२०८१ बैशाख १५ शनिबार

करिब ८८ प्रतिशत मतसहित पुटिन पाँचौँ कार्यकालका लागि निर्वाचित

भ्लादिमिर पुटिनले करिब ८८ प्रतिशत मत ल्याएर पाँचौँ कार्यकालका लागि रुसी राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

आइतबार मतदान सम्पन्न भएपछिको पहिलो आधिकारिक नतिजाअनुसार पुटिनले ८७.९७ प्रतिशत मत ल्याएका हुन् । रुसी सत्तामा पुटिन राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा सन् १९९९ देखि नै निरन्तर कायम छन् ।

सोभियत संघ विघटनपछि रुसका पहिलो राष्ट्रपति बोरिस यल्तसिनले स्वास्थ्य अवस्था बिग्रिएपछि सन् १९९९ मा पुटिनलाई सत्ता हस्तान्तरण गरेका थिए । त्यसपछि उनी निरन्तर रुसी सत्ताको बागडोर सम्हालिरहेका छन् ।

शुक्रबारदेखि तीन दिनसम्म असाध्यै नियन्त्रित रुपमा चुनाव भएको थियो । रुसमा युक्रेन युद्धलाई लिएर पुटिनको सार्वजनिक आलोचना गर्न पाइँदैन । पुटिनका सबैभन्दा कट्टर राजनीतिक प्रतिद्वन्द्वीका रूपमा देखा परेका एलेक्सी नाभाल्नीको गत महिला आर्कटिकको एक जेलमा मृत्यु भएको थियो ।

उनका अन्य आलोचकहरु या त जेलमा छन् या निर्वासनमा छन् । ७१ वर्षीय पुटिनविरुद्ध तीन जना प्रतिद्वन्द्वीले चुनाव लडेका थिए । जो क्रेमलिनकै निकट भएको बताइन्छ ।

पुटिनले अत्यधिक मतले चुनाव जिते पनि उनका विरोधीहरूले मतदान केन्द्रहरूमा विरोध प्रदर्शन गरेका थिए । अमेरिकाले रुसी राष्ट्रपतिको निर्वाचन स्वतन्त्र र निष्पक्ष दुवै नभएको बताएको छ ।

सोभियत गुप्तचर निकाय केजीबीका पूर्वलेफ्टिनेन्ट कर्णेल पुटिन यो जितसँगै थप ६ वर्ष रुसी सत्तामा कायम रहनेछन् । पुटिनले पछिल्ला २०० भन्दा बढी वर्षमा रुसी सत्तामा सबैभन्दा लामो समय रहने राष्ट्राध्यक्षको रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।

उनले ६ वर्षे कार्यकाल सुरक्षित गरेसँगै सोभियत नेता जोसेफ स्टालिनलाई समेत पछि पारेर सबैभन्दा लामो समय सत्तामा रहने नेता बनेका हुन् । राष्ट्रपति निर्वाचनमा ८० लाखभन्दा बढी मतदाताले अनलाइन भोटिङ गरेका थिए । शिलापत्र

२०८० चैत्र ५, सोमबार प्रकाशित 0 Minutes 95 Views

ताजा समाचार