२०८१ बैशाख १५ शनिबार

लागुऔषध नियन्त्रण गर्न ट्राफिक प्रहरीको अभियान

९ जना सिटि चालक मध्ये ८ जना लापसे सेवनकर्ता

काँकरभिट्टा । लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ८ जना सिटि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त पहलमा मेची सामुदायिक सेवा केन्द्रको सभाहलमा लापसे किटद्वारा चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी चलाउने ८ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा राखिएको छ ।

लापसे चेकजाँचमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक अर्जुनकुमार पोख्रेल, ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रहरी नायव निरीक्षक (इञ्चार्ज) मनमोहन पौडेल, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेल, होटल व्यवसायी महासंघका सचिव राजु अधिकारी, महेन्द्र राजमार्ग कर्मचारी कल्याण कोषका अध्यक्ष राजकुमार सुवेदीलगायत उपस्थिति रहेको थियो । लापसे ओसार-प्रसार र सेवनकर्तालाई नियन्त्रणका लागि यस क्षेत्रका यातायात व्यवसायसँग सम्बन्धित संघ-संस्थाहरुले टेष्टका लागि किटलगायतका सामाग्री सहयोग गर्दै आएको अध्यक्ष सुवेदीले बताए ।

मेची सामुदायिक सेवा केन्द्रको संयोजन र मनिषा पोलिक्निकको प्रावधिक सहयोग रहेको थियो ।

९ जना चालकहरूलाई लापसे चेकजाँच गर्दा ८ जनाले सेवन गरेको पाइएको ट्राफिक प्रहरी सहायक हवल्दार अनिल बस्नेतले जानकारी दिए ।

ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि पछिल्लो समयमा मेचीनगरका विभिन्न स्थानमा लापसे चेकजाँच अभियानमा लागि परेको ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इञ्चार्ज मनमोहन पौडेलले बताए ।

२०८० फाल्गुन २६, शनिबार प्रकाशित 1 Minute 1289 Views

ताजा समाचार