२०८१ बैशाख २२ शनिबार

झापामा शिवको ‘उत्पत्ति’ बारे किन फेरिन् माताले आफ्नो बोली ?

झापाको बिर्तामोड- १ मा शुक्रवार शिवको उत्पत्ति भएको बताउने मुना आचार्य ‘माता’ ले बोली फेरेकी छन् । उनले केही सञ्चारकर्मी समक्ष प्रतिक्रिया दिदैं शिव उत्पत्ति बारे आफू अन्यौलमा भएको बताएकी छन् ।

शुक्रवार शिवको उत्पत्ति भएको बताउने उनले एकै दिनमा बोली फेरेकी हुन् । शुक्रबार बिहानदेखि शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरूको घुँईचो लागेको थियो । आज पनि हेर्न जानेहरूको सङ्ख्या उल्लेख्य रहेको छ ।

स्थानीय ‘माता भनेर परिचित’ आचार्यको घर नजिकै शिवको प्रतिमा उत्पत्ति भएको हल्लाले हेर्नेहरूको घुँईचो लागेको हो । उनले भनिन् , म वास्तविकता बारे अन्यौल छु, कसैले राखेको हो कि जस्तो पनि लाग्दैन । उनीहरू राती माई खोला समेत गएको बुझिएको छ ।

शिव उत्पत्ति भएको विषयमा थोरैले मात्र विश्वास गरेका छन् । अधिकांशले भगवानको उत्पत्ति हुनै नसक्ने प्रतिक्रिया दिइरहेका छन् । कतिपयले यसलाई माताले आफ्नो प्रचार गर्न फण्डा गरेको हुन सक्ने प्रतिक्रिया व्यक्त गरिरहेका छन् । शिवको उत्पत्ति भएको खबर सुनेपछि हिजैदेखि हेर्ने र पूजा गर्नेहरूको भीड लागेको छ । आज भने उक्त शिवको प्रतिमालाई छोपेर राखिएको छ ।

शिवरात्रिकै दिनमा उत्पत्ति भएको भन्दै धेरैले विश्वास गरेको प्रतिक्रिया दिए । आचार्यको घर नजिकै शुक्रवार बिहान ३ः३० बजे बिहान ठुलो आवाज आएको थियो । ठुलो आवाज आएको सुनेर आचार्यको परिवारसहित छिमेकीहरूले बाहिर हेर्दा शिवको प्रतिमा देखेका थिए । पहेँलो रङमा देखिएको उक्त प्रतिमाका सन्दर्भमा विभिन्न व्यक्तिहरूले आ–आफ्नै हिसाबले टीकाटिप्पणी गरिरहेका छन् ।

माता आचार्यले हिजो तीन दिनअघि नै शिवको मूर्ति प्रकट हुने आफूले थाहा पाएको बताएकी थिइन् । उनले शिवको मूर्ति प्रकट भएको समयमा घरका सबै ढोकाहरू खुलेको, ढुङ्गा गिरी झरेजस्तो आवाज आएको सुनाइन् । मैले हरेक वर्ष केही न केही प्राप्त गरिरहेको छु, उनले भनिन् । यो वर्ष भगवान् नै प्राप्त भयो । आफूलाई लोकको कल्याण गर्ने मौका मिलेको उनको प्रतिक्रिया थियो ।

कतिपयले माताले धर्मका नाममा भ्रम छरेको भन्दै तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज समेत उठिरहेको छ । उनी केही समय यता, बिरामीहरूलाई निको बनाउने भन्दै माताको रुपमा आफूलाई प्रस्तुत गर्दै आएकी छन् ।

२०८० फाल्गुन २७, आईतवार प्रकाशित 1 Minute 261 Views

ताजा समाचार