२०८१ बैशाख २४ सोमबार

इलाम २ उपनिर्वाचन: कांग्रेस कोशीले पठायो ७ आकांक्षीका नाम

नेपाली कांग्रेस कोशी प्रदेशले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम केन्द्रीय कार्यालयमा पठाएको छ।

प्रदेश सभापति उद्धव थापाले क्षेत्र, जिल्ला हुँदै प्रदेशमा सिफारिस भएका ७ जनाको नाम केन्द्रमा पठाइएको सेतोपाटीलाई जानकारी दिए।

५ जना पुरूष र २ जना महिलाको नाम कोशीले केन्द्रीय कार्यालय सानेपा पठाएको हो।

‘भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेका छौं,’ सभापति थापाले भने, ‘यी नामहरूमाथि केन्द्रमा छलफल भएर छिट्टै उम्मेदवार तय हुन्छ।’

उनकाअनुसार चैत १० गते बेलुकी केन्द्रीय कार्यालयमा आकांक्षीका नाम पठाइएको हो।

२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार थिए। तत्कालीन सत्ता गठबन्धनले खड्कालाई समर्थन गरे पनि उनी नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका उम्मेदवार सुवास नेम्वाङसँग पराजित भएका थिए।

गत भदौ २६ गते नेम्वाङको निधन भएपछि यो क्षेत्र रिक्त छ। यहाँ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

०७९ मंसिरको चुनावमा नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।

रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए भने मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले एक हजार तीन सय ६३ मत ल्याएका थिए। राप्रपाका गणेशबहादुर दुलालले ५१० मत ल्याएका थिए।

समानुपातिकतर्फ इलाम २ मा एमालेले २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३, माओवादीले ५ हजार एक सय ५३, रास्वपाले ४ हजार ६ सय ८६, मंगोल नेशनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९०६, एकीकृत समाजवादीले ५८६ मत ल्याएका थिए।

२०८० चैत्र १३, मंगलवार प्रकाशित 0 Minutes 73 Views

ताजा समाचार