२०८१ बैशाख १७ सोमबार

एमालेबाट इलाम २ मा सहमति भएन, ६ जनाको नाम सिफारिस

इलाम : आगामी वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको आकांक्षा राखेका ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

आकांक्षबीच सहमति हुन नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको एमालेले जनाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले पार्टी जिल्ला उपसचिव रवीन्द्र सुवेदी, क्षेत्र नं–२ संयोजक बुद्धिप्रसाद खनाल, सुहाङ नेम्बाङ, नरेन्द्रनाथ भट्टराई, डा.देवी क्षेत्री दुलाल र रिपल राईको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।

जिल्लाले आज सचिवालयको निर्णय केन्द्रमा सिफारिससहित पठाउने जिल्ला सचिव उमेश गुरुङले बताए।

सचिवालयमा सबै आकांक्षीको विषयमा गहन छलफल भएको तर आकांक्षीको संख्या नघट्ने अवस्था भएपछि सबैको नाम सिफारिस गर्नुपरेको सचिव गुरुङले बताए।

‘शनिबार पनि ६ जना आकांक्षीसँग उम्मेदवार छनोट कार्यदलले सहमतिको प्रयास गर्दा सहमति भएन,’ उनले भने, ‘सहमति नहुँदा ६ जनाकै नाम सचिवालयमा पठाइएकामा सचिवालयले पनि ६ जनाकै नाम सिफारिस गर्ने निर्णय गरेको छ।

केन्द्रको अन्तरपार्टी निर्देशनमा आकांक्षीमध्ये एक महिलासहित तीन जनाको नाम जिल्लाले सिफारिस गर्नुपर्ने उल्लेख छ। तर, सचिवालयमा सहमति नहुँदा ६ जनाकै नाम केन्द्रमा सिफारिस गरिने भएको हो।

एमालेले यसअघि जिल्ला उपाध्यक्ष उदयबहादुर राई सयोजकत्वको कार्यदल गठन गरेको थियो। कार्यदलले उम्मेदवारका आकांक्षीको नाम दर्ता गरेको थियो। पार्टी केन्द्रले चैत १५ भित्रमा उम्मेदवार टुंगो लगाउने सम्भावना रहेको एमालेले जनाएको छ।

एमाले नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि इलाम क्षेत्र २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। थाहा खबर

२०८० चैत्र ५, सोमबार प्रकाशित 0 Minutes 116 Views

ताजा समाचार