२०८१ बैशाख १५ शनिबार

गृहमन्त्री रविबारे कांग्रेस : संसदीय समितिमा स्वीकार, संसदमा अस्वीकार

१४ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततालाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ ।

लामिछानेलाई संसदको रोष्ट्रममा उभिएर विधेयक पेश गर्न समेत अवरोध गरेको कांग्रेसका सांसदहरुले संसदीय समितिमा भने स्वीकार गरेर प्रश्न मात्र सोधेन, केही सकारात्मक काम भएको भनी प्रशंसा गरे ।

कांग्रेस सांसद रामहरि खतिवडा सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार गृहमन्त्री लामिछानेसहित सुरक्षा प्रमुखहरुलाई बोलाएको थियो । बैठकमा कांग्रेस सांसदहरु गृहमन्त्रीप्रति तुलनात्मक रुपमा नरम देखिए ।

जबकी संसदमा कांग्रेसले निरन्तर विरोध गर्दै आएको छ । २१ फागुनमा नयाँ गठबन्धन बनेसँगै गृहमन्त्री भएका लामिछाने कास्कीको सूर्यदर्शन सहकारीको अनियमितासँग जोडिएको भन्दै कांग्रेसले संसदमा प्रश्न गर्दै आएको छ ।

२ चैतको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धी ऐनको संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न खोज्दा कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । त्यसपछि यो कार्यसूची अगाडि बढेको छैन । छानबिन टुंगोमा नपुग्दासम्म गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएको कांग्रेसले संसदीय छानबिन समिति बनाउने समेत माग गरेको छ ।

तर गृहमन्त्री लामिछानेको संलग्नता नभएको भन्दै सत्ता पक्ष संसदीय छानबिन समिति बनाउन तयार भएको छैन । कांग्रेसले भने सत्तारुढ दलहरु तयार नभए अब बस्ने प्रतिनिधि सभाको बैठक चल्न नदिने चेतावनी दिएको छ ।

प्रतिनिधि सभाको बैठक १८ चैतमा छ । त्यसअघि बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा भने कांग्रेस सांसदहरु गृहमन्त्री लामिछानेप्रति नरम देखिए ।

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संसदमा आफूहरुले सहकारीको विषय उठाउँदै आएको स्मरण गरे । तर कांग्रेस सांसदहरुले संसदमा जसरी लामिछानेलाई आरोपित गर्थे, त्यसरी बोलेनन् ।

केही सहकारीबाट ग्यालेक्सी टिभी सञ्चालनका लागि १० करोड रुपैयाँ जति लिएको भन्ने सञ्चारमाध्यममा आएको उल्लेख गर्दै उनले भने, ‘त्यसमा एक करोड रवि लामिछानेको नाममा जम्मा भएको आएको छ । त्यो व्यक्ति को हुन् ? नाम मात्रै मिलेर संयोग हो कि वर्तमान गृहमन्त्रीजी पनि रवि लामिछानेको नामबाटै सम्बोधित हुन्छन् ।’

यदि त्यो व्यक्ति वर्तमान गृहमन्त्री नै हो भने निष्पक्ष छानबिनका लागि पदबाट हट्नुपर्ने उनको सुझाव छ । ‘छानबिन निष्पक्ष हुन र विश्वसनीय बनाउनका निमित्त यो छानबिन सुरु गराइहाल्ने र छानबिन नसकिँदासम्म मेरो जिम्मेवारीबाट बाहिरिन्छु भनेर त्यो गर्दा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो’, सांसद बडूले भने ।

कांग्रेसका अर्का सांसद हृदयराम थानीले घुर्क्याएर प्रधानमन्त्री बन्नसक्ने भन्दै व्यंग्य गरे । पहिलो र दोस्रो दल इच्छुक नदेखिएपछि तेस्रो दलले प्रधानमन्त्री लिएको भन्दै उनले भने, ‘चौथो दलले उपप्रधानमन्त्री खाएपछि यस्तै घुर्क्याउन धम्क्याउन, थर्काउन सक्नुभयो भने प्रधानमन्त्री पनि हुनसक्ने सम्भावना छ ।’

नयाँ गठबन्धनले सबै कालखण्डका भ्रष्टाचारमाथि छानबिन गर्ने भनेको भन्दै उनले गिरिबन्धु टि इस्टेट, लडाकू शिविर, यति, ओम्नी, वाइडबडी लगायत जनताले प्रश्न उठाएका सबै प्रकरणको छानबिन हुन्छ कि हुन्न भनेर प्रश्न गरे ।

सुनकाण्डमा कसैको सचिवालय नै मुछिएको भन्दै उनले त्यसमा ख्याल गर्न सुझाए । ‘धेरै मानिसले तपाईंसँग आश पनि गरेका छन्’ कांग्रेस सांसद थानीले भने, ‘आश अनुसारको भर पर्ने कि नपर्ने भन्ने कसीमा तपाईं जाँदै हुनुहुन्छ । यसमा तत्काल केही लक्षण देखाउनसक्ने पोजिसनमा हुनुहुन्छ कि हुनुहुन्न ?’

राज्य व्यवस्था समितिमा कांग्रेसबाट बडू र थानीका साथै गगन थापा र विश्वप्रकाश शर्मा, सरिता प्रसाईं, ईश्वरीदेवी न्यौपाने, अम्बिका बस्नेत र अजयकुमार चौरसिया सदस्य छन् । बुधबारको बैठकमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा दुबै अनुपस्थित थिए । उपस्थित भएका अरुले प्रश्न गरेनन् ।

जवाफ दिने क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफूमाथि जनताले आश गरेको भनी स्मरण गरिदिएको भन्दै कांग्रेस सांसद थानीलाई धन्यवाद दिए । साथै सहकारीको विषयमा आफ्नो नाम बाहेक अरु केही नभएको दाबी गरे ।

समितिको बैठकपछि सांसद थानीले संसदमा अस्वीकार गरेको गृहमन्त्रीलाई कांग्रेसले संसदीय समितिमा स्वीकार गरेको देखियो नि भन्दा सभापतिलाई सोध्न आग्रह गरे ।

‘तपाईंको प्रश्न एकदम जायज छ । यो रामहरि खतिवडा (समिति सभापति) ले बुझ्ने हो’ उनले भने, ‘उहाँले बैठक बोलाएपछि सदस्य त जाने पर्‍यो ।’

समिति सभापति खतिवडा भने संसदमा पार्टीको धारणा रहेको भए पनि समितिमा आफू सबैको सभापति भएको बताए । ‘म कांग्रेसको सांसद हुँ, संसदमा पार्टीको एउटा स्ट्यान्ड छ’, उनले भने, ‘संसदीय समितिमा म सबैको सभापति हुँ ।’ अनलाइन खबर

२०८० चैत्र १४, बुधबार प्रकाशित 0 Minutes 51 Views

ताजा समाचार