२०८१ असार ४ सोमबार

सनसिटीविरुद्ध रोमाञ्चक जीतसहित चन्द्रगढी सेमिफाइनलमा

बाहुनडाँगी । सनसिटी फुटबल क्लबमाथि रोमाञ्चक जीत निकाल्दै ब्रदर्स युनाइटेड चन्द्रगढी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा सनसिटीविरुद्ध १-० को संघर्षपूणर् जीत निकाल्दै चन्द्रगढी सेमिफाइनल प्रवेश गरेको हो ।

ब्रदर्स युनाइटेड चन्द्रगढीका लागि पहिलो हाफको इञ्जुरी समयमा सञ्जिव गिरीले गरेको गोलनै निणर्ायक बन्यो । दोश्रो रोजाईमा परेका चन्द्रगढीका शक्ति राईको पासलाई सदुपयोग गर्दै सञ्जिवले गोललाई जाली चुमाउँदै टिमलाई जीततर्फ डोर्‍याएका थिए ।

सनसिटीले शुरुवातदेखिनै आक्रामक खेलेको थियो । १२ औँ मिनेटमा सनसिटीका आयुष श्रेष्ठले विपक्षी खेलाडी सबै बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन नसक्दा अग्रता लिनबाट चुकेको थियो । १३ औँ मिनेटमा चन्द्रगढीका कणर् लिम्बूले गरेको प्रिकिक पोष्ट माथिबाट बाहिरियो । चन्द्रगढीका सुरज लिम्बूले १८ औँ मिनेटमा गरेको प्रहार सेकेण्ड बार हुँदै बाहिरिएको थियो ।

त्यसैगरी, ३४ औँ मिनेटमा चन्द्रगढीका शक्ति राईको वान भर्सेस वान गरेको प्रहार गोलरक्षक सन्दिप लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफ १-० को स्थितिमा रहेको सनसिटीले दोश्रो हाफमा उत्कृष्ट मुभ बनाए पनि बल फ्रेममा राख्न नसक्दा गोल फर्काउन सकेन । सनसिटीका लागि ५१ औँ मिनेटमा विशाल तामाङले गरेको प्रहारलाई विपक्षी गोलरक्षक दिपान्सु राउतले विफल बनाइदिए । घरेलु दर्शकको पूणर् समर्थन पाएको सनसिटीका लागि ६० औँ मिनेटमा सञ्जोग मगरले प्रहार फ्रेममा रहन सकेन ।

८० औँ मिनेटमा चन्द्रगढीले पेनाल्टीमार्फत दोश्रो गोल गर्ने मौका पाएको थियो । सनसिटीका कप्तान विप्लब तामाङले चन्द्रगढीका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टी विकास थुलुङले प्रहार गरेका थिए । पेनाल्टीको सदुपयोग गर्न नसकेपछि चन्द्रगढी अग्रता दोब्बर हुन चुक्यो । सनसिटीको अधिकांश प्रहार गोलमा परिणत हुन नसकेपछि खेलमा चन्द्रगढी विजयी बन्यो । चन्द्रगढीका सञ्जीव गिरी म्यान अफ दी म्याच घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँ, ट्रफी प्राप्त गरे ।

बाहुनडाँगी जेसीजको आयोजनामा जारी प्रतियोगिता चैत २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ । भोलिको अन्तिम क्वाटरफाइनल खेल काँकरभिट्टा फुटबल टे्रनिङ सेन्टर र किलारामजोत एकलब्य युवा संघ भारतबीच हुने आयोजकले जनाएको छ ।

२०८० चैत्र १७, शनिबार प्रकाशित 1 Minute 457 Views

ताजा समाचार