२०८१ आश्विन २६ शनिबार

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

कार्यक्रम उद्घाटन गर्नुहुँदै प्रधान सेनापति प्रभुराम शर्मा ।

सचिन पोख्रेल

शिवपुरी (काठमाडौं) गते। प्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्र बिचको ध्रुवीकरण बढ्दै गएको धारणा व्यक्त गर्नुभएको छ।

उहाँले विश्वमा नयाँ शितयुद्धको थालनी हुन लागेको आभास हुँदै गइरहेको भन्नु हुँदै विश्वका शक्ति राष्ट्र बिचको प्रत्यक्ष/परोक्ष टकराव, बदलिँदो राजनीतिक परिस्थिति र शक्ति केन्द्रको रुपमा स्थापित हुने होडबाजीले भौगोलिक एवं आर्थिक रुपमा साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण राख्न चुनौती थपिएको बताउनुभयो।

रक्षा मन्त्रालय तथा नेपाली सेनाद्वारा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संयुक्त रुपमा आयोजित उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको बुधबार शुभारम्भ गर्दै प्रधान सेनापतिले सो धारणा व्यक्त गर्नुभएको हो।

उहाँले प्रत्येक राष्ट्र आफ्ना आधारभूत मूल्यमान्यताको संरक्षणसहित राष्ट्रिय पहिचान, सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित, भयरहित एवं आत्मसम्मानपूर्ण जीवन जिउन र आफ्ना गतिविधि सञ्चालन गर्न प्रयत्नशील हुने अवस्था रहेको बताउनुभयो ।

उहाँले नेपालले पनि जनतालाई भौगोलिक, सामाजिक, आर्थिक एवं राजनीतिक रुपमा पूर्ण सुरक्षित राख्न विभिन्न नीति तथा रणनीति अख्तियार गर्दै आइरहेको उल्लेख गर्नुभयो।

प्रधान सेनापति शर्माले नेपालको सन्दर्भमा संवेदनशील भूराजनीति, खुला सिमाना र विभिन्न शक्ति राष्ट्रको स्वार्थ राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा हेरिने गरिएको उल्लेख गर्दै आन्तरिक रुपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादका साथै सुसुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको बताउनुभयो।

राष्ट्रिय सुरक्षाको सन्दर्भमा देखिएको चुनौतीका विषयमा चर्चा गर्दै उहाँले श्रम आप्रवासन, युवाको वैदेशिक पलायन, विभिन्न युद्धरत देशका सेनामा नेपालीको संलग्नता, जलवायु परिवर्तनको बढ्दो असर, अतिवृष्टि, अनावृष्टि, सुक्दै गएका पानीका स्रोत, चुरे विनाशका कारण तराईमा परिरहेको असर र त्यसबाट हाम्रो खाद्य सुरक्षामा पर्ने प्रभाव, विपद् तथा पर्यावरण सिर्जित मृत्युदरमा भइरहेको वृद्धि लगायगका विषय हाम्रा लागि मानव सुरक्षाका दृष्टिकोणले तत्काल विचार गर्नुपर्ने महत्त्वपूर्ण विषय बनेको स्पष्ट पार्नुभयो।

सूचना प्रविधि एवं ‘आर्टिफिसियल इन्टेलिजेन्स’ मा आधारित प्रविधिको विकासले सुरक्षा क्षेत्रमा नयाँ चुनौती थप्नुका साथै सैन्य रणनीति र सिद्धान्तलाई पुनःपरिभाषित गर्न खोजिरहेको हुँदा यस्ता नविनतम प्रविधिले ल्याएका समस्या र त्यसबाट जनमानसमा परिरहेको प्रभावलाई पनि सम्बोधन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको तालिमको नवौँ संस्करण आजबाट मिति २०८० चैत्र १६ गतेसम्म सञ्चालन हुनेछ।तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैर सरकारी संस्था, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी तथा सञ्चारकर्मीसहित तीस जनाको सहभागिता रहेको छ।गोरखापत्र अनलाइन

 

२०८० फाल्गुन ३०, बुधबार प्रकाशित 1 Minute 75 Views

ताजा समाचार