२०८१ बैशाख २१ शुक्रबार

मेचीनगर-९ का जेष्ठ नागरिकको स्वास्थ्य उपचार हुने

धुलाबारी । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ ले वडाका जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण र औषधि उपचार निःशुल्क गरिदिने भएको छ । जेष्ठ नागरिकहरूको स्वास्थ्यमा संवेदनशील बन्दै कार्यालयले ६५ बर्षदेखि माथिका ९ नं वडाका सम्पूणर् जेष्ठ नागरिकको स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन लागेको हो ।

यही फागुन २७ गतेदेखि जेष्ठ नागरिक (बुबाआमा) हरुको स्वास्थ्य परीक्षण सेवा सुचारु गर्न लागिएको मेचीनगर ९ का वडाध्यक्ष कञ्चन कुमार तामाङले जानकारी दिए । उनले जेष्ठ नागरिक आमा बुबामाझ स्वास्थ्यको पहुँच सहज रुपमा पुर्याउने उदेश्यले वडा लागि परिरहेको बताए । सोही कार्यको फलस्वरुप आम्दा मेची अस्पताल धुलाबारीसँग सहकार्य गर्दै वडाले जेष्ठ नागरिक आमाबुबाको स्वास्थ्य उपचार निःशुल्क गर्न लागिएको बताए ।

वडाले सुरुवातमा २ लाख बजेट छुट्याएर पाका आमाबुबाहरुको स्वास्थ्य उपचार र औषधि वितरण अभियान सञ्चालन गर्दैछ । अभियान आगामी फागुन २७ गतेदेखि १० दिनसम्म सञ्चालन हुने वडा कार्यालयले जनाएको छ । यता, वडा कार्यालयसँग सहकार्य गर्ने स्वास्थ्य संस्था आम्दा मेची अस्पतालले पनि करिब १ लाख ९५ हजार मूल्य बराबरको औषधि उक्त अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

वडाबाट सिफारिस भएर आएका ६५ बर्षमाथिका सबै जेष्ठ नागरिकलाई सहज रुपमा आफुहरु सेवा दिन तयार रहेको आम्दा मेची अस्पताल प्रशासन प्रमुख किरण निरौलाले बताए ।

स्वास्थ्य सेवा कसरी प्रभावकारी बनाएर लैजाने भन्ने विषयमा वडा कार्यालयले एक संक्षिप्त छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा वडाध्यक्ष कञ्चन कुमार तामाङ, वडा सदस्यहरु राजन खड्का, धनकुमार श्रेष्ठ वडासचिव सुरेश घिमिरे, आम्दा मेची अस्पतालका प्रमुख डाक्टर पोषण रमण त्रिपाठी, प्रशासन प्रमुख किरण निरौला लगायतको उपस्थिति रहेको थियो ।

२०८० फाल्गुन २५, शुक्रबार प्रकाशित 0 Minutes 88 Views

ताजा समाचार