२०८२ बैशाख २९ सोमबार

संसारकै उच्च वायु प्रदूषण भएको मुलुकमध्ये नेपाल आठौं स्थानमा

नेपाल फेरि संसारकै उच्च वायु प्रदूषित देशको रूपमा हेरिएको छ।

विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ ले नेपाल संसारकै उच्च वायु प्रदूषण भएको मुलुकमा आठौं स्थानमा रहेको उल्लेख गरेको छ। गत वर्ष नेपाल १६ औं स्थानमा थियो। यसले सन् २०२३ मा नेपालको वायु प्रदूषण थप खराब भएको देखाएको छ।

स्विट्जरल्यान्डस्थित आईक्यू एअर नामको संस्थाले सन् २०२३ मा संसारका १३४ मुलुकहरूको हावाको गुणस्तर मापन गर्ने पीएम २.५ भनिने आँखाले नदेख्ने कणको तथ्यांकका आधारमा यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदनले बाङ्लादेशलाई संसारकै सबैभन्दा प्रदूषित मुलुक भएको उल्लेख गरेको छ।

संसारकै उच्च प्रदूषित मुलुकको दोस्रो स्थानमा पाकिस्तान, तेस्रोमा भारत र चौथोमा ताजकिस्तान छन्। बुर्किना फासो, इराक र संयुक्त अरब एमिरेट्स पनि उच्च प्रदूषित मुलुकको सूचीमा छन्।

सन् २०२३ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २.५ सरदरमा ४२.४ माइक्रोग्राम प्रति घनमिटर देखिएको छ। जुन अघिल्लो वर्षको भन्दा धेरै हो। सन् २०२२ मा नेपालमा सरदर पीएम २.५ को मात्रा ४०.१ माइक्रोग्राम प्रति घनमिटर थियो।

संसारका सफा मुलुकका तुलनामा नेपालीले श्वास फेर्ने हावा १० गुणा धेरै प्रदूषित रहेको देखिएको छ। संसारभरिका सर्वाधिक स्वच्छ हावा भएका १० मुलुक र क्षेत्रको पीएम २.५ को मात्रा सरदरमा ४.१८ माइक्रोग्राम प्रति घनमिटर छ।

सन् २०२३ मा फ्रेन्च पोलिनेसिया, मरिसस, आइसल्यान्ड, ग्रेनडा, बर्मुडा, न्यूजिल्यान्ड, अस्ट्रेलिया, पोर्टरिको, इस्टोनिया र फिनल्याण्ड संसारकै सर्वाधिक स्वच्छ हावा भएका १० मुलुक र क्षेत्र हुन्।

विश्व स्वास्थ्य संगठनले हावामा आँखाले नदेखिने धूल कण (पीएम २.५) को मात्रा वार्षिक औसत पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ। यस अनुसार, नेपालको हावा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको छ।

नेपालमा वायु प्रदूषणका कारण वार्षिक ४२ हजार व्यक्तिको ज्यान जाने गरेको तथ्य सन् २०१९ को एउटा अध्ययनले देखाएको थियो। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बाङ्लादेशको हावा १५ गुणा र भारतको हावा १० गुणा धेरै प्रदूषित छ।

आईक्यू एअरका अनुसार ११४ राजधानीहरूमध्ये काठमाडौं ११औं प्रदूषित शहर हो। उक्त संस्थाले भारतको दिल्लीलाई सर्वाधिक विषाक्त हावा भएको राजधानीमध्ये पहिलो स्थानमा राखेको छ। त्यसैगरी, बाङ्लादेशको ढाका दोस्रो स्थानमा छ। संसारका ७८१२ शहरमध्ये काठमाडौं २८४औं स्थानको प्रदूषित शहर हो।

आईक्यू एअरले दक्षिण र मध्यएशिया संसारका उच्च प्रदूषित शहरहरूको ‘घर’ भएको उल्लेख गरेको छ।

 हिमालखबरबाट

२०८० चैत्र ६, मंगलवार प्रकाशित 0 Minutes 150 Views

ताजा समाचार