‘नेपाल सरकार निरीह बन्यो, हाम्रो उद्धार गरिदिनुस्’
काठमाडौं । रुसमा अलपत्र परेका नेपालीले भारत सरकारलाई सहयोगको अपिल गरेका छन् । रुसी सेनामा भर्ती भएका पाँच नेपालीले सामाजिक सञ्जालमार्फत उद्धारका लागि भारतसँग अनुरोध गरेका हुन् । उनीहरूले नेपाल सरकारले कुनै चासो नदिएको गुनासो गर्दै भारतसँग उद्धारका लागि अनुरोध गरेको भिडियो सार्वजनिक भएको हो । उनीहरूले सामाजिक सञ्जालमार्फत हिन्दी भाषामा एक भिडिओ सन्देश सार्वजनिक गर्दै आफूहरूलाई स्वदेश फिर्ता गर्न नेपाल सरकारबाट कुनै सहयोग नभएको र नेपाली राजदूतावासले पनि चासो नदिएको बताएका छन् । सञ्जय, राम, सन्तोष र कुमार श्रेष्ठ नाम गरेका युवाहरूको भिडियो सन्देशलाई ‘द वायर’ले पोष्ट गरेको छ । द वायरका अनुसार उनीहरूले युक्रेनको दोनेत्स्कबाट भिडियो सन्देश पठाएका हुन् ।
आफूहरूसँगै रहेका तीन भारतीय नागरिकलाई भारत सरकारले फिर्ता लगेपछि आफूहरूलाई पनि त्यहाँबाट निकालिदिन नेपाली युवाहरूले भारत सरकारसँग आग्रह गरेका हुन्। दुई मिनेट १० सेकेण्ड लामो भिडियोमा उनीहरूले आफूहरूलाई एजेण्टले झुक्याएर रुसी सेनामा भर्ती गराएको पनि बताएका छन् ।
‘हामीसँग तीनजना भारतीय साथी थिए, उनीहरूलाई भारतले फिर्ता लगिसक्यो । तर, हाम्रो दूतावासबाट कुनै पनि सहयोग भइरहेको छैन, हाम्रो देशबाट कसैलाई लगिएको छैन’, उनीहरूले भनेका छन् ।हिमालय टाइम्समा खबर छ ।