२०८१ बैशाख २४ सोमबार

सरकारमा बसेर इलाम–२ को उपनिर्वाचन जित्छौँ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरू कुनै दलको पछि नलागेको बताएका छन् । सँगै हिड्ने कोसिस थालेको उनको भनाइ छ ।

“हामी प्रश्नरहित छैनौँ । कुनै दलको पछि लागेका होइनौँ । सँगै हिड्ने कोसिस थालेका हौँ । सँगै हिँड्न नसकेका दिन सहयात्रा टुंगिन्छ,” राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने ।

रास्वपाका सभापति समेत रहेका उनले सरकारमा बसेर गरिने कामका आधारमा इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचन जित्ने लक्ष्य सुनाए । “अहिले थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम–२ को उपनिर्वाचन जित्छौँ,” उनले भने ।

विधि स्थापित गर्न रास्वपा सरकारमा गएको उनले बताए । “नेताहरू बिग्रेलान् भनेर सरकारमा नजान आग्रह गरिएको थियो, तर हामी बिग्रन्नौँ । बिग्रने र काम नगर्ने छुट हामीलाई छैन,” उनले भने, “जिम्मेवारी पाएपछि सक्दैनौँ भन्ने पिठ्युँ फर्काएर भाग्दैनौँ । सरकारमा बसेर अनैतिक काम गर्दैनौँ ।”

कम्तीमा ०८४ सम्म योगदानको हिसाब नमाग्न उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे । पार्टीमा सबैलाई न्याय दिइने उनले बताए ।

सत्ता गठबन्धनमा प्रधानमन्त्रीको कार्यकाल भागबन्डा नगरिएको उनले स्पष्ट पारे ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानतमा छोडिएको भन्दै उनले शंका नगर्न पनि आग्रह गरे । “कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानतमा छोडिनुलाई शंका गर्नु हुँदैन,” उनले भने, “उहाँमाथि अनुसन्धान भइरहन्छ ।”बाह्रखरी

२०८० चैत्र १०, शनिबार प्रकाशित 0 Minutes 67 Views

ताजा समाचार