२०८१ बैशाख १५ शनिबार

महाशिवरात्रिको आध्यात्मिक महत्व

महाको अर्थ ‘महान्’ र रातिको अर्थ ‘अज्ञानताको रात’ हो । जब अज्ञान र अन्धकारको रात हुन्छ, तब शिव आउने विश्वास गरिन्छ । शिव र शक्ति दुई मूल शक्ति छन् । शिव भनेको आदि शक्ति हो । प्रकृतिलाई चढाउने शक्ति हो ।

शिवमा दुई अक्षर छन्, शिव । ‘शि’ भनेको चेतना र ‘व’ भनेको जान्नु हो । त्यो महाचेतनालाई जान्न प्रयत्न गरिने सबैभन्दा अनुकूल र शानदार दिन शिवरात्रि हो । शिवको मूल अर्थ कल्याणकारी हो । जसले कल्याण गर्छ । जसले हाम्रो उद्धार र उपकार गर्छ, जसले हामीभित्रको कमीकमजोरी र तुच्छतालाई हटाउँछ । त्यो शिव हो । यही उनको लीला स्मरण शिवरात्रिको दिन गरिन्छ ।

किन मनाइन्छ शिवरात्रि ?

शिवसँग रात शब्द जोडिएको छ । किनभने उनले अज्ञानको कालो रातमा संसारमा आउने विश्वास गरिन्छ । जब मानवसहित सारा संसार अज्ञानताको रात अर्थात् मायाको नियन्त्रणमा आउँछ, जब पाँच विकृतिको प्रभावले सबै आत्मा अपवित्र हुन्छन्, जब हामीले पवित्रता र शान्तिको साँचो धर्मलाई बिर्सिन्छौं । तब आध्यात्मिक वास्तविक पहिचान हराउँछ । यस्तो समयमा मात्र भगवानले हामीलाई जगाउन, सम्पूर्ण मानवताको उत्थान गर्न र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सत्य धर्मको पुनः स्थापना गर्न सामान्य शरीरमा प्रवेश गर्ने पूर्वीय दर्शनले भन्छ ।

हाम्रो जीवनमा पनि दुई शक्तिले काम गरेको हुन्छ । एउटा प्राण शक्ति र अर्को जीवन शक्ति । प्राण शक्तिलाई बिस्तारै उठाएर महाप्राणमा माथिल्लो चेतनासँग जोड्न शिवरात्रि अत्यन्त महत्वपूर्ण छ ।

भनिन्छ, शिवरात्रिको रातमा हाम्रो आत्मा र प्रकृतिको दूरी घटेको हुन्छ । प्रकृतिको ऊर्जासँग जीवनको ऊर्जा मिसिएको हुन्छ । त्यसकारण अरुबेला प्रकृतिबाट टाढा जाने ऊर्जाको लय, गति वा तरंग यतिखेर नजिक आइरहेको हुन्छ । त्यसकारण शिवरात्रिमा उत्सव मनाउँदा ऊर्जावानको अनुभूति हुन्छ ।

हामीसँग अनेकौं प्राणशक्तिको रुप छ । शरीरमा पनि धेरै किसिमका अग्नि छन् । कागनि, देहाग्नि, प्राणग्नि । यी अग्निलाई हामी त्यो रात आगो तापेर भित्रको अग्निलाई जगाउँछौं । जसकारण यो पर्व निकै महत्वपूर्ण छ ।

शिवरात्रिमा भाङ र धतुरो

भाङ शब्द भंगबाट आएको हो । बुझ्ने हो भने बाहिरी नसा खाएर लठ्ठ परेर हरे महादेव बोलो बमबम भन्दा पनि भित्रको मोहलाई भंग गर्ने दूष प्रवृति र आशक्तिलाई भंग गर्ने, अज्ञानलाई भंग गर्ने र पशु प्रवृतिलाई भंग गरेर शिव शक्तिमा एकाकार हुनलाई भंग चेतनामा रहिन्छ । त्यो भंगलाई अपभ्रंश भएर भंगलाई भाङ भनियो । कारण भाङ भनेको भाङ खाएर लठ्ठ हुने भनेर गलत बुझियो । वास्तवमा बाहिरी मोह, आशक्ति, आभूषण, आकर्षण र बाहिरी तडकभडक जस्ता तिष्षा भंग गर्ने शिवरात्रि भएर यसलाई भाङ भनिएको हो ।

त्यस्तै धातुबाट धतुरो शब्द आएको हो । धातु भनेको हाम्रो चेतना र जीवनको मूल हो । चेतनाको मूलमा फर्किन शिवरात्रिको दिन विशेष छ । यसरी जो चेतना र जीवनको मूलमा फकिन्छ ती मानिस धतुरो खाए जस्तो शिवआनन्दको मूलमा रहन्छन् । ध्यानमा लठ्ठ र मग्न भए जस्तो देखिन्छ । त्यसकारण शिव आनन्दको धतुरो लिनुपर्ने तर अधिकांश वनस्पति धतुरो खाएर मात्तिन्छन् । जसकारण यो धतुरो र भाङको अपभ्रंशलाई सुधार्नुपर्ने देखिन्छ ।

जुन शरीरमा शिव तत्व हुँदैन । त्यस शरीर शवमा रुपान्तरण हुन्छ । किन ?

जीवलाई जीवन भर्ने तत्व शिव तत्व हो । जसबाट शिव तत्व निस्किएमा शरीर निर्जीव हुन्छ । शिवलाई बिर्सिएर मानिस आफ्नै शवको भारी बोकेर लिएर हिंडेको जस्तो भएका छन् । अर्थात् शिवको जस्तो उपकार, प्रेम, भावना, सहयोग र कल्याण जस्तो भाव मानिसमा हुँदैन । मानिस शान्त र आनन्दित हुँदैन । तसर्थ, यो पर्व जिउँदो शरीरलाई शवको भारी हुन जोगिन मनाइने पर्व हो ।

शिव र शंकर

हरेक गाँउ, टोल र धाममा शिवालय मन्दिर छन् । शिव दुईरुपले प्रकट छन् । साकार र निराकार । साकार भनेको शिव र निराकार भनेको शंकर हो । जो शिवलिङ्गको रुपमा देखिन्छ त्यो शंकरको रुप हो । जो बाघको छाला, सर्प, जट्टामा गंगा र अनुहारमा क्रोध र हातमा त्रिशूल र डमरु बोक्ने शिवरुप हो ।

शिवको बाहिरी रुपको मात्र उपासना नगरेर बाहिरी रुप शंकरको पनि उपासना गरिन्छ । शिव लिङ्ग भनेको मिलन र समागन हो । यो शक्तिलाई केन्द्रीकृत गरेर प्रकृतिमा सय प्रजनन् गर्ने शक्ति शिव लिङ्ग हो । जसकारण यी दुवै रुपको यस दिन पूजाआजा गरिन्छ ।

शिव प्रकृतिप्रेमी छन् । उनी तपस्या गर्न हिमाल, नदी र गुफामा बस्छन् । जो शिवको उपासना गर्छन् । उनीहरु प्रकृतिप्रेमी बन्छन् भनिन्छ ।

रातमा जाग्राम

शिवलाई स्नेहपूर्वक याद गर्नाले सबै पापबाट मुक्त हुन जनविश्वास छ । अहिले सारा विश्व अज्ञानताको गहिरो रातमा सुतेको बेला कर्मप्रति पूर्ण जागृत बनाउन शिवरात्रिमा रातभर जाग्राम बसिन्छ ।

आजभोलि चेतना र मानिसको सोच कमजोर भइरहेको छ । यस्तोमा शिव उच्चकोटी, आदि चेतना र आदि योगी र आदि शक्ति हो ।

यस्तोमा पाँच विकृतिको प्रभावबाट मुक्त रहने र दुष्ट कर्मद्वारा प्राप्त दुःखकष्टलाई आह्वान नगर्ने संकल्प गरी निरन्तर राम्रो र पुण्य कर्म गर्ने शिवरात्रिको सन्देश हो ।

(डा. अधिकारी योग तथा जीवनशैली प्रशिक्षक हुन् ।)  अनलाइनखबर

२०८० फाल्गुन २५, शुक्रबार प्रकाशित 0 Minutes 86 Views

ताजा समाचार