२०८१ जेष्ठ ५ शनिबार

झापा गोल्डकपले दियो बिर्तामोड नगरलाई सामाग्री

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा गत फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको झापा गोल्डकपका क्रममा प्रयोग भएका विभिन्न सामग्री बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
मोफसलको सर्वाधिक लोकप्रिय झापा गोल्डकप सफल बनाउन बिर्तामोड नगरपालिका क्षेत्रमा प्रयोग गरिएका विद्युतीय उपकरण, फोहोर फाल्न प्रयोग गरिने डस्विन र सजावटका लागि प्रयोगमा ल्याइएका फूल सहितका गमला नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालाई झापा गोल्डकपले प्रयोगमा ल्याएको सामग्री हस्तान्तरण गरेका हुन् ।
नगरपालिका पुगेर झापा गोल्डकपका अध्यक्ष बस्नेत, महासचिव गजेन्द्र प्रौडेल, किरण श्रेष्ठ सहितको टोलीले मुक्तिचोकदेखि रंगशालासम्म पुग्ने सडकमा जडान गरिएका २२५ पोलमा रहेका विद्युतीय लाइट सहित ८० वटा डस्विन, फूल सहितको ५५ वटा गमला नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।
भौतिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्न आग्रह गर्दै अध्यक्ष बस्नेतले उपप्रमुख संग्रौलालाई आग्रह गरे । झापाली फुटवल प्रेमी दर्शकको अपार माया र सद्भाव सहित सम्पन्न झापा गोल्डकपले बिर्तामोड नगरपालिकालाई मात्र नभई समग्र झापा जिल्लालाई नै चिनाएको भन्दै उक्त समयमा प्रयोग भएका सजावटका सामग्री सहित रंगशालाको संरक्षण र संवद्र्धन दायित्व नगरपालिकाको भएको अध्यक्ष बस्नेतको भनाई छ ।
झापा गोल्डकपले प्रदान गरेका सामग्री ग्रहण गर्दै उपप्रमुख संग्रौलाले गोल्डकपले प्रदान गरेका सामग्रीको संरक्षण अब नगरपालिकाले गर्ने बताए । उनले नगरका विभिन्न क्षेत्रमा आवश्यकताका आधारमा उक्त सामग्रीहरुलाई प्रयोगमा ल्याइने प्रतिबद्धता समेत जनाएका छन् ।

 

२०८० चैत्र १०, शनिबार प्रकाशित 1 Minute 64 Views

ताजा समाचार