२०८१ बैशाख १६ आईतवार

नेपाल आइपुगे आईसीसीका अध्यक्ष बार्कले

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेले नेपाल आइपुगेका छन् । उनी सोमबार भारतको नयाँदिल्ली हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा उनले नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने भ्रमणको उद्देश्य रहेको बताए । तीनदिने भ्रमणका क्रममा आईसीसी अध्यक्ष बार्कलेले नेपाली क्रिकेटको संरचनाबारे पनि निरीक्षण गर्नेछन् । उनले कीर्तिपुरस्थित त्रिवि र मूलपानी क्रिकेट मैदानको अवलोकन गर्नेछन् ।

विमानस्थलमा उनले नेपाल उत्कृष्ट एसोसिएट राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै नेपाली क्रिकेटको भविष्य राम्रो रहेको धारणा राखेका थिए । लामो समय न्युजिल्याण्ड क्रिकेट बोर्डको नेतृत्व गरेका बार्कले सन् २०२० मा आईसीसीको अध्यक्ष बनेका थिए ।

२०८० चैत्र ५, सोमबार प्रकाशित 0 Minutes 87 Views

ताजा समाचार