काठमाडौं । नेपाल हङकङमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । ओपनर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा लिग चरणको दोस्रो खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भएको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १७ औं ओभरमा अलआउट हुनुअघि १ सय १७ रन मात्र जोड्न सक्यो । मध्यक्रममा हिरी हिरीले २८ तथा ओपनर टोनी उराले १३ र सेसे बाउले २१ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन् ।
कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । उनले कप्तान असद भाला र लेगा सिआकालाई क्याच आउट तथा किप्लिन डोरिगा र नोर्मन भानुआलाई बोल्ड गरेका थिए । प्रतिश जिसीले २ तथा आकाश चन्द र गुलशन झाले १-१ विकेट लिएका थिए ।
त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो ।
पहिलो विकेटका लागि कुशल र विनोद भण्डारीले ६४ रनको साझेदारी गरे । आठौं ओभरमा विनोद जोन कारिकोको शिकार बने । क्याचआउट हुनुअघि उनले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए ।
लगत्तै अर्को ओभरमा कप्तान रोहित मात्र १ रन जोड्दै कट बिहाइन्ड भए । नवौं ओभरमा आरिफ शेख पनि ७ बलमा ४ रन जोड्दै विकेटकिपरबाट समातिए ।
त्यसपछि कुशल र सन्दीप जोराले ३० बलमा ५० रनको आक्रामक साझेदारी गरे । कुशलले १३ औं ओभरको चौथो बलमा गार्डनरलाई छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । उनले ३२ बलमा आफ्नो नवौं अर्धशतक बनाएका थिए । उनी १५ औं ओभरमा आउट भए । नोर्मन भानुआको बलमा बाउन्ड्रीनजिक क्याच हुनुअघि उनले समान ४ चौका र ४ छक्का प्रहार गरे ।
कुशल आउट भएपछि सन्दीप जोराले आक्रमण सम्हाले । उनले मात्र २१ बलमा आफ्नो दोस्रो टि२०आई अर्धशतक पूरा गरे । सन्दीपले १८ औं ओभरमा क्याच आउट हुनुअघि २६ बलमा ५६ रन जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
लोकेश बम ६ बलमा २ छक्कासहित १४ रन जोड्दै १९ औं ओभरको अन्तिम बलमा रनआउट भए ।
अन्तिम ओभरमा विवेक यादवले ३ छक्का प्रहार गरेपछि नेपाल बलियो स्कोरसम्म पुग्यो । उनी ४ बलमा १९ रन जोड्दै नटआउट रहे । गुलशन झाले १२ बलमा १ छक्कासहित १५ रन बनाए ।
पिएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १-१ विकेट लिए ।
यस जितले नेपालको २ खेलमा ३ अंक भएको छ । हङकङको १ खेलमा १ तथा पिएनजी अंकविहिन छ ।
आज हुने लिग चरणको अन्तिम खेलमा पिएनजी र हङकङ खेल्नेछन् । उक्त खेलको विजेताले बुधबार हुने फाइनलमा नेपालसँग खेल्नेछ । नेपाल र हङकङबीच पहिलो खेल वर्षाले रद्द भएको थियो । (हाम्रो खेलकुद)