२०८१ जेष्ठ ६ आईतवार

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज

माओवादीका दाहाल र कांग्रेसका शर्मा मैदानमा

अनिल क्षेत्री

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षको लागि आज (मंगलबार) निर्वाचन हुँदै छ । राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गर्नुभएको छ । दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाका संयुक्त उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनबीच फागुन २१ मा भएको आठ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ ।

राष्ट्रियसभा अध्यक्ष चयनको लागि आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने आजको बैठकका लागि चारवटा सम्भावित कार्यसूची तय गरेको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुनेछ । यस्तै, गोपीबहादुर सार्की आछामीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुनेछ । त्यसपछि सभाको अध्यक्षता गर्ने राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । निर्वाचन कार्यक्रमअनुसार सोमबार शर्मा र दाहालले अध्यक्ष पदमा आ-आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

यस्तो छ दाहालको राजनीतिक पृष्ठभूमि
नारायण दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रियसभा सदस्य मनोनीत हुनुभएको थियो । चितवन स्थायी ठेगाना हुनुभएका दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय रहेको संघीय संसद् सचिवालयले प्रकाशित गरेको ‘संघीय संसद् सदस्य विवरण,२०८०’ पुस्तकमा उल्लेख छ । त्यसअघि उहाँ २०२७ देखि विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो । २०५७ देखि भने दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बन्नुभएको थियो । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन-३ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उहाँ सल्लाहकारसमेत भइसक्नु भएको छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ । एमाले १०, एकीकृत समाजवादी आठ र जसपा तीन गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३७ सांसद छन् । राष्ट्रियसभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ । मनोनीत वामदेव गौतमले कहाँ भोट हाल्ने खुलाउनुभएको छैन ।

यस्तो छ शर्माको राजनीतिक पृष्ठभूमि
कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ । कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् । कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी कांग्रेसले राष्ट्रियसभा सदस्य बनाएको थियो । तर, माओवादीसँगको गठबन्धन टुटेपछि कांग्रेसले उम्मेदवारमा शर्मालाई अघि सारेको हो । ७४ वर्षीय शर्मा बाँकेका हुनुहुन्छ । २०४५ मै कांग्रेसको बाँके सभापति भएर काम गर्नुभएका उहाँ २०२८ मा कांग्रेस सभापति शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा उपाध्यक्ष हुनुहुन्थ्यो । नेता सुशील कोइरालासँग विवादका कारण राजनीतिक रूपमा पछि पर्नुभएका उहाँ दुईपटक बागी उम्मेदवारसमेत बन्नुभएको थियो । शर्मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेर २०७८ मा राष्ट्रिय सभाको सदस्य निर्वाचित हुनुभएको थियो ।हिमालय टाइम्समा खबर छ ।

 

२०८० फाल्गुन २९, मंगलवार प्रकाशित 1 Minute 39 Views

ताजा समाचार