखि बलिङ गति थियो । सन् २००६/७ तिर टेलिभिजनमा क्रिकेट हेर्न पाइन् । सचिन तेन्दुलकर र रिकी पोन्टिङको ब्याटबाट निकै प्रभावित भइन् ।

रुबिनाले १२–१३ वर्षकै उमेरमा अन्तर स्कुल प्रतियोगिता खेलिन् । पाँचौं राष्ट्रिय प्रतियोगितामा उनी जिल्ला र क्षेत्रको टोलीमा परिन् । त्यो समय नेपालगञ्ज महिला क्रिकेट सबैभन्दा बलियो मानिन्थ्यो । नेपालका पूर्वकप्तान लेखबहादुर क्षेत्रीले महिला टोली गठनको सुरुवात त्यहींबाट गरेका थिए ।

नेपालगञ्ज विरुद्ध नै ६ विकेट लिएपछि पहिलो पटक सन् २००९ मा नेपालको टोलीमा परिन् रुबिना । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मलेशिया जाने भइन् । तर रुबिनाको पासपोर्ट (राहदानी) बन्न झन्झट भयो । उनको बुबाको नागरिकता थिएन ।

एक हप्तासम्म पनि पासपोर्ट नबनेपछि जिन्दगीभर क्रिकेट खेल्दिन भन्ने लागेको थियो उनलाई । तर, नाबालिकाको रूपमा राहदानी बनाएर मलेशिया जान पाइन् ।

कीर्तिमानी पाँच विकेट

रुबिनाले एसीसी वुमन्स टी–२० च्याम्पियनसिपको पहिलो खेलमा इरान विरुद्ध डेब्यू गरिन् । दोस्रो खेलमा सिंगापुर विरुद्ध चामत्कारिक प्रदर्शन गर्दै विश्व कीर्तिमान लेखाइन् ।

८० रनको सामान्य विजयी लक्ष्य पछ्याएको सिंगापुरलाई ७९ रनमा अल आउट गर्न रुबिनाले अन्तिम ओभरको अन्तिम पाँच बलमा लगातार पाँच विकेट लिएकी थिइन् । यसरी रुबिना महिला टी–२० क्रिकेटमा लगातार पाँच विकेट लिने पहिलो खेलाडी हुन् । बल आउट (बलले टम्प ताक्ने) बाट नेपाललाई जित दिलाउन सफल भइन् । त्यो समय खेल बराबर हुँदा सुपर ओभर हुँदैनथ्यो ।

सन् २०१० मा थाइल्यान्डमा सम्पन्न एसीसी यू–१९ वुमन्स च्याम्पियनसिपको फाइनलमा भुटानलाई हराउँदै नेपालले उपाधि जित्दा रुबिना टोलीकी महत्वपूर्ण सदस्य थिइन् । यसपछि क्रिकेट संघले सन् २०१२ मा रुबिनालाई कप्तान बनाउने निर्णय लियो ।

त्यो बेला रुबिना भर्खर २०/२१ वर्षकी थिइन् । अनि टिममा नेरी थापा, निरा राजोपाध्याय, ऋतु कनौजिया लगायत सिनियर खेलाडीहरू थिए । सुरुमा त उनलाई कप्तानी पाएको विश्वास नै लागेन । कप्तान बनेपछि दिदीहरूले मलाई के सोच्छन् होला भन्ने मनमा खेलिरह्यो । तर, सबको साथ पाएकी उनी २०१२ देखि २०२३ सम्म अनवरत नेपाल टिमको कप्तान रहिन् ।

यो १२ वर्षमा नेपाली क्रिकेटमा थुप्रै आरोह–अवरोह आए, रुबिनाले कहिल्यै हिम्मत हारिनन् । यसै पनि पुरुषको तुलनामा महिला क्रिकेट प्राथमिकतामा पर्न सकेको थिएन । घरेलु क्रिकेट संरचना बन्न नसकेका कारण प्रतियोगिताहरू निकै कम मात्रै हुन्थे । वर्षमा एकाध अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्थे ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०१६ अप्रिलमा नेपाल क्रिकेट संघमाथि प्रतिबन्ध लगाएपछि घरेलु क्रिकेट ठप्प जस्तै भयो । पुरुष टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिताका साथै घरेलु फ्रेन्चाइज लिग खेले पनि महिला क्रिकेट शून्य जस्तै थियो ।

भविष्यको चिन्ताले धेरै सदस्य खेल छाडेर विदेश पलायन भए अथवा कुनै पेशा/व्यवसायतिर लागे । तर रुबिनाले कहिल्यै क्रिकेट छाडिनन् । ‘धेरै पटक अब यसरी त हुँदैन, विदेश जाने कि भन्ने खालको सोच मनमा नआएको होइन’ रुबिना भन्छिन्, ‘म कप्तानले त्यस्तो सोच्ने हो भने महिला क्रिकेट खत्तम नै हुन्छ भनेर रोकिएँ ।’

रुबिना, सीता राना मगरहरूले पनि भविष्य छैन भनेर क्रिकेट छाडेको भए सायद अहिले महिला क्रिकेट निकै खस्किएको हुन्थ्यो । तर, उनीहरूले निरन्तर मिहिनेत गरे ढिलो–चाँडो प्रतिफल प्राप्त हुन्छ भनेर युवा खेलाडीहरूलाई हौसला प्रदान गरे । मिहिनेत गरेर हङकङमा फेयर ब्रेक क्रिकेट खेले ।

नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल खेलाडीको रूपमा रुबिनाले नेपाललाई धेरै राम्रो गरेको बताउँछन् । ‘महिला क्रिकेटमा यो स्तरको खेलाडी हामीले पाएका छौं’ उनले भने, ‘अरूमा भन्दा उनमा फरक किसिमको आत्मविश्वास छ ।’

यसले विस्तारै महिला क्रिकेटमा आकर्षण बढाएको छ । क्रिकेट संघले पनि पछिल्लो समय महिला क्रिकेटलाई प्राथमिकतामा राखेको छ । राष्ट्रिय प्रतियोगिताको संरचना परिवर्तन गरेको छ भने खेलाडीहरूलाई सेन्ट्रल कन्ट्याक्टमा राखेर ए ग्रेडमा पर्नेहरूलाई ५० हजार मासिक तलब दिने भएको छ ।

शतकले फेरेको हेराइ

गत कात्तिकमा क्रिकेट संघले दोस्रो पुस्ताकी इन्दु बर्मालाई महिला टिमको कप्तान बनायो, रुबिना भने टिममा सिनियर सदस्यको रूपमा छिन् । फरक भूमिका पाएसँगै रुबिनाले अर्को ऐतिहासिक कीर्तिमान बनाएकी छन् ।

यही फागुनमा मलेशियामा भएको एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्स विरुद्ध रुबिनाले शतक बनाएकी हुन् । ५९ बलको सामना गरेकी उनले १० चौका र ५ छक्काको मद्दतमा ११८ रनको अविजित शतकीय इनिङ खेलिन् ।
नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको १७ वर्ष भयो, शतक बन्न सकेको थिएन । झन् टी–२० मा शतक कठिन थियो । तर रुबिनाले यो पनि पूरा गरिन् ।

शतकपछि महिला क्रिकेटलाई हेर्ने नजरमा परिवर्तन आएको रुबिनाले देखिकी छिन् । चोक र बाटोमा होस् वा गाडीमा यात्रा गर्नेहरूले केटीहरूले पनि शतक हान्न सक्दारहेछन् भनेको सुन्दा रुबिनालाई खुसी लाग्छ ।

त्यसअघि उनले सन् २०२१ को प्रधानमन्त्री कपमा एपीएफलाई फाइनलमा हराउँदै कोशी प्रदेशलाई ऐतिहासिक उपाधि जिताएकी थिइन् । विभागीय टोली एपीएफलाई प्रदेश टोलीले हराउन सक्छन् भन्ने एउटा सन्देश पनि दिएकी थिइन् ।

सन् २०१६ मा टी–२० एशिया कप खेल्नु र २०१९ मा १३औं दक्षिण एशियाली खेलकुदमा कांस्य पदक जित्नु कप्तानका रूपमा उनका ठूला उपलब्धि मानिन्छन् । करिअरको अन्त्यतिर रहेकी उनी यो पटक पनि एशिया कप खेल्न चाहन्छिन् ।

तर फागुन ४ गते एसीसी प्रिमियर कप छनोटको सेमिफाइनलमा एशिया कपमा पुग्न निर्णायक खेलमा मलेशियासँग ४ विकेटले पराजित भएसँगै त्यो अवसर गुम्यो । मुखमै आएको एशिया कपको अवसर गुम्दा रुबिनालाई आफ्नो शतक समेत फिक्का लागेको छ ।

त्यो पीडा ठीक पार्ने औषधि अझै भेट्टाउन सकेकी छैनन् । तर क्रिकेट बाहेक अरू सोचेकी पनि छैनन् । उनी भन्छिन्, ‘मेरो शरीरमा इनर्जी हुँदासम्म नेपालको जर्सीमा खेल्ने हो । त्यो बाहेक म अरू सोच्न सक्दिनँ ।’

अनलाइन खबर-भुपेन्द्र जिसी

२०८० चैत्र १८, आईतवार प्रकाशित 1 Minute 430 Views

ताजा समाचार