२०८१ बैशाख १५ शनिबार

छाला किन चिलाउँछ ? हुनसक्छ जटिल समस्या पनि

छाला चिलाउनुमा एउटा मात्र कारण छैन । यद्यपि मूलभूत रुपमा यसलाई दुई भागमा विभाजन गर्न सकिन्छ । फिजियोलोजिकल अर्थात् रोग नभएको अवस्था र प्याथोलोजिकल अर्थात् रोग भएको अवस्था ।

फिजियोलोजिकल चेन्जेज (शारीरिक प्रक्रियागत परिवर्तन) अर्थात् छालाकै गम्भीर रोग नभए अवस्थामा पनि छाला चिलाउँछ । जस्तै गर्भावस्थामा, उमेर बढ्दै गएपछि, बूढो भएपछि, जाडो महिनामा, छाला फुस्रो र सुक्खा छाला हुँदा परजीवीले टोक्दा छाला चिलाउँछ ।

त्यस्तै प्याथोलोजिकल (रोग विशेषकै कारणले)लाई पनि मुख्यतया दुई भागमा विभाजन गर्न सकिन्छ । छालासम्बन्धी रोग भएमा र शरीरभित्रको अन्य कुनै समस्याको एउटा लक्षणका रुपमा छालामा देखिएमा ।

छालासम्बन्धी रोग

छालासम्बन्धी रोग भएमा अर्थात् छालाहरुको विभिन्न रोगको कारण छाला चिलाउँछ । जसलाई मेडिकल भाषामा डर्माटोलोजिकल स्किन कन्डिसन भनिन्छ । यसमा फंगस, दाद, एक्जिमा, सोरियासिस, डाबर आउने, ब्याक्टेरियल इन्फेक्सन अर्थात् छालामा कीटाणुको संक्रमण र एलर्जी पर्छ ।

शरीरभित्रका समस्याका लक्षणका रुपमा

बाहिरी छालामा कुनै किसिमको समस्या छैन तर छाला चिलाउने गर्छ । जस्तै क्रोनिक किड्नी डिजिज अर्थात् लामो समयदेखि मिर्गौलाको समस्या भएमा, शरीरमा हार्मोनको गडबडी भएमा (यसमा थाइराइड हार्मोनको कमी र मधुमेह भएमा पनि छाला चिलाउँछ) ।

यस्तै रगतको कमी भएमा, विभिन्न खालका क्यान्सर (फोक्सो क्यान्सर, स्तन क्यान्सर आदि), ट्युमर पलाएमा पनि छाला चिलाउने समस्या देखिन्छ । त्यस्तै कलेजोको समस्या (जस्तै सिरोसिस वा जन्डिस भएमा) वा पित्त बहने नलीमा अवरोध उत्पन्न भएमा, औषधिको साइड इफेक्ट भएमा पनि शरीर चिलाउने गर्छ । केमिकलको असर, तनाव वा मानसिक समस्या भएमा (चिन्ता, डिप्रेसन), नसासम्बन्धी रोग, भिटामिन डी १२ को कमी वा गडबडी र शरीर रगतको कमी भएमा पनि छाला चिलाउने गर्छ ।

थाहा पाउने तरिका

कसै-कसैलाई राति मात्र छाला चिलाउँछ भने लुतो हुनसक्छ । त्यस्तै छाला चिलाउनुका साथै डाबर आएमा एलर्जीले हुनसक्छ । कुनै औषधि सेवन गरेको केही समयपछि शरीर चिलाउँछ भने औषधिको साइड-इफेक्टले हुनसक्छ ।

छाला सुक्खा हुने, तौल बढ्ने, स्वर बिस्तारै धोद्रो हुँदै जाने, कपाल झर्ने समस्या भएमा थाइराइडका कारण हुनसक्छ । छाला चिलाउने समस्या सिजनल पनि हुनसक्छ जस्तै कि जाडोयाममा मात्र चिलाउने । त्यस्तै छालामा केही पनि समस्या वा लक्षण देखिएको छैन तर पनि शरीर चिलाउने समस्या छ भने रगतमा समस्या, मानसिक समस्या, मिर्र्गौला, फोक्सो, कलेजोको समस्याले हुनसक्छ ।

केके जाँच गर्नुपर्छ ?

धेरैजसो छालाको रोगमा बाह्य लक्षण चिन्हको आधारमा औषधिको प्रयोग गरिन्छ । तर त्यसले भएन भने बिरामीको आवश्यकता अनुसार रगतको जाँच, पिसाब, बायोप्सी (छालाको सानो टुक्रा निकालेर जाँच्ने प्रविधि), हार्मोनको जाँच गर्नुपर्ने हुन्छ ।

उपचार

सर्वप्रथम छाला के कारणले चिलाएको हो कारण पत्ता लगाउनुपर्छ । त्यसपछि बिरामीको आवश्यकताअनुसार लगाउने र खाने औषधि प्रयोग गर्न सकिन्छ । कहिलेकाहीं बिरामी गम्भीर अवस्थामा भएमा अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ ।

रोकथाम

छालालाई नरम बनाउन मोस्चराइजर लगाउने, एलर्जीको कारण छाला चिलाएको छ भने त्यस्तो चीजसँग टाढा बस्ने वा बच्ने, घाउ चोटपटकको कारण छाला चिलाएमा त्यसलाई धुवाँधुलोबाट बचाउने, घामको एलर्जी भएमा घाममा कम बस्ने वा बस्दा पूरा बाहुला भएको लुगा लगाउने गर्नुपर्छ । मानसिक समस्याका कारण भएमा तनाव कम गर्नुपर्छ ।

अनलाइन खबरबाट

२०८० चैत्र ५, सोमबार प्रकाशित 1 Minute 111 Views

ताजा समाचार