२०८१ बैशाख १५ शनिबार

नेपाललाई टि-२० सिरिज उपाधि

काठमाडौं ।  नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दुई खेलको टि२० सिरिज २-० ले जितेको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ७१ रनको जित दर्ता गर्दै सिरिजमा जित हासिल गर्यो । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वल्भ्स १९ औं ओभरमा मात्र १ सय २७ रनमा अलआउट भयो ।

यसअघि पहिलो खेलमा नेपालले ६ विकेटको जित निकालेको थियो । जुनमा हुने आइसीसी टि२० विश्वकप अघि नेपालले घरेलु मैदानमा खेलेको यो नै अन्तिम खेल थियो । नेपालले अब भारतमा हुने फ्रेन्डसिप कप र त्यसपछि ओमानमा एसीसी मेन्स प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार भएको खेलमा आयरल्यान्डका लागि ओपनर स्टेफन डोहेनिले आक्रामक सुरुवात दिलाएका थिए । पाँचौ ओभरमा आयरल्यान्ड ४३-० को स्थितिमा रहँदा आउट हुनुअघि उनले १३ बलमा ४ चौका र १ छक्कासहित २६ रन जोडे । सोमपाल कामीले सुरुवाती विकेट लिएलगत्तै अर्को ओभरमा कुशलले रस अडेरलाई गुलशनको हातबाट क्याच आउट गरे ।

त्यसपछि आयरल्यान्डले रन जोड्न संघर्ष गर्यो । १२ औं ओभरमा केड कारमाइकल १८ बलमा १८ रन जोड्दै कुशल भुर्तेलको शिकार बने । कप्तान निल रक १७ र जोड्दै करणको बलमा क्याच आउट भए ।

समस्यामा परेको आयरल्यान्डले लगातार ३ विकेट गुमाउँदा जितबाट टाढा पुग्यो । मोर्गन टपिंग २१ रनमा स्टम्पिङ आउट भए । ग्याभिन होए १ र फिओन ह्यान्ड ५ रनमा पेभेलियन फर्किए ।

१९ औं ओभरमा नेपालले लगातार ३ विकेट लिँदै आयरल्यान्डलाई अलआउट गर्यो । पहिलो बलमा सोमपालले लियाम मकार्थीलाई बोल्ड गरे । त्यसपछि बेन ह्वाइटले पहिलो बलमै सोमपाललाई क्याच फिर्ता दिए । तेस्रो बलमा रोहितले ग्यारेथ डेलनीलाई नन स्ट्राइक एन्डमा रनआउट गरे ।

नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३-३ विकेट लिए । विवेक यादव, कुशल भुर्तेल र करण केसीले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन जोड्यो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोड्दा अन्य ३ ब्याटरले २५ रनको आँकडा पार गरेका थिए ।

ओपनर आसिफ शेख तेस्रो ओभरमा म्याथ्यु फोस्टरको बलमा आउट भए । ९ बलमा १ चौका र १ छक्कासहित ११ रन जोडेका उनी विकेटकिपरको हातबाट समातिए ।

पाँचौ ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि पेभेलियन फर्किए । फोस्टरकै बलिङमा कुशल मिड विकेटमा सहजै क्याच थमाउन पुगे । उनले १६ बलमा २-२ चौका र छक्कासहित २५ रन जोडे ।

सातौं ओभरमा अनिल शाह पनि आउट भए । उनी ११ बलमा १२ रन जोड्दै ठूलो सट खेल्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए ।

चौथो विकेटका लागि कप्तान रोहित पौडेल र गुलशन झाले ७१ रनको साझेदारी गरे । गुलशन १४ औं ओभरमा आउट हुँदा नेपालले १ सय २९ रन जोडेको थियो । ३२ बलमा १ चौका र ४ छक्का प्रहार गरेका उनले सर्ट कभरमा सहजै क्याच दिए ।

कप्तान रोहित पनि १६ औं ओभरमा क्याच आउट नै भए । ग्याभिन होएको बलमा उनी पनि कभर क्षेत्रमा सहज क्याच दिएर पेभेलियन फर्किए । रोहितले २४ बलमा ५ चौकाका साथ ३३ रन बनाए ।

कुशल मल्ल आक्रामक इनिङ खेल्दै १८ औं ओभरमा क्याच आउट भए । उनले १३ बलमा ३४ रन जोड्ने क्रममा १ चौका र ४ छक्का प्रहार गरे ।

विवेक यादवले ८ बलमा विना कुनै बाउन्ड्री नटआउट ७ रन बनाए । सन्दीप जोराले इनिङको अन्तिम बलमा क्याच आउट हुनुअघि २१ रन जोडे । उनले ९ बलमा ४ चौका र १ छक्का जोडे ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा

बेन्च : आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी

(हाम्रो खेलकुद)

२०८० चैत्र १३, मंगलवार प्रकाशित 1 Minute 84 Views

ताजा समाचार