२०८१ बैशाख १५ शनिबार

पशुपतिमा दर्शनार्थीको घुइँचो, एकपटकमा १० जनासम्मले दर्शन गर्न सक्ने

२५ फागुन, काठमाडौं । शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ ।

दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थीहरु रातिदेखि नै लाइनमा बसेका थिए । दर्शनार्थीहरु लामबद्ध भएर पूजा गर्ने र फर्किने क्रम चलिरहेको छ ।

पशुपतिनाथ मन्दिरमा पूजा गर्ने दर्शनार्थीहरुका लागि बिहान २ बजेदेखि ढोका खुला गरिएको थियो । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरिसको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले बताए ।

पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान २ बजेदेखि खोलिएको र  एकचोटीमा नौदेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।

महाशिवरात्रि पर्व भगवान शिवको विधिपूर्वक पूजा, आराधना गरी मनाउने गरिन्छ । यसैक्रममा काठमाडौंको पशुपतिनाथ सहित ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा पनि दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

आज शिवभक्तहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा धुनी जगाई भजनकीर्तन गर्ने चलन छ ।

२०८० फाल्गुन २५, शुक्रबार प्रकाशित 0 Minutes 70 Views

ताजा समाचार