२०८१ बैशाख १७ सोमबार

इलाम–२ मा ‘जोखना’ हेर्दै केपी ओली : सुहाङ कि झलनाथ ?

काठमाडौँ । आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ र प्रदेश सभातर्फ बझाङ १ (क) मा हुने उपनिर्वाचनको मिति नजिकिएसँगै प्रमुखसहित विभिन्न राजनीतिक दल आ–आफ्नो रणनीतिसहित तयारीमा जुटेका छन् । उक्त निर्वाचनमा भाग लिन कांग्रेस, एमाले, माओवादी, रास्वपासहित २० वटा दल निर्वाचन आयोगमा दर्ता भैसकेका छन् । आयोगमा दल दर्तासँगै सबैजसो दलहरू उम्मेदवार छनोट प्रक्रियामा जुटेका छन् ।

बझाङको तुलनामा इलाम २ मा हुने उपनिर्वाचनका लागि दलहरूको ध्यान बढी केन्द्रित भएको देखिन्छ । इलाम २ मा नेकपा एमालेका नेता तथा संविधान सभा सदस्य समेत रहेका सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । अघिल्ला निर्वाचनहरूमा नेकपा एमालेका नेम्वाङले लगातार जितेको क्षेत्र भएकाले पनि उपनिर्वाचनमा एमाले आफ्नो विरासत जोगाइराख्ने कसरतमा जुट्दा नेपाली कांग्रेस यसपटक एमालेबाट उक्त क्षेत्र फुत्काउने प्रयासमा लागेको छ ।

यो क्षेत्रका लागि नेपाली कांग्रेस र एमालेले सम्भावित उम्मेदवारहरूको नाम तल्ला कमिटीबाट सिफारिस समेत गरिसकेका छन् ।

नेकपा एमाले इलाम जिल्ला कमिटीले इलाम २ का सम्भावित उम्मेदवारका रूपमा सुवास नेम्वाङका पुत्र समेत रहेका सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलालको नाम सिफारिस गरेको छ । सिफारिस नामहरू जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा पुग्नेछन् र केन्द्रले निर्णय गर्नेछ । सिफारिस भएर आएका नामबाहेक अन्य समेत छनोट गर्नसक्ने र उम्मेदवार बनाउन सक्ने पार्टी केन्द्रमा अधिकार निहित छ ।

त्यस्तै नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले इलाम २ का लागि ७ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र चन्द्रकला राईको नाम सिफारिस गरेको हो । सिफारिस नामहरू जिल्ला र प्रदेश हुँदै सुझावसहित केन्द्रमा आउने र अन्तिम निर्णय केन्द्रले नै गर्न सक्ने व्यवस्था रहेको नेता मीन विश्वकर्माको भनाइ छ ।

इलाममा स्वतन्त्र उम्मेदवारका रूपमा मिलन लिम्बुले उम्मेदवारी घोषणा गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत ६ गतेदेखि १४ गतेसम्म उम्मेदवार बन्न चाहनेहरूलाई आवेदन दिन भनेको छ । यी बाहेक अन्य दलहरू पनि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । यो क्षेत्रमा २०७९ को निर्वाचनमा एमाले नेता सुवास नेम्वाङ र कांग्रेसका डम्बर खड्काबिच कडा प्रतिस्पर्धा भएको थियो । उपनिर्वाचनमा पनि मुख्यगरी नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने आङ्कलन स्थानीय मतदाताको छ । इलाम क्षेत्र नम्बर २ जनजातीबहुल क्षेत्रका रूपमा चिनिन्छ । जसमा लिम्बुवान पक्षधरको समेत राम्रै प्रभाव रहेकाले उनीहरूले उठाउने उम्मेदवार र रास्वपाले उठाउने उम्मेदवार कस्ता हुन्छन् त्यसले पनि कांग्रेस एमालेका उम्मेदवारलाई चुनौती थप्ने धेरैको बुझाई छ ।

सुहाङ कि झलनाथ ?

इलाम २ सुवास नेम्वाङले २०५६ यता लगातार चुनाव जित्दै आएको क्षेत्र हो । सुवासको निधनपछि नेकपा एमालेले उनकै कान्छा छोरा सुहाङ नेम्वाङलाई उक्त क्षेत्रमा उम्मेदवार बनाउने र चुनाव जिताउने रणनीतिमा लागेको जिल्ला र प्रदेशका नेताहरू अनौपचारिक संवादमा बताउने गर्छन् । एमालेले केही दिनअघि मात्रै सुहाङलाई एमाले केन्द्रीय कानुन विभागको सदस्यमा मनोनित गरेर पनि त्यसको छनक दिएको उनीहरुको बुझाई छ । तर फेरिएको राजनीतिक समीकरणका कारण सुहाङको सट्टा अरु कुनै उम्मेदवार उठाउनुपर्ने हो कि भन्ने जिल्ला र प्रदेशका नेताहरूले एमाले अध्यक्ष ओलीलाई सुझाव दिइरहेका छन् । ‘राजनीतिक समीकरण फेरिएकाले सोच्ने हो कि भन्ने सुझाव दिनु फरक कुरा हो । तर निर्णयको अधिकार केन्द्रलाई त्यसमा पनि अध्यक्षमा भएकाले यसै भन्न सकिन्न’, एमाले कोशी प्रदेशका एक पदाधिकारीले भने, ‘अरूको तुलनामा सुहाङ उम्मेदवार बन्दा सहज हुन्छ भन्ने भए पनि चुनौतीहरू कम छैनन् ।’

एमाले स्थायी कमिटी सदस्य अग्नि खरेल पार्टीले आधिकारिक निर्णय गर्न बाँकी रहे पनि तीन चार वटा कारणले सुहाङ उपयुक्त उम्मेदवार बन्न सक्ने बताउँछन् । सुहाङमा सुवास नेम्वाङको लिगेसी, कानुन समेत बुझेका र जनजातीबहुल क्षेत्रको समेत प्रतिनिधित्व गर्न सक्ने देखिएकाले सुहाङको सम्भावना अलि बढी देखिन्छ’, खरेलको बुझाइ छ ।

निर्वाचन मिति नजिकिँदै गर्दा एउटै सत्ता गठबन्धन र कम्युनिस्ट पार्टी एकीकरणको प्रयास समेत भइरहेको अवस्थामा केही वर्षअघिमात्र एमालेबाटै छुट्टिएर नेकपा एकीकृत समाजवादीमा लागेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल समेत इलाम २ बाट उठ्ने चर्चा भइरहेको छ । यसअघिको निर्वाचनमा खनाल इलाम १ बाट पराजित बनेका थिए । उनलाई एमालेका महेश बस्नेतले २९ सय मतले पराजित गरेका थिए ।

नेता खनालले एमालेले आफूलाई समर्थन गरे चुनाव जित्ने दाबी समेत गर्दै आएका छन् । त्यसका लागि उनले आफ्नो पार्टीभित्र र एमाले अध्यक्ष केपी ओलीसँग समेत लबिङ गर्दै आएको निकटस्थ नेताहरू बताउँछन् । खनाल पछिल्लो समय एमाले र एकीकृत समाजवादीबिच पार्टी एकता गर्नुपर्ने पक्षमा समेत उभिँदै आएका छन् । खनालले यस्तो चाहाना प्रकट गरे पनि एमालेले साथ दिने नदिने निश्चित छैन । खनाल भन्छन्, ‘एमाले अध्यक्ष ओलीको निर्णयमा भर पर्छ ।’ खनालले भनेजस्तै एमाले अध्यक्ष ओलीले अहिलेसम्म इलाम २ मा उठाउने उम्मेदवारबारे मुख खोलिसकेका छैनन् ।

‘अन्य पार्टीका उम्मेदवार र गठबन्धनभित्रको माहौल हेरेर मात्र अध्यक्ष निर्णय गर्ने पक्षमा हुनुहुन्छ’, अध्यक्ष ओली निकट एक पदाधिकारीले भने,‘ उहाँ अहिलेसम्म जोखना हेर्दै हुनुहुन्छ चैत २३ गते बिहानसम्म थाहा हुन्छ ।’

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा उम्मेदवार छनोटको प्रक्रिया चलिरहेकाले अहिले नै कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लागि नसकेको बताउँछन् ।

‘जिल्लाबाट ६ जनाको नाम सिफारिस भएको छ । ती नामबारे प्रदेशले सुझावसहित केन्द्रमा पठाउँछ’, खतिवडाले भने, ‘६ जना साथीहरूको नाम सिफारिस भएको छ । तिनैमध्यबाट पनि हुनसक्छ भने अर्कातिर नयाँ राजनीतिक परिवेश पनि सुरु भएकाले यही नै हुन्छ भन्न सक्ने अवस्था छैन ।’ तर नेकपा एमालेका उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले झलनाथ खनाललाई एमालेले समर्थन गर्ने सम्भावना नरहेको प्रस्ट पारे । उनले इलाममा एमालेले आफ्नै पार्टीका उम्मेदवार उठाउने भन्दै अर्को पार्टीका नेतालाई कसरी र किन उम्मेदवार बनाउने भनेर प्रश्न गरे । ‘एमालेले आफ्नै पार्टीबाट उम्मेदवार बनाउँछ । गठबन्धनमा पनि आआफ्नै उम्मेदवार बनाउने कुरा छ’, रिमालले भने, ‘उम्मेदवारका लागि ६ जना सिफारिस भएका छन् । त्यसबाहेक थप निर्णय केही भएको छैन । थप निर्णयका लागि पार्टीको बैठक बसेपछि मात्र थाहा हुन्छ ।’ रातोपाटी

२०८० चैत्र ७, बुधबार प्रकाशित 0 Minutes 127 Views

ताजा समाचार